एनबी इन्स्योरेन्सको १४औं शाखा रुपन्देहीको भैरहवामा

काठमाडौं, ३१ भदौ । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १४औं शाखा रुपन्देही जिल्लाको भैरहवामा शुक्रबारदेखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका सदस्य प्रतापजङ्ग पाण्डेले गरेका हुन् । शाखाको उद्घाटन कार्यक्रममा संचालक पाण्डेले कम्पनीले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देश भरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । उनका अनुसार कम्पनीले हालसम्म १४ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवा ग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले हालै १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी गरी चुक्ता पूँजी २७ करोड रुपैयाँ पुर्याएको जानकारी दिएका छन् । कम्पनीले यसरी नै थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने श्रेष्ठले बताए । कम्पनीले आर्थिक वर्ष २०७२।०७३ मा करिब २६ हजार बीमालेखहरुबाट ३५ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । साथै, इन्स्योरेन्सले सो अवधिमा करिब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, आर्थिक वर्ष २०७३।०७४ को प्रथम २ महिनामा करिब ८ हजार बीमालेखहरुबाट करिब १० करोड बीमशुल्क आर्जन गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

एनसीसी बैंकको एक्सटेन्सन काउन्टर रुपन्देहीमा पनि

काठमाडौं, २७ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले रुपन्देहीमा रहेको युनिभर्सल मेडिकल कलेजको परिसरमा एक्स्टेन्सन काउन्टर संचालन गरेको छ । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन सोमबार यस बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मी प्रपन्न निरौला तथा कलेजका अध्यक्ष रमेश शर्माद्वारा संयुक्त रुपमा गरिएको छ । सो काउन्टरबाट नगद जम्मा, नगद भुक्तानी तथा विपे्रषण सेवा उपलब्ध गराइनेछ । यस काउन्टरबाट उक्त कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक, कर्मचारीहरु लाभन्वित हुने बैंकले जनाएको छ । यस बैंकले २०७३ आषाढ मसान्त सम्ममा निक्षेप परिचालन ३० अर्ब ३६ करोड रुपैयाँ तथा २४ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले सो अवधिसम्ममा ७० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साथै यस बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन ४ वटा राष्ट्रिय स्तरको विकास बैंकहरुसँग गाभ्ने/गाभिने प्रक्रियाको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको छ । उक्त गाभ्ने/गाभिने प्रक्रिया सम्पन्न भए पश्चात एनसीसी बैंकको शाखा ९६ वटा पुग्ने बैंकले जनाएको छ ।

गोल्छा अर्गनाईजेसनद्धारा मल्टिब्राण्ड शोरुम ‘स्वीच अन’ संचालनमा

काठमाडौं, २७ भदौ । गोल्छा अर्गनाईजेसनले मल्टिब्राण्ड शोरुम स्वीच अन सञ्चालनमा ल्याएको छ । उक्त स्टोर काठमाडौंको नक्साल, नारायणचौरमा सञ्चालनमा आएको छ । कम्पनीले उपभोक्ताहरुलाई एकै छानामुनी सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल उत्पादनहरु उपलब्ध गराउने उदेश्यका साथ उक्त स्थानमा यो स्टोरको शुरु गरेको हो । स्वीच अनमा विभिन्न किसिमका इलेक्ट्रोनिक्स कन्ज्यूमर ड्यूरेबल गुड्स तथा होम अप्लायन्सेसहरु उपलब्ध छन् । सामसंग, हिमस्टार, बजाज इलेक्ट्रिकल, टाइमेक्स, ओस्राम, अहुजा, इण्डोएशियनका मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, एलईडी लाइट्स, घडिहरु तथा अन्य इलेक्ट्रोनिक्स ( इलेक्ट्रिकल सामाग्रीहरु स्टोरमा उपलब्ध छन् । स्वीच अनका एक प्रतिनिधिले भने, “निकै व्यस्त समयले मानिसको जिवनलाई जटिल बनाएको छ , स्वीच अनले कम्तिमा किनमेललाई सहज बनाउन आफ्नो स्टोरबाट सेवा संचालनमा ल्याएको हो । हाम्रो प्रमुख उद्देश्य भनेको व्यक्तिगत तथा संस्थागत उपभोक्ताहरुलाई उच्च गुणस्तरको हरेक किसिमको सामाग्रीहरु प्रतिस्पर्धि मूल्यमा उपलब्ध गराउनु हो । ”