प्रभु बैंकको गोठाटार शाखा सञ्चालनमा, मर्जरको क्रममा एकै स्थानमा दोहोरिका बैंकका स्थान्तरणा कार्य जारी

काठमाडौं, २४ मंसिर । बैंकले काठमाडौको गोठाटारमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये न्युरोड शाखा कार्यालयलाई गोठाटारमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सिद्धार्थ डेभलपमेण्ट बैंकको २४ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

काठमाडौं, २४ मंसिर । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार बसेको बैंकको १७ औं बार्षिक साधारणसभाले पारित गरेको हो । साथै, उक्त सभाले बैंकको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तूत भएको आ.ब. २०७२/७३ को प्रतिवेदन वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण, सो संग सम्बन्धित अनूसुचीहरु समेत पारित गरेको छ ।  बैंकले नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीती अनुसार २०७४ साल आषाढ मसान्तसम्म विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउँदै लैजाने क्रममा मर्जरलाई प्राथमिकता दिदैं सो मात्रामा हकप्रद शेयर जारी गर्नेे प्रस्ताव पारित गरेको छ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडमा, एकता विकास बैंक लिमिटेड बुटवल, नेपाल सरकारको स्वामित्व समेत रहेको नेपाल आवास फाइनान्स लिमिटेड काठमाण्डौं एक आपसमा गाभिई सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट २०७३ साल जेष्ठ २८ गतेबाट एकिकृत कारोबार गरेको थियो । यस साधारण सभा मर्जर पश्चातको पहिलो साधारण सभा हो । सभाले समितिमा संस्थापक शेयरधनीको तर्फबाट राम बहादुर भण्डारी, डा. ध्रुव प्रसाद ढकाल, रतनलाल अग्रवाल र डि.बि इन्भेष्टमेण्ट प्रा. लि. गरी ४ जना निर्विरोध चयन गरेको छ । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट बद्री खनाल, मिलन कुमार कार्की र एन.पि.सि.एम इन्भेष्टमेण्ट गरी ३ जना संचालकको निर्विरोध चयन गरेको छ । हाल बैंकको चुक्ता पूँजी एक अर्ब ४१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

‘नबिल विज्ञान प्रविधि पुरस्कार’ बाट चार जना अनुसन्धानकर्ता सम्मानित

काठमाडौं, २२ मंसिर । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना अनुसन्धानकर्ताहरुलाई प्रदान गरियो । सो पुरस्कार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा सोमबार आयोजित नास्टको ३४ औं वाषिकोत्सव तथा पुरस्कार वितरण समारोहमा प्रदान गरिएको थियो । सम्मानित ४ जना अनुसन्धानकर्ताहरु प्रा. डा. टंकनाथ धमला, डा. हरिप्रसाद अर्याल, प्रा. डा. कृष्णदास मानन्धर तथा प्रा. डा. श्रृजनलाल श्रेष्ठलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको छ । कार्यक्रम पश्चात पुरस्कृत विज्ञहरुसगंको भेटमा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरि यस क्षेत्रको विकासमा योगदान पुर्याएकोमा धन्यवाद गरेका छन् । साथै, उनले नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गरेकोमा आभार प्रकट गरेका छन् । उक्त पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था १ लाख २५ हजार रुपैया रहेको छ । नास्टको उक्त समारोहमा जम्मा १७ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतीहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठीत पुरस्कार मानिन्छ ।