ओखलढुङ्गामा हेलिकप्टरबाट पैसा लगि बाँढियो, ७०० परिवारले ३ करोड ५० लाख रूपैयाँ पाए

ओखलढुङ्गा, ८ माघ । भूकम्प गएको झण्डै २१ महिनापछि जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाम्नाङ्गटार र टार केरावारी गाउविकास समितिका भूकम्पपीडित परिवार सरकारले दिने पहिलो किस्ता अनुदान रकम सहित एकिकृत सेवा गाउँमै पाउँदा हर्षित भएका छन् । गाम्नाङ्गटार र टार केरावारीका झण्डै सात सय घरपरिवारलाई करिव तीन करोड ५० लाख रुपैया गाउँमै लगेर वितरण गरिएपछि गाउँले हर्षित भएका हुन् । पहिलो किस्ता वापत प्रतिपरिवारले ५० हजार रुपैया पाउँछन् । सदरमुकाम देखि सो स्थल करिव दुई दिनको पैदल दुरीमा पर्दछ । स्थानीय प्रशासनले नागरिकता, जग्गापास, राहदानी, कृषि, स्वास्थ्य शिविर, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्र लगायतका एकिकृत घुम्ती शिविर सेवा उक्त स्थानमा सञ्चालन गरेको छ । सांसदहरु रामहरि खतिवडा, यज्ञराज सुनवार र हर्कवोल राईले श्री ग्रामोदय युगकवि सिद्धिचरण उच्च मावि गाम्नाङ्गटारमा आज आयोजित कार्यक्रममा सरस्वती वस्नेत, कल्याणी रोका र टेकबहादुर बुढाथोकीलाई पहिलो किस्ता वापतको अनुदान रकम प्रदान गरेका थिए । यस्तै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले नागरिकता प्रदान गरेर प्रशासनीक सेवाको शुरुवात गरे । “अहिलेसम्म टहरामै ऋण काँढेर कष्टले वसेका छौ, अव पहिलो किस्ता पाएपछि घर निर्माणको कार्य अघि बढाउँछौ,” टारकेरावारीका ६२ वर्षिय यज्ञबहादुर अछामीले भने । जिल्लाका ५० मध्ये पकली, टार र रगनी गाविसमा अझै अनुदानको पहिलो किस्ता वितरण हुन सकेको छैन “दुर्गम वस्तीका भूकम्पपीडित परिवारलाई आवास निर्माणको लागि  पहिलो किस्ता र सरकारले दिने धेरै किसिमका सेवा गाउँवस्तीमा उपलब्ध गराउनु उदाहरणीय काम हो,” सांसद खतिवडाले भने । सांसद खतिवडाले आफ्नो पहलमा हेलिकप्टरबाट सो स्थलमा आवतजावतको प्रवन्ध मिलाएका थिए । सांसद यज्ञराज सुनवारले सरकारले ढिलो भएपनि अनुदान रकम उपलब्ध गराउनु सह्रानीय काम भएको बताए  । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख युवराज खरेलले १८ हजार ८ सय प्रभावित परिवार मध्ये अधिकांशसँग अनुदान सम्झौता भएको भएपनि जम्मा सात सय ६७ घर मात्र निर्माण हुँदै गरेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले अनुदान रकमसँगै स्थानीय प्रशासनले दिने कृषि, स्वास्थ्य, नागरिकता, राहदानी, ज्येष्ठ नागरिक परिचय पत्र सहितको सेवा एकैचोटि गाउँघरमै उपलब्ध गराइएकोले दुर्गम वस्तीका नागरिकले यसबाट लाभ लिन पाएको उनले बताए  । स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्रीले दोस्रो किस्ताको रकम पनि छिटो उपलब्ध गराएर सरकारी र सार्वजनिक भौतिक पुर्वाधार निर्माणको कामलाई तिव्रता दिन विशेषत पुननिर्माण प्राधिकरणले तदारुकता देखाउनुपर्ने बताए  ।

पूर्व प्रधानमन्त्री ओलीले गरे पिएलओ लुब्रिकेन्टसको फ्याक्ट्री अवलोकन

काठमाडौं, ७ माघ । पूर्वाञ्चल ल्युव आयल प्रालि १५ वर्ष पुगेको अवसरमा पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले कारखाना अवलोकन गरेका छन् । नेपालमा उत्पादन हुने लुब्रिकेन्टस मध्ये अग्रणी रहेको पिएलओले नेपालमा ८ प्रतिशत बजार हिस्सा रहेको पिएलओका डाइरेक्टर कृष्णप्रसाद दुलालले बताए । मोरङको बिराटचोकमा रहेका यस कम्पनीले पिएलओ, मेगा र स्टार ब्राण्डका ९० भन्दा बढी प्रकारका लुब्रिकेन्टस उत्पादन गरिरहेको छ । प्रत्यक्ष रुपमा २ सय भन्दा बढीलाई रोजगारी दिइरहेको पिएलओका देशभरमा ७ सय भन्दा बढी डिस्ट्रीब्युटर रहेका छन् । चालू आर्थिक वर्षमा ५० करोड बढीको कारोबार लक्ष कम्पनीले लिएको डाइरेक्टर दुलालले बताए । पिएलओको अबलोकन कार्यक्रममा पूर्व संचारमन्त्री शेरधन राई र पूर्व कानून मन्त्री अग्नी खरेलको पनि उपस्थिती रहेको थियो ।

राष्ट्रपतिकी छोरीको विवाहमा पूर्वराजा, प्रथम राष्ट्रपति, प्रथम महिला राष्ट्रपति सहभागि, राष्ट्रपति भन्दा पूर्व राजा हँसिला

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा निशाकुसुम भण्डारीको शुभ विवाह सोमबार राष्ट्रपति भवनमा भव्यताका साथ सम्पन्न भएको छ । साथै यो विवाह ऐतिहासिक महत्वको भएको छ । राष्ट्रपतिकी कान्छी सुपुत्री डा निशाकुसुम आफ्नो वरलाई औँठी लगाउँदै । गणतन्त्र स्थापनापछि राष्टपति भवनमा आयोजित यो पहिलो विवाह हो । जहाँ राष्टपति विद्यादेबी भण्डारी, पूर्व राष्टपति डा रामवरण यादव र पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थिति थियो । सत्ता गुमाएका राजा र राष्ट्रपतिबीच प्रत्यक्ष भएको सम्भवत यो पहिलो भेट हो । रोचक पक्ष के देखिएको छ भने उक्त विवाह समारोहमा प्रथम राष्ट्रपति डा रामवरण यादव, प्रथम महिला राष्ट्रपति विद्यादेबी भण्डारी भन्दा पुस्तौली सत्ता गुमाएका पूर्व राजा ज्ञानेन्द्र शाह प्रशन्न्, प्रफुलित र हँसिला देखिन्थे । पूर्वराजा शाहले बरबधुलाई शुभकामना तथा बधाई दिदै दुई हात जोडेर नमस्कार गरेको दृष्यले धेरैलाई आश्चर्य बनाएको थियो । राष्ट्रपति निवास शीतल निवासमा इन्जिनियर अभिषेक यादवलाई भण्डारीले बिहान १० बजे स्वयम्वरको माला लगाइदिएकी थिइन् । विवाह समारोहका लागि दुलहा आफ्ना पिता इन्जिनियर मुनीलाल, माता सांसद किरण यादवलगायत आफन्तका साथ शीतल निवास पुगेका थिए । विवाह समारोहमा राष्ट्रपति भण्डारी एवम् उनका परिवार र आफन्तजनको सहभागिता थियो ।   वरवधुलाई बधाई तथा शुभकामना दिदै उपराष्ट्रपति नन्दबहादुर पुन । सो अवसरमा शुभकामना एवम् आशीर्वाद दिन परिवारजन, आफन्तजन तथा आमन्त्रित महानुभावको समेत उपस्थिति थियो । राजनीतिमा तराई र पहाडबीच तिक्तता देखिए पनि राष्ट्रपतिकी छोरी भण्डारी र पूर्व राष्ट्रपतिका नाति यादवबीच चलेको अन्तरजातिय प्रेम ऐतिहासिक विवाह हुँदै दाम्पत्य जीवनमा परिणत भएको छ । दुबै जनाले राष्ट्रपति भवनको विवाह मण्डपमा आगो साक्षी राखेर जीवनभर साथ दिने प्रण गरेका छन् । उनीहरुबीच विगत सात वर्षदेखि प्रेम सम्बन्ध रहेको बताईएको छ । (तस्बिरः रोशन सापकोटा र राष्टपति कार्यालय, रासस)