पर्यटक र सर्वसाधारणलाई सकस पार्ने पूर्वराजाको स्वागत (तस्बिरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा बसाइँपश्चात आइतबार काठमाडौं फर्किएका छन् । उनको स्वागतका लागि राजावादीहरूको भीड लागेको थियो । उनको स्वागतमा एयरपोर्टदेखि, गौशाला, चाबहिल हुँदै महाराजगञ्ज खासगरी चक्रपथमा राजावादीको भीड लागेको हो । त्रिभुवन विमानस्थलको मुख्य गेटबाट ज्ञानेन्द्रले आफ्ना समर्थकहरूप्रति हात हल्लाइरहेका थिए । राजावादीहरूले विमानस्थल नै पुग्ने तयारी गरेपछि सरकारले विमानस्थलको सुरक्षामा कडाइ गरेको थियो । जुलुससहित विमानस्थल पुग्ने उनीहरूको योजना थियो । विमानस्थललगायतका आसपास ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएका छन् । विमानस्थलमा प्रवेश गर्नेहरूलाई कडा चेकजाँच गरेर मात्र भित्र जान दिइएको थियो । प्रदर्शनका कारण त्रिभुवन विमानस्थल अस्तव्यस्त भएको थियो । विशेषगरी प्रदर्शनको व्यापक असर पर्यटक र यात्रुहरूलाई परेको देखिन्थ्यो । उनीहरूले आफ्नो सामान आफै बोकेर विमानस्थल पुग्नु परेको थियो । केही यात्रुहरूसँग सोधपुछ गर्दा कसैले कौशलटार त कसैले कोटेश्वरबाट हिँड्दै आएको बताएका थिए । तस्बिरहरू : नरेश बोहोरा 

मुलकभरका शिवालयमा भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडौं । आज शिवरात्रि पर्वका अवसरमा मुलुकभरका शिवालय तथा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । शिवरात्रिको दिन भगवान् शिवको पूजाआजा र भजनकीर्तन गरी उपवास बसेमा मनोकामना पूरा हुने जनविश्वाससहित आज बिहानैदेखि शिवालयमा दशनार्थीको घुइँचो लागेको हो । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका कैलालीको धनगढीस्थित बेहडाबाबा मन्दिर, शिवपुरी उत्तररामेश्वरम् ज्यार्तिलिङ्गधामलगायत शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको बेहडाबाबा मन्दिरमा व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । आज मन्दिर परिसर नजिक मेलाको पनि आयोजना गरिएको भन्दै मेलामा कैलालीका साथै छिमेकी जिल्लाका बासिन्दा तथा भारतबाट पनि दर्शनार्थी आएका उजले बताए । उनका अनुसार मन्दिर परिसरमा नेपालीका साथै भारतीय व्यवसायीले केही दिनअघिदेखि यहाँ विभिन्न पूजाका सामग्रीको व्यापार गर्दै आएका छन् । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा महाशिवरात्रि पर्वका दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । बेनी बजारबाट तीन किलोमिटर उत्तर तथा पूर्वमा अवस्थित पवित्र कालीगण्डकी नदी किनारमाथि रहेको नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाममा बिहानैदेखि म्याग्दीसहित विभिन्न जिल्लाबाट आएका भक्तजनहरूले पूजा एवं दर्शन गरिरहेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीे जानकारी दिए । महाशिवरात्रि पर्वका अवसरमा आज रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवा शिवालय मन्दिरमा पूजा आराधना गर्न लामबद्ध भक्तजन । उनका अनुसार गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको छ । जिल्लाको बेनी शिवालय मन्दिरमा रहेको एक सय आठ शिवलिङ्गको पूजा गर्न पनि आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ । झापाको अर्जुनधारा नगरपालिकास्थित पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा पूजाआराधाना तथा दर्शन गर्न आएका श्रद्धालु भक्तजनको भीड । पहाडी जिल्ला लमजुङमा रहेका विभिन्न महादेव मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रि पर्वमा शिव भगवान्को पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वासले जिल्लाका करपुरेश्वर, इशानेश्वर, करापुटार, त्रिशक्तिलगायत महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको हो । महाशिवरात्रि पर्वका अवसरमा आज रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवा शिवालय मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको भीड । काठमाडौं महानगरपालिका-१६ स्थित तारकेश्वर धाममा महाशिवरात्री पर्व मनाउन आएका भक्तजन। यहाँ लमजुङसहित गोरखा, तनहुँ, कास्की, बागलुङ, काठमाडौंलगायत जिल्लाबाट भक्तजन दर्शनका लागि आएका इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले जानकारी दिए । उनका अनुसार यहाँ ठाडो बत्ती बाल्ने, दूध चढाउने, सामूहिक व्रतबन्ध, शिवमहापुराण वाचन, लोकगीत प्रतियोगिता, करापुटारे ठाडोभाका, रक्तदान, ठेलो प्रतियोगिता, भलिबल प्रतियोगिता, कृषि मेला, हस्ताकला प्रदर्शनी, एक सय आठ धारामा स्नान, दर्शन गर्नेलगायत कार्यक्रम भइरहेका छन् । काठेखोला गाउँपालिका–७ रेशस्थित ओदानेश्वर शिवालयमा महाशिवरात्री पर्व मनाउन आएका भक्तजन । शिवरात्रिका अवसरमा सप्तरीको शम्भुनाथ महादेवसहित विभिन्न शिवालयमा बिहानैदेखि हिन्दू धर्मावलम्बीहरूको पूजापाठ र दर्शन गर्नेको घुइँचो लागेको छ । आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुरो, मिठाई तथा फलफूलसहित महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा शिव मन्दिरमा पूजाआजाका लागि लामबद्ध छन् । साथै जिल्लाको महादेवा गाउँपालिकास्थित शिवमन्दिर, हनुमानगर कङ्कालनी नगरपालिका–२ सकरदहीमा रहेको महादेव मन्दिर, कञ्चरुप नगरपालिकाको बलुवामा रहेको शिव मन्दिर, बोदे बरसाइन नगरपालिका–५ स्थित हरिशङ्कर महादेव मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । त्यसैगरी, महोत्तरीको सदरमकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा आज महाशिवरात्रिका अवसरमा पूजा तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको महाशिवरात्रि पूजा समारोह समितिका अध्यक्ष जितेन्द्र साहले बताए । दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रि पर्वको दिन बुधबार विश्वकै अग्लो दावी गरिएको त्रिशुल हेर्न आएका भक्तजनको घुइँचो । उनका अनुसार भक्तजनको सहज दर्शनका लागि महिला, पुरुषको फरकफरक लाइनको व्यवस्था गरिएको छ । साथै सुरक्षा लागि जिल्लामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय युवा खटिएका उनले जानकारी दिए । यहाँ महोत्तरीसहित धनुषा, सिरहा, सर्लाही, सिन्धुलीसहित छिमेकी मुलुक भारबाट पनि दर्शनार्थी आउने गर्छन् । महाशिवरात्रिका दिन आज पोखराको केदारेश्वर मन्दिरको शिवलिङ्गमा जल,दूध र बेलपत्र चढाउँदै भक्तजन ।

राणाकालीन झल्को दिँदै न्युरोड (तस्बिरहरू)

न्यूरोड काठमाडौं उपत्यकाको प्रमुख व्यापरिक केन्द्र हो । अब न्यूरोड काठमाडौंको मात्रै नभएर मुलुककै मुख्य व्यापार केन्द्र बनेको छ । अहिलेको यो व्यापारिक हव न्युरोडको आफ्नै ऐतिहासिक महत्व छ । राणाकालिन अवस्थामा समेत न्यूरोडको चर्चा र महिमा उत्तिकै थियो । राणा प्रधानमन्त्री जुद्ध शमसेरको पालामा न्यूरोड मौलिक थियो । घरहरुमा सेतो रंग लगाइएको हुन्थ्यो भने झयाल ढोकामा हरियो रंग लगाइएको हुन्थ्यो । घरहरु पनि प्राय एकैनासका, बेलायति शैलीका । जुद्ध शमसेरको पालामा न्यूरोड खास थियो भन्ने कुरा अहिले पनि न्यूरोडको मुख्य चोकमा जुद्ध शमसेरको सालिक हुनुले पुष्टी गर्छ । जुद्ध शमसेरको शासन काल मै न्युरोड नदेखे पनि काठमाडौं महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले जुद्ध शमसेरको पालमा बनेका घरको स्वरूप भने देखेका थिए । समय क्रमसंगै जुद्ध शमसेरको पालाको न्यूरोड फोरियो । बेलायती शैलीका घरहरु भत्काएर आधुनिक घरहरु बन्न थाले । काठका कलात्मक झयाल र ढोकाको सट्टा अन्य किसिमका झ्याल र ढोका राखेर घरहरु बने । रंगरोगन पनि विविध किसिमको लगाइयो । यी सबै कुरालाई देखेका वडा अध्यक्ष राजभण्डारीले केहि हद सम्म भए पनि पुरानै स्वरूपमा लैजाने उद्देश्यले न्युरोडवासीसंग एकै नासको रंग लगाउने प्रस्तव गरे । उनकै प्रस्तावलाई स्वीकार गरेर अहिले न्यूरोडका घर धनीहरुले आआफ्नो घरमा सेतो रंग लगाउन थालेका छन् । जसले गर्दा केहि हद सम्म भए पनि पुरानै मौतिकता तर्फ फर्किएका महसुस भएको छ । शब्द र तस्बिर : मिडिया साइट्स नेपाल