प्रहरी कार्यालय कि ‘कवाड’ खाना ? (फोटो फिचर)
काठमाडौं । वर्षौंदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौं सवारीसाधन प्रहरी थानमा थन्किएका छन् । कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन् । तर, ती सवारीसाधनको प्रयोग भएको छैन । कवाडीको रूपमा हजारौं सवारीसाधन प्रहरी कार्यालयमा थुपारिएको देख्न सकिन्छ । थुपारिएका ठाउँमा कुन र कति सवारीसाधन थुपारिएका छन् भन्ने तथ्यांक सम्बन्धित कार्यालयसँग छैन । कतिपय सवारीसाधनको मुद्दा समयमा किनारा लागेको छैन भने किनारा लागेका मुद्दामा पनि बरामद सामानबारे कुनै उल्लेख नहुँदा बहुमूल्य सम्पत्ति खेर गइरहेको छ । वर्षौँदेखि थन्किएका सवारीसाधान केही टुटेफुटेका मोटरसाइकल मर्मतपछि प्रयोग गर्नसक्ने अवस्थाका पनि छन् । तर वर्षौँदेखि त्यसरी बेवारिसे अवस्थामा रहेका सवारीसाधनप्रति सवारी धनी र प्रहरीको समेत चासो नहुँदा त्यसै ‘कवाडी’ बन्दै गएका छन् । काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका विभिन्न प्रहरी इकाईमा यस्ता सवारीसाधनको चाङ देखिन्छ । यी सवारीसाधन ट्राफिक प्रहरीले विभिन्न कारबाही गरेर कार्यालयमा ल्याएका हुन् । तर, कारबाहीपछि सवारी धनी लिन नआउँदा यस्ता सवारीसाधन दिनप्रतिदिन कवाडी बन्दै गएका छन् । ट्राफिक प्रहरी कार्यालयले दैनिक विभिन्न कसुरमा कारबाही गरेकामध्ये मापसे गरेर कागजपत्र नभएका सवारीसाधनलाई होल्ड गर्छ । यसरी होल्ड भएका सवारीसाधन भोलिपल्ट वा कुनै दिन सवारी धनीले आवश्यक कागजपत्र पु¥याएर आफ्नो सवारी फिर्ता लग्न सक्छन् । तर, केही मानिस यस्ता साधन फिर्ता लिनै आउँदैनन् । जसले गर्दा दिनप्रति दिन प्रहरी हातामा सवारीको चाङ लाग्दै गएको छ । चाङ लागेका सवारीसाधन देख्दा प्रहरी कार्यालय नै हो वा कवाड खाना ? एकछिन सोच्न बाध्य बनाउँछ । आजको फोटो फिचरमा प्रहरी कार्यालयमा थन्किएका सवारीसाधनहरू । न्युज एजेन्सी नेपाल
महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)
काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरमा शिवको पूजा गर्नेहरूको घुइँचो छ । भक्तजनहरूले व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।
चन्द्रागिरिमा यसरी गरियो केवलकारको आपतकालीन उद्धार (फोटो फिचरसहित)
काठमाडौं । मंगलबार चन्द्रागिरिमा केवलकार आपतकालीन उद्धार अभ्यास-२०८० सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौंको आयोजना र चन्द्रागिरि हिल्स लिमिटेडको सहकार्यमा उक्त अभ्यास सम्पन्न भएको हो । नं. ९ पशुपतिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा केवलकारमा समस्या आई विचमा रोकिएर आपतमा परेका यात्रुहरुको सुरक्षित उद्धारमा परिचालन हुनको लागि पूर्वतयारी अनुरुप आपतकालीन उद्धार अभ्यास गरिएको हो । नायव महानिरीक्षक पुरुषोत्तम थापाले जुनसुकै प्राकृतीक तथा यान्त्रिक खरावीका कारण केवलकारमा सवार यात्रुहरुबीच बाटोमै रोकिन सक्ने जोखिमको सम्भावना अत्याधिक रहने र यसरी रोकिएका यात्रुहरुलाई निश्चित समयमै उद्धार गर्न उद्धारकर्ताले सामना गर्नुपर्ने परिदृष्यको वास्तविकता झल्को दिने अभ्यास प्रभावकारी एवं महत्वपूर्ण हुने बताए । चन्द्रागिरि हिल्सका प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले सशस्त्र प्रहरी बल, नेपालले प्रर्दशन गरेको पूर्व तयारीको यस्ता अभ्यासले जोखिममा परेका यात्रुहरुको हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा उपत्यकास्थित सशस्त्र प्रहरी बल, नेपाल गणहरुका गणपति तथा गुल्मपतिहरु, नेपाल प्रहरीका अधिकृत, चन्द्रागिरि हिल्सका कर्मचारी र संचारकर्मीहरुको समेत उपस्थिति थियो ।