भिटामिन ए खुवाउने अभियान सञ्चालन (फोटोफिचर)
काठमाडौं । सरकारले वैशाख ६ र ७ गते आजबाट बालबालिकालाई भिटामिन ए खुवाउने राष्ट्रिय अभियान सञ्चालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै यही वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रममा खोप लगाउन छुटेको बालबालिकालाई खोप पनि लगाउन मन्त्रालयले अनुरोध गरेको छ । नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ । खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै बालबालिकालाई नियमित खोप लगाउनसमेत मन्त्रालयले उल्लेख गरेको छ । सोही अभियान अन्तर्गत राजधानीको विभिन्न वडाहरूमा बालबालिकालाई भिटामिन ए खुवाइएको छ ।
नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु (फोटो फिचर)
काठमाडौं । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको साेमबार ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ ।प्रधानमन्त्रीले सोमबार सुरुङ छिचोल्नका लागि स्वीच थिचेका थिए । प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो । धादिङको सिस्नेखोला र काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ । समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारीको उपस्थिति थियो । यस्तै सङ्घीय सांसद एवं प्रदेश सांसदहरुको उपस्थिति थियो । नागढुङ्गाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई उक्त सुरुङमार्ग निर्माण भएपछि थप सहज हुनेछ । सोमबार छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरका अनुसार एक विशेष समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो । सो सुरुङमार्गको कूल लम्बाई दुई हजार छ सय ८८ मिटर छ । यसअघि नै आपतकालीनरुपमा प्रयोग गरिने सुरुङ भने गत साउनमा नै ब्रेक थ्रु गरिसकिएको छ । सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्नेछ । आयोजनाको कूल लागत झण्डै २२ अर्ब रुपैयाँ बराबर छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो ।
भक्तपुरको जिब्रो छेड्ने जात्रा (फोटोफिचर)
काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा आईतबार जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले जिब्रो छेडाएर जात्रा शुभारम्भ गरेका छन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इञ्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो । यसअघि, सुजनका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौ पटकसम्म जिब्रो छेडेर परम्परा धान्दै आएका थियो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन रहेको छ ।