प्रभु महालक्ष्मी लाइफको सीईओमा प्रसाई नियुक्त
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । फागुन १८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले प्रसाईलाई सीईओमा नियुक्त गरेको हो । नेपाल बीमा प्राधिकरणबाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाई अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र साविक प्रभु लाइफ इन्स्योरेन्सको सीईओको रुपमा नेतृत्व गरेको अनुभव छ । साविकको प्रभु लाइफमा सीईओका रुपमा कार्य गर्दै गर्दा साविकको महालक्ष्मी लाईफसँग मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ती प्रदान गरेको छ । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।
वायुसेवा सञ्चालक संघको अध्यक्षमा समिट एयरका कार्की चयन
काठमाडौं । हवाई सेवा प्रदाय संस्थाहरूको छाता संगठन वायुसेवा सञ्चालक सङ्घको अध्यक्ष पदमा मनोज कार्की चयन भएका छन् । सङ्घको बिहीबार भएको २३औँ वार्षिक साधारणसभाले सङ्घका महासचिव उनलाई आगामी दुई वर्षका लागि निर्विरोध चयन गरेको हो । उनी समिट एयरका प्रबन्ध निर्देशक हुन् । सङ्घको वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा, उपाध्यक्षमा श्रीएयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर, महासचिवमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशी चयन भएको सङ्घले जनाएको छ । सदस्यमा उमेश पनेरु, बालकृष्ण श्रेष्ठ र उमेश आचार्य चयन भएका छन् । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन सेवाप्रदायक जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । मुलुकको पर्यटन क्षेत्रको विकासमा हवाई क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै हवाई उद्योगको विकास निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे । उनले भने, ‘पर्यटनको रक्तसञ्चार नै हवाई क्षेत्र हो, हवाई उडानबिना पर्यटनको कल्पना गर्न सकिँदैन, त्यसैले हवाई उद्योगमा सरकार र निजी क्षेत्रको ठूलो लगानी छ, एयरलाइन्सले नाफामुखी मात्रै होइन, सेवामुखी भएर दूरदराजका जनतालाई सेवा दिनुपर्छ ।’ सचिव डा दीपक काफ्लेले हवाई क्षेत्रको सुधारका लागि सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले सङ्घले गर्ने कार्यमा नियामकको साथ सहयोग रहने जनाउँदै हवाई क्षेत्रको सुदृढीकरणमा ध्यान दिन सेवाप्रदायकलाई आग्रह गरे । सङ्घका नवनिर्वाचित अध्यक्ष कार्कीले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सबै सरोकारवालाको साथ लिएर अघि बढ्ने विश्वास व्यक्त गरे । रासस
ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । फागुन १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।