लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा महाप्रसाद अधिकारी
काठमाडौं, १० असार । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो । अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिले अधिकारी, निवर्तमान सिईओ राधेश पन्त र सरोज कोइरालाको नाम सिफारिस गरेको थियो । नबनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारी नेपाल राष्ट्र बैंकको निवर्तमान डेपुटी गभर्नर हुन् । चाटर्ड एकाउन्टेट अधिकारीले नेपाल राष्ट्र बैंकमा वित्तीय क्षेत्रमा सुधारका लागि महत्वपूर्ण कार्यमा नेतृत्वदायी भूमिका खेलेका थिए । लगानी वोर्डमा चार वर्षको अवधिमा ठूलो परियोजना अगाडि बढाउन ऐतिहासिक काम गर्ने उनले बताएका छन् ।
हिमालयन जनरल इन्स्यारेन्समा सुशिल बज्राचार्य
काठमाडौं, १० साउन । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुशिल बज्राचार्य नियुक्त भएका छन । कम्पनीले बज्राचार्यलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । साउन १ गतेबाटै बज्राचार्यले कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका छन । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आइतबार नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेखेर सो जानकारी गराएको हो । बज्राचार्य यसअघि सोही कम्पनीमा नायब महाप्रबन्धकमा कार्यरत थिए ।
जनता बैंकमा कुमार लम्साल, ग्लोवल आईएमईमा अनिल ज्ञवाली
७ जेठ । जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । जेठ ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा लम्साललाई चार वर्षको लागि नियुक्त गरेको हो । लम्सालले विहीबारदेखि नै जनता बैंकमा जिम्मेवारी समालेका छन् । लम्साल यसअघि किष्ट र मर्जपछिको प्रभु बैंकमा छोटो अवधि कार्यकारी प्रमुख भएका थिए । उनले सानिमा बैंकमा साढे ६ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार समालेका थिए । जनता बैंकमा डा रमेश कुमार भट्टराईले राजीनामा दिएपछि प्रमुख कार्यकारी अधिकृत पद खाली थियो ।त्यसैगरी ग्लोवल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । ज्ञवाली नविल बैंकमा चार वर्षे कार्यकाल सकिए लगत्तै ग्लोवल आईएमईमा फर्केका हुन् । चार वर्षअघि उनी सोही बैंकमा एक कार्यकाल कार्यकारी प्रमुख भएर काम गरेका थिए । जेठको पहिलो सातामा तीन वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत फेरिएका छन् । जेठ १ गते सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका थिए । ग्लोवल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको चार वर्षे कार्यकाल बैशाख ३१ गते सकिए लगत्तै बज्राचार्यले नयाँ बैंकमा जिम्मेवारी समालेका हुन् । ग्लोवल आईएमई बैंकमा कार्यकारी प्रमुख हुनुपूर्व उनी एनसीसी बैंकमा चार वर्ष कार्यकारी प्रमुख थिए । त्यसअघि उनले नेपाल बैंकमा वित्तीय विदेशी व्यवस्थापन टोलीमा रहेर काम गरेका थिए ।