युनाइटेड इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा श्रेष्ठ सर्वसहमतिले चयन
काठमाडौं, १७ भदौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा विजयवहादुर श्रेष्ठ चयन भएका छन् । भदौ १५ गते बसेको कम्पनीको संचालक समितिको २६३ औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा सर्वसहमतिले चयन गरेको हो । कम्पनीको सर्वसाधरण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्दै श्रेष्ठ २०५४ साल देखि निरन्तर रुपमा कम्पनीको संचालक समिति सदस्य भै कार्य गरि रहेका छन् । उनले दिल्ली विश्व विद्यालयबाट वित्त तथा बजार शास्त्रमा स्नातकोतर गरेका हुन् । हालसम्म कम्पनीले केन्द्रीय कार्यालय तथा २० वटा शाखा कार्यालयहरुबाट निरन्तर ग्राहकहरुलाई बीमा सेवा प्रदान गरि रहेको छ । त्यसका साथै, कम्पनीले आगामी दिनमा समेत बीमा सेवालाई अझ परिस्कृत गरि प्रविधिमा आधारित सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
सिप्रदीको सिइओमा राजनबाबु श्रेष्ठ नियुक्त
काठमाडौं, १२ भदौ । टाटा मोटर्सको नेपाली आधिकारीक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राजनबाबु श्रेष्ठ नियुक्त भएका छन् । यस अघि उनी कम्पनीकै प्रमुख संचालन अधिकृत(सीओओ) को जिम्मेवारीमा थिए । सिप्रदीमा टेक्निकल मेनेजरका रुपमा सन् १९९९ मा नियुक्त भएका श्रेष्ठले १७ बर्षपछि कम्पनीको फस्ट म्यानको जिम्मेवारी पाएका हुन् । उनले डेपुटी जनरल म्यानेजर, जनरल म्यानेजर, भाइस प्रेसिडेन्ट, सीओओको जिम्मेवारी पुरा गरिसकेका थिए । हाल सिप्रदी ट्रेडिङ अन्तर्गत सिप्रदी इनर्जी, सिप्रदी अटोपार्ट्स, सिप्रदी अर्थमुभर्स, सिप्रदी एस्योर्ड र सिप्रदी हायर पर्चेज लगायतका सहायक कम्पनी रहेका छन् ।
गण्डकी विकास बैंकको सीईओमा शर्मा नियुक्त, पुँजी वृद्धि पहिलो प्राथमिकता
काठमाडौं, १ भदौ । गण्डकी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा छविन्द्रनाथ शर्मा नियुक्त भएका छन् । साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनी विगत तीन वर्षदेखि कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । विगत १४ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत शर्मा २०६५ सालदेखि गण्डकी विकास बैंकमा कार्यरत छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । पोखरामा केन्द्रीय कार्यलय रहेको यो बैंक १० जिल्ला कार्यक्षेत्र भएको बैंकको हो । यो बैंकले गत असार मसान्तसम्ममा ५ अर्ब ५५ करोड निक्षेप र ४ अर्ब ६२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष बैंकले १३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । १० जिल्ला कार्यक्षेत्र भएको बैंकको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ हुनु पर्ने भएकोले बैंकको अहिलेको प्राथमिकता पुँजी वृद्धि भएको शर्माले बताए । हाल यस बैंकको चुक्ता पुँजी ५३ करोड ८५ लाख रुपैयाँ छ । ‘समय धेरै छैन, मर्ज गरेर पुँजी वृद्धि गर्ने विकल्पमा छलफल चलाईरहेका छौं’ शर्माले विकासन्युजसँग भने ।