१२ स्थानीय तहमा शाखा विस्तार गर्न नविल बैंकले माग्यो १०० ट्रेनि सहायक

काठमाडौं । नविल बैंकले १०० जनालाई रोजगारी खुलाएको छ । बैकले विभिन्न स्थानीय तहका लागि १०० जना ट्रेनी सहायक कर्मचारी मागेको हो । बैंकले अगष्ट २२ सम्म आवेदन दिन भनेको छ । बैंकले एक दर्जन स्थानीय तहमा शाखा विस्तार गर्न ट्रेनी सहायक मागेको हो । बैंकले आछामको तर्मखाँड, रामारोशन, वैतडीको पञ्चेश्वर, बझाङको बित्ताचर, डडेलधुराको अलिताल, डोटीको सयाल, जुम्लाको तिला, कालिकोटको पाँचझरना र पलाटा, सुर्खेतको बाराताल, सल्यानको दर्मा र रुपन्देहीको समरीमाई गाँउपालिकामा शाखा विस्तारका लागि ट्रेनि सहयाक मागेको हो ।

कन्काई विकास बैंकको कम्पनी सचिवमा प्रकाशमान बज्रचार्य

काठमाडौं । कन्काई विकास बैंकको कम्पनी सचिवमा प्रकाशमान बज्रचार्य नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले बैंकको सीईओ बज्रचार्यलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो । यस नियुक्तीसँगै बज्रचार्यले अब सीईओको साथसाथै कम्पनी सचिवको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि बैंककोे कम्पनी सचिव पदमा बैजुनाथ ठाकुर थिए । कम्पनीको २७२औं संचालक समितिको बैठक साउन १६ गते बसेको थियो ।

वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी नियुक्त

काठमाडौं । वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी नियुक्त भएका छन् । साउन १७ गते बसेको कम्पनीको सञ्चालक समितिले बैठकले अधिकारीलाई आगामी दुई वर्षको लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष पदमराज न्यौपानेले जानकारी दिए । सीईओ अधिकारीले साउन १८ गतेदेखि जिम्मेवारी समालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीसँग १७ वर्ष विभिन्न बैंक फाइनान्समा काम गरेको अनुभव छ । अधिकारीका अनुसार उनले सन् २००१ देखि ११ सम्म माछापुच्छ्रे बैंकमा काम गरेका थिए । त्यसपछि उनी कास्की फाइनान्समा ७ वर्ष सीईओ भएका थिए । कास्की फाइनान्स कामना विकास बैंकमा मर्ज भएपछि उनी कामना विकास बैंकको सीईओ भएका थिए । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भएपछि बनेको कामना सेवा विकास बैंकमा डेपुटी सीईओ रहेर काम गरेका थिए । ‘वाणिज्य बैंकमा, विकास बैंकमा, फाइनान्स कम्पनीमा, मर्ज भएको संस्थामा काम गरेको अनुभव छ । विभिन्न समस्याबाट माथि उठ्दै गरेको र मर्जपछि ठूलो संस्थाको रुपमा स्थापित भएको बेष्ट फाइनान्समा आफ्नो अनुभव र क्षमता प्रयोग गर्छु’ अधिकारीले विकासन्युजसँग भने ।