प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिश

काठमाडौ । संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको छ । परिषद्को आजको बैठकले सो सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए। तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि मिश्रले कामुको जिम्मेवारी सम्हाल्दै आएका छन् । परिषद्ले गरेको सिफारिशका आधारमा सुनुवाइ समितिले अनुमोदन गर्नुपर्नेछ । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिसमक्ष नियुक्तिका लागि पठाइनेछ । रासस

सांग्रिला डेभलपमेन्ट बैंकमा सीईओ र डेपुटी सीईओ पद रिक्त, सुयोग श्रेष्ठ सीईओ बन्दै

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र डपुटी सीईओ दुबै पद खाली भएको छ । प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल गत असार अन्त्यमा सकिएको हो भने डेपुटी सीईओ दिनेश थकालीले राजीनामा दिई प्रभु बैंकको सीसीओमा नियुक्ती पाएका छन् । पौडेलले उक्त संस्थामा प्रमुख कार्यकारी अधिकृत पदमा चार कार्यकाल काम गरिसकेका थिए । राष्ट्र बैंकको नियम अनुसार उनलाई पुर्ननियुक्ती गर्न नमिल्ले अवस्था थियो । पौडेलको अवकासपछि डेपुटी सीईओ दिनेश थकालीले राजीनामा दिएका छन् । थकालीलाई सीईओ बनाउने विषयमा सञ्चालक समितिमा एक मत हुन नसकेपछि उनले राजीनामा दिएका थिए । उनी प्रभु बैंकमा प्रमुख सञ्चालन अधिकृतमा नियुक्त भैसकेका छन् । स्रोतका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सुयोग श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने तयारी गरिरहेको छ । ‘निर्णय भएको छैन तर छलफल सकारात्मक छ । यसै साता निर्णय हुन्छ’ सञ्चालक समितिका एक सदस्यले जानकारी दिए । श्रेष्ठ यसअघि लामो समय एस डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उक्त बैंक नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिएपछि श्रेष्ठ खाली थिए ।

नबिल बैंकको संचालकमा मुखर्जी

काठमाडौं । नबिल बैंकको सञ्चालकमा मलय मुखर्जी मनोनित भएका छन् । हालै सम्पन्न कम्पनीको ४९३ औं सञ्चालक समितिको बैठकले बैंकको क समूहका सेयरधनीको तर्फबाट मुखर्जी संचालकमा नियुक्त गरेको हो । मुखर्जीले गत भदौ १ बाट नै पदबहाली गरिसकेका छन् । नव मनोनित सञ्चालक मुखर्जी कर्जा विश्लेषण, जोखिम व्यवस्थापन, प्रविधि विकास लगायत बैंकिङ क्षेत्रको लामो अनुभव तथा ज्ञान रहेको वरिष्ट बैंकर हुन् । उनले आईएफसीआई लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशकको जिम्मेवारीका साथै आईएफसीआई समूह अन्तर्गत रहेका विभिन्न कम्पनीहरुमा अध्ययन भूमिका निर्वाह गरिसकेका छन् । साथै, उनले सेन्ट्रल बैंक अफ इंडियामा सेप्टेम्बर २०१२ देखि डिसेम्बर २०१३ सम्म कार्यकारी निर्देशकको पदमा समेत काम गरेका थिए । नव मनोनित सञ्चालक मुखर्जीले इण्डियन बैंक चेन्नइमा समेत प्रविधि व्यवस्थापन विभाग, जोखिम व्यवस्थापन विभाग लगायतका विभागहरुमा महाप्रबन्धकको पदमा रहि सेवा प्रदान गरेका थिए ।