सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त
काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्ष हुनेछ। निगमको तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएको थियो । जसका लागि १२ जनाले आवेदन दिएका थिए । ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक पौडेलले त्यहाँ तीन वर्षे कार्यकाल पूरा गरेका थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका पौडेलले आफ्नो कार्यकालमा उदयपुर सिमेन्टलाई नाफामा लगेको थिए ।
नेशनल माइक्रोफाइनान्सका अध्यक्ष अचार्यले लिए सपथ
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुनः नियुक्त भएका केशवप्रसाद अचार्यले सोमबार सपथ लिएका छन् । अध्यक्ष अचार्यले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । पुनः नियुक्त अध्यक्ष न्युक्त अचार्यले संचालक समितीहरु रविन सिजापति, बद्रि प्याकुरेल, रामकुमार तिमल्सिना, जमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको उपस्थितीमा सपथ खाएका हुन् ।
टेलिकमका प्रबन्ध निर्देशकले सम्हाले कार्यभार, यस्ता रहेछन् सुधारका योजना
काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पदभार ग्रहण गरेका छन् । अधिकारीलाई सरकारले पुस १९ गते ३ वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गरे । उनले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न कर्मचारीहरुलाई आह्वान पनि गरे । उनले काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने स्पष्ट पनि पारेका छन् । उनले परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकुल सम्बोधन गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने, १ करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने, मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटीटीएच सेवालाई मूख्य सहरहरु तथा पकेट क्षेत्रहरुमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने बताए । त्यसैगरी कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिइने, मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क तयार गर्ने कार्यमा शीघ्रता ल्याइने र मोबाइल फाइनान्सियल सेवा तथा आईपी टीभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरे । प्रबन्ध निर्देशक अधिकारी यस अघि प्रबन्ध निर्देशकको कार्यालयमा प्रबन्धक पदमा कार्यरत थिए । उनले तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा २०५९ फागुन २२ गते टेलिकम इन्जिनियर पदमा प्रवेश गरे । उनले २०६५ मा बरिष्ठ इन्जिनियर, २०७० मा उप–प्रबन्धक र २०७५ बैशाख १६ देखि प्रबन्धक पदमा कार्यरत हुन् ।