जीवन बीमक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा पौडेल
काठमाडौं । जीवन बीमक संघ नेपालको प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । आज (कार्तिक २८ गते) शुक्रबार सम्पन्न संघको साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको हो । नयाँ अध्यक्षमा निर्मल काजी श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । उनी मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान उपाध्यक्ष हुन् । त्यसैगरी उपाध्यक्षमा पोषक राज पौडेल निर्वाचित भएका छन् । उनी सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान महासचिव हुन् । महासचिवमा सन नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल निर्वाचित भएका छन् । उनी अघिल्लो कार्यसमिति सदस्य थिए । कोषाध्यक्षमा प्रविन रमण पराजुली चयन भएका छन् । उनी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् । उनी अघिल्लो कार्यसमितिमा पनि कोषाध्यक्ष नै थिए । त्यसैगरी सदस्यहरुमा ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रि, राष्ट्रिय बीमा संस्थानका प्रसासक कवि प्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, गुंरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई, आईएमइ लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल निर्वाचित भएका छन् । नेपाल बीमक संघका अध्यक्ष दिप प्रकास पाण्डेले समग्र बीमा क्षेत्रको व्यवसायिक र दिगो विकासको लागी दुबै संस्था मिलेर जानु पर्ने विषयमा प्रकाश पारेका छन् । जीवन बीमक संघ नेपालका निवर्तमान अध्यक्ष शिवनाथ पाण्डेले नयाँ कार्य समिति समक्ष रहेका चुनौती र अवसरको लागी सवै पक्षसंग समन्वय गरेर अगाडि बढ्न शुभकामना दिएका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जीवन बीमा क्षेत्रको सम्रग विकासको लागी बीमकहरु, संघहरु र समिति आपसमा मिलेर काम गर्नु पर्ने बताउदै नयाँ निर्वाचित कार्य समितिलाई आगामी कार्यकालको लागी बधाई तथा शुभकामना दिएका छन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईले जीवन बीमा क्षेत्रको उल्लेख्य वृद्धिसँगै मुख्य गरि व्यतित बीमालेख कम गर्ने तथा अभिकर्ताको व्यवसायिकता र व्यवस्थापनमा सुधार गर्नु पर्ने चुनौती रहेको बताएका छन् । कार्यक्रमको अन्त्यमा नव निर्वाचित अध्यक्ष निर्मल काजी श्रेष्ठले सबैलाई धन्यवाद दिँदै सबै मिलेर बीमा क्षेत्रको व्यवसायिक विकास र नविनतम कार्यक्रमहरु संचालन गर्न तथा चुनौतीको मिलेर सम्वोदन गर्न समन्वय गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक भन्छन्- सबैको मन मनमा स्वास्थ्य बीमा पुर्याउँछु
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. दामोदर बसौलाले सबै नेपालीको मन मनमा स्वास्थ्य बीमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आज(कार्तिक २६ गते) आफ्नो पदको पदबहाली गर्दै सो बताएका हुन् । साथै, डा. बसौलाले आफ्नो मुख्य लक्ष्य नै स्वास्थ्य बीमाको गुणात्मक र संख्यात्मक पहुँच वृद्धि गर्ने बताएका छन् । डा. बसौलाले अपरान्ह स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पुगेर पद बहाली गरेका हुन् । उनले आजै स्वास्थ्य मन्त्रालयबाट पत्र बुझेका थिए ।
सन्तोष मैनालीको नेतृत्वमा ब्रोकर एशोसिएसनको नयाँ कार्यसमिति चयन
काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार सम्पन्न एशोसिएसनको २६औं वार्षिक साधारण सभाले मैनालीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिव रमनदेव पन्त र कोषाध्यक्षमा भक्तिराम घिमिरे रहेका छन् । त्यस्तै, सदस्यहरुमा मदन पौडेल, सुयोग अधिकारी, फणिन्द्र ढकाल, रविन्द्र श्रेष्ठ र मित्रलाल श्रेष्ठ निर्वाचित भएका छन् । याे नेतृत्वले आगामी दुई वर्षसम्म कार्यभार सम्हाल्ने छ । नवनियुक्त अध्यक्ष सन्तोष मैनाली स्टक ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजका सञ्चालक हुन् । उनीसँग एशोसियसनको कार्यसमितिमा महासचिव र सदस्य पदमा काम गरेकाे अनुभव रहेकाे छ। यसअघि ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजका प्रमुख कार्यकारी अधिकृत भरत रानाभाटले एशोसिएशनमा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनको दुई वर्षे कार्यकाल गत असोज १२ गते नै सकिएको हो ।