प्रधानमन्त्री एकातिर, माओवादी अर्कोतिर, पार्टीभित्रको असन्तुष्टि चुलिँदै
काठमाडौं, कात्तिक २४ । पार्टीभित्र असन्तुष्टि चुलिँदै गइरहेका बेला आफ्ना सहयोगीबाट आफूले चाहेजस्तो सहयोग नपाएपछि प्रधानमन्त्री प्रचण्डले बुधबार केन्द्रीय कार्यालयको बैठक बोलाएका छन् । संगठन विभागका प्रमुख रामबहादुर थापासहित प्रचण्ड निकटका नेताहरुको मौनता र अन्तर्राष्ट्रिय विभागका प्रमुख नारायणकाजीको विरोधपछि अप्ठ्यारोमा परेका प्रचण्डले सरकार र पार्टीबीच बुझाइमा एकरुपता कायम गर्न बैठक बोलाएका छन्। पार्टीभित्र र बाहिरबाट आफूमाथि तीव्र आलोचना हुन थालेपति अप्ठेरोमा परेका दाहालले पार्टीभित्रका छोटे राजाहरुलाई संरक्षण गरेको गम्भीर आरोप एकता प्रक्रियामा आएका नेताहरुले लगाउन थालेका छन् । पार्टीभित्र संस्थागत नगरी व्यक्तिगत स्वार्थअनुरुप सञ्चालन गर्न चाहने समूहको साँघुरो घेरामा प्रधानमन्त्री प्रचण्ड परेपछि उनी अप्ठेरोमा परेका छन्। असन्तुष्ट नेताहरुले प्रचण्ड एकल निर्णयबाट अघि बढेको आरोप लगाएका छन् । अन्नपूर्ण पोस्टबाट ।
साङेलाई भेट्नु ‘देउवाको गल्ती’, एक चीन नीति’ मा दृढ नभएको भन्दै विवाद उत्पन्न
काठमाडौं २४, कात्तिक । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भारतमा तिब्बतका निर्वासित नेता उपस्थित कार्यक्रममा सहभागी भएको विषयमा कांग्रेसकै वरिष्ठ नेताले आपत्ति जनाएका छन् । उनीहरुले पार्टी बिपी कोइरालाकै पालादेखि ‘एक चीन नीति’ मा दृढ रहेको दोहो¥याउँदै विवादास्पद कामबाट बच्न नेतृत्वलाई सुझावसमेत दिए । महामन्त्री शशांक कोइरालाले सभापति देउवा तिब्बती निर्वासित सरकारप्रमुखसँगै वक्ता रहेर कार्यक्रममा सहभागी हुनु गलत भएको बताए । उनले सभापति देउवाको उक्त भेट पार्टीगत नभई व्यक्तिगत रहेको स्पष्टसमेत पारे । ‘नेपाली कांग्रेस एक चीन नीतिमा अडिग छ,’ उनले भने, ‘पार्टीको केन्द्रीय समितिलाई यस विषयमा कुनै जानकारी नभएका कारण उक्त कार्यक्रममा भएको उहाँको सहभागिता व्यक्तिगत हो ।’ उनले एक चीन नीतिविपरीत कांग्रेसले कुनै पनि गतिविधि नगर्ने पनि बताए । सभापति देउवा इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडियाज कनक्लेभ–२०१६’ मा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्न गोवा पुगेका थिए। उक्त कार्यक्रममा तिब्बतको निर्वासित सरकारका प्रधानमन्त्री लोब्साङ साङेसँग अनौपचारिक कुराकानीसमेत गरेको समाचार आएको थियो । उक्त कार्यक्रममा दलाई लामाले भिडियो सम्बोधनसमेत गरेका थिए । कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले चीनलाई शंका हुने काम कहिल्यै नगर्ने बताए । ‘बिपीको पालादेखि नै हामी एक चीन नीतिमा अडिग छौं । त्यसकारण असल छिमेकी राष्ट्र चीनलाई शंका हुने काममा कहिल्यै सहभागी हुँदैनौं,’ उनले भने, ‘कांग्रेसको यो नीतिविपरीत कोही पनि जाँदैन ।’ चीनलाई कांग्रेसले सधैं भरपर्दो र विश्वासिलो मित्रका रुपमा हेर्न चाहेको उनले दोहोर्याए । कांग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइरालाले पनि चीनको चासोप्रति कांग्रेसका शीर्ष नेताले अत्यन्तै संवेदनशीलता देखाउनुपर्ने बताए । ‘दलाई लामाको विषयमा चीन सानोभन्दा सानो विषयमा संवेदनशील छ,’ उनले भने, ‘त्यसैले कांग्रेसका शीर्ष नेताले चीनको चासोप्रति अत्यन्तै संवेदनशीलता देखाउनुपर्छ ।’ उनले तिब्बत चीनको एक स्वशासित क्षेत्र हो भन्नेमा नेपाल स्पष्ट रहेको पनि बताए । कांग्रेसकै केही नेताले भारतको गोवामा देउवाको भेट तिब्बती निर्वासित नेतासँग हुनु संयोग मात्र भएको बताउँदै आएका छन् । भारतका केही नेताले नियोजित रुपमा नै चीन र नेपालको सम्बन्ध बिगार्न देउवालाई निर्वासित नेतासँग भेट गराएको हुनसक्ने ती नेताको आशंका छ । नागरिक दैनिकबाट ।
दक्षिण एसियाको आर्थिक एकीकरणका लागि आर्थिक वृद्धि र रोजगारी सिर्जनामा जोड
काठमाडौं, २२ कात्तिक । परराष्ट्रमन्त्री डा प्रकाशरण महतले लगानी संरक्षण तथा प्रवद्र्धनसम्बन्धी सार्क सम्झौतालाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । दक्षिण एसियाली आर्थिक अनुसन्धान सञ्जाल केन्द्र (सेनी)को चौधौँ वार्षिक सम्मेलनका अवसरमा आयोजित ‘दक्षिण एसियाको बृहत्तर समृद्धिका लागि गहन एकीकरण’ विषयको दुईदिने कार्यशालाको उद्घाटन गर्दै मन्त्री महतले सार्क सदस्य राष्ट्रहरुबीच दोहोरो कर प्रावधान तथा करसम्बन्धी पारस्परिक सहयोग कार्यान्वयन गर्दै लगानी अनुकूल वातावरण तयार गर्नुपर्ने बताए । दक्षिण एसियाली आर्थिक अनुसन्धान सञ्जाल केन्द्र (सेनी)को चौधौँ वार्षिक सम्मेलन दक्षिण एसियाको सुदृढ आर्थिक एकीकरणका लागि आर्थिक वृद्धिका साथै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि बृहत् लगानी अपरिहार्य भएको बताए । उनले भने – “क्षेत्रीय लगानी नीतिको खाका तर्जुमाका साथै लगानीका अवस्थाबारे राष्ट्रिय सूचना प्रणालीमा सुधार गर्नुपर्दछ ।” दक्षिण एसियामा भू–परिवेष्टित मुलुकमा सीमित रेल पूर्वाधारका कारण वस्तु तथा सेवाको ढुवानीमा कठिनाइ भएको वास्तविकता अघि सार्दैै परराष्ट्रमन्त्रीले क्षेत्रीय यातायात करिडोरको प्रवद्र्धन, दक्षिण एसियाली रेल सञ्जाल निर्माण, सीमापार यातायात परियोजनामा लगानी तथा व्यापारिक नीति नियममा एकरुपता कायम गर्नुपर्ने विचार व्यक्त गरेका छन् । दक्षिण एसियाली मुलुकमा ऊर्जाको बढ्दो मागका साथै यस क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेका बताउँदै उनले क्षेत्रीय विद्युत् ग्रिड, ऊर्जा व्यापार तथा सहजीकरणका लागि ऐन नियममा एकरुपता, ऊर्जामा लगानी र वितरण प्रणालीको विकासका निम्ति ठोस योजना तर्जुमा गर्नुपर्नेमा जोड दिए । उनले भने – “क्षेत्रीय एकीकरणको यस्तो ढाँचा बनाऔँ जसले बजारलाई जोड्नुका साथै जनता–जनताबीचको सम्पर्क वृद्धिमा सघाउनेछ ।” स्पष्ट दृष्टिकोण र दृढ सामूहिक इच्छाबाट मात्रै क्षेत्रीय एकीकरण सम्भव हुने उनको भनाइ थियो । सेवा तथा व्यापारसम्बन्धी सार्क सम्झौताको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता भएको बताउँदै मन्त्री महतले गैरभन्सार अवरोध हटाउँदै क्षेत्रीय बजार विस्तारमा जोड दिए । दक्षिण एसियाली राष्ट्रबीच सम्पर्क बढाउन हवाई सेवा सम्झौता पनि शीघ्रातिशीघ्र गर्न जरुरी भएको उनको भनाइ थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले विदेशी लगानीकर्तालाई आकर्षक प्रोत्साहन तथा सुविधा दिएर नेपाल सरकारले प्रतिस्पर्धी तथा लगानी मैत्री वातावरण सिर्जना गरेको बताए । उनले दक्षिण एसियाली मुलुकमा प्रचुर प्राकृतिक सम्पदा तथा लगानीको सम्भावना रहेकाले यस क्षेत्रको आर्थिक समृद्धिका लागि गहन एकीकरण तथा सबैको आपसी सहयोग आवश्यक भएको बताए । कार्यक्रममा प्राडा विश्वम्भर प्याकुरेलले दक्षिण एसियामा स्वतन्त्र व्यापार सङ्घ, भन्सार सङ्घ, साझा बजार र आर्थिक सङ्घजस्ता क्षेत्रीय संयन्त्रले सही रुपमा काम गर्न नसकेकाले आर्थिक एकीकरणका मुद्दा सपना मात्र भएको टिप्पणी गरेका छन् । सेनीका संयोजक डा विष्णुदेव पन्तले क्षेत्रीय सहयोग, समझदारी र विकासका बृहत्तर चासोका विषयमा सुदृढ आर्थिक अनुसन्धान अघि बढाउन र अन्तरदेशीय सम्पर्क कायम गर्न सेनी प्रतिबद्ध रहेको बताए । उनले ऊर्जा, गरिबी निवारण, सहरी योजनालगायत आर्थिक विषयमा सेनीले गर्दै आएका अनुसन्धानात्मक कार्यक्रमबारे पनि जानकारी दिएका छन् । विश्व विकास सञ्जालका अध्यक्ष डा पियरे ज्वाक्वइट कार्यक्रममा विश्व विकास सञ्जालका अध्यक्ष डा पियरे ज्वाक्वइटले दक्षिण एसियाली मुलुकको विकास नीतिलाई नयाँ तवरले तयार गरी प्रभावकारी अनुसन्धानमा ध्यान पुर्याउनुपर्ने बताए । ढाका विश्वविद्यालयका अर्थशास्त्री प्राडा वहिउद्दीन महमदले दक्षिण एसिलाली मुलुकमा औद्योगिकीकरण, आर्थिक स्थायित्व तथा वातावरणीय चुनौतीजस्ता समस्यासँग सामना गर्दै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा दक्षिण एसियाको आर्थिक एकीकरण, आर्थिक विकास तथा मानव संसाधन विकास, विश्व उत्पादन सञ्जाल तथा संरचना, व्यापारका अवरोध एवम् क्षेत्रीयकरणजस्ता विषयमा छलफल हुनेछ । रासस