दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

फाइल तस्बिर ।

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को पछिल्लो बैठकले घिमिरेलाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको उच्च सरकारी स्रोतले जनाएको छ ।

यद्यपि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त नियुक्तिबारे जानकारी दिएका थिएनन् । 

निर्णय औपचारिक रूपमा सार्वजनिक नगरिए पनि नियुक्तिको प्रक्रिया भने अघि बढाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा घिमिरेको शपथ ग्रहणको तयारी भइरहेको छ । शपथपछि उनले औपचारिक रूपमा प्राधिकरणको नेतृत्व सम्हाल्नेछन् ।

यसअघि सरकारले अध्यादेशमार्फत तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारीलाई पदमुक्त गरेको थियो । त्यसपछि प्राधिकरणमा अर्जुन घिमिरेले निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब मन्त्रिपरिषद्को निर्णयसँगै उनी पूर्णकालीन अध्यक्ष नियुक्त भएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको नियमन, सेवा प्रदायकहरूको अनुगमन, स्पेक्ट्रम व्यवस्थापन तथा डिजिटल पूर्वाधारसम्बन्धी नीतिगत कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक नियामक निकाय हो ।

Share News