मेवाखोला हाइड्रोपावर असार अन्तिमदेखि सञ्चालन हुने
खोटाङ, ९ असार । जिल्लामा सञ्चालन गर्न लागिएको मेवाखोला हाइड्रोपावर असार अन्तिमदेखि सञ्चालन हुने भएको छ । खोटाङ जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने अभियानका साथ उत्पादनको काम थालिएको एक मेगावाट क्षमताको जलविद्युत आयोजना असार अन्तिमदेखि सञ्चालन गर्ने तयारी गरिएको हो । सत्तरी प्रतिशत बैंकको लगानी तथा ३० प्रतिशत उपभोक्ताको सेयरबाट सञ्चालन गर्न लागिएको हाइड्रोपावरका लागि मेसिन जडानको मात्र काम बाँकी रहेकाले असार अन्तिममा सञ्चालन गर्ने तयारी गरिएको आयोजना प्रमुख ललितकुमार राईले जानकारी दिए । केन्द्रीय लाइनमा जोड्ने गरी उत्पादन गर्न लागिएको सानिमा बैंकको नेतृत्वमा बैंक अफ काठमाडौंले समेत लगानी गरेको छ । साप्सु कालिका हाइड्रोपावर कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा उत्पादन हुन लागेको हाइड्रोपावर निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन हुने जनाइएको छ । हाइड्रोपावरबाट उत्पादित विद्युत् बुइपास्थित केन्द्रीय लाइनको सबस्टेसन पु¥याएर प्रवाह गरिने कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिए । हाइड्रोपावरमा चारवटा कम्पनीले कन्ट्र्याक्टमा काम गरिरहेका छन् । हाइड्रो मेकानिकलका लागि महाशक्ति हाइड्रोपावर कम्पनी, ट्रान्समिसनका लागि शाह इलेक्ट्रोनिक प्रालि, सिभिलका लागि पेसिफिक बिल्डर्स र इलेक्ट्रोमेकानिकलका लागि चिन्सीले जिम्मा लिएका छन् । हाइड्रोपावर सञ्चालन भएपछि जिल्लामा विद्युत् सञ्चालन भएका सबै गाविसमा विद्युत्भार कटौती नहुने जनाइएको छ । केन्द्रीय विद्युत् प्रयोग हुँदै आएको जिल्लामा अहिलेसम्म ३८ गाविसका उपभोक्ताले विद्युत् उपभोग गर्दै आएका छन् । गत असोजबाटै सञ्चालनमा ल्याउने गरी काम थालिएको हाइड्रोपावर गत साल असार १९ गतेको भीषण वर्षापछि आएको बाढीले हाइड्रोपावरको सर्वे मेसिन, मकी जेम्पर, वेल्डिङ सामान, गिट्टी, बालुवा, सिमेन्ट, फलामको रड लगायतका सामान बगाएर रु ४० लाखभन्दा माथिको क्षति गरेको थियो । त्यसपछि गत सालकै चैत अन्तिमबाट सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि भारतीय नाकाबन्दीका कारण सामान ढुवानी गर्न नसक्दा काम प्रभावित भएको कम्पनीले जनाएको छ । रासस
पाल्पामा होमस्टे प्रवद्र्धनका लागि तालिम
पाल्पा, ९ असार । नेपाल पर्यटन बोर्डको सहयोगमा करियर गु्रप नेपालको आयोजनामा तानसेन र बौघागुम्हा ४ पाल्पामा होमस्टे क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालन गरिएको छ । सदरमुकाम तानसेनमा संचालित तालिम कार्यक्रममा कृषि सामुदायिक मदनपोखरा, मगर सांस्कृतिक वर्तुङ, र तानसेन भगवतीटोल पाल्पामा संचालित होमस्टे संचालकहरुको सहभागिता रहेको होराइजन होमस्टेकी संचालिका जानकी बस्यालले बताइन् । तालिम कार्यक्रममा भिटोफ नेपालका पूर्व अध्यक्ष शिव लामिछाने तथा गेटअप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले सहजीकरण गरेका थिए । तालिम कार्यक्रममा २५ जना सहभागी रहेको नेपाल पर्यटन बोर्डका प्रतिनिधि अमिर धोलाले बताए । कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरेले पाल्पालाई होमस्टेको राजधानी बनाउन सकिने धारणा राखेका थिए । त्यसैगरी ७ र ८ गते मगर संस्कृतिको बाहुल्यता रहेको रानीमहल मगर होमस्टे बौघागुम्हा ४ पाल्पामा पनि होमस्टे क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ । सो क्षेत्रमा विगत ४ वर्षदेखी ११ वटा घरमा होमस्टे संचालनमा रहेको लेखबहादुर थापाले बताए । पाल्पा सदरमुकाम तानसेनबाट १४ किलोमिटर पश्चिम तर्फ रहेको होमस्टेमा १ घण्टामा पुग्न सकिन्छ । भारतको ताजमहलसँग तुलना गरीने रानीमहलको दरवारबाट सो मगर होमस्टे एक घण्टाको पैदल दुरीमा पुग्न सकिन्छ । तालिम कार्यक्रममा २५ जना सहभागि रहेको करियर ग्रुप नेपालका अध्यक्ष धनबहादुर रुचालले बताए । तालिम कार्यक्रममा होमस्टे एसोसियसन नेपालका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल र पर्यटन पत्रकार भुमराज तिवारीले सहजीकरण गरेका थिए ।
बाढी पहिरोको अनुगमन तथा उद्धारका लागि टोली गठन
काठमाडौं, ८ असार । वर्षातसँगै देशमा शुरु भएको बाढी पहिरोको अनुगमन तथा उद्धार गर्न सिचाई मन्त्रालयले सात सदस्यीय अनुगमन टोली गठन गरेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप पाठकको संयोजकत्वमा गठन भएको टोलीले बाढी पहिरोमा परेकालाई उद्धार गर्नुको साथै अनुगमन गर्ने सिचाई मन्त्री उमेशकुमार यादवले जानकारी दिए । देशैभरि आएको बाढी पहिरोको बारेमा छलफल गर्न मन्त्री यादवले मन्त्रालयमा सचिव गजेन्द्र ठाकुर, सिचाई विभागका महानिर्देशक रमानन्द यादव, जल उत्पन्न विभागका निरञ्जन देव पाण्डेलाई बोलाएर सो टोली गठन गरेका हुन् । साथै, जिल्लाका डिभिजन कार्यालयहरुलाई पनि बाढी पहिरोको अनुगमन गरी केन्द्रमा रिर्पोट गर्न निर्देशन दिएको छ । यसपालीको वर्षाले झापा, मोरगं, सुनसरीमा आएको बाढीले धनजनको क्षति गरिसकेको छ ।