विद्युत् महसुल बढाउने निर्णय फिर्ता लिन माग
काठमाडौं, २० असार । नेपाल विद्युत् प्राधिकरणले साउन १ गतेबाट २२ प्रतिशतसम्म विद्युत् महसुल बढाउने भनी गरेको निर्णयको नेकपा माओवादीले विरोध गर्दै फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्धारा आइतबार जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी सङ्घर्षमा जाने उल्लेख गरिएको छ । “ नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ” महसुल वृद्धिबारे पार्टीको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमा भनिएको छ “यदि यो निर्णय फिर्ता लिइएन भने पार्टी देशव्यापी रुपमा यसका विरुद्ध कडा सङ्घर्षमा जाने विषय अवगत गराउँदछ ।” प्राधिकरणले हालै घाटा र सेवा शुल्क कारण देखाई आगामी साउन १ गतेबाट लागू हुने गरी विद्युत् महसुलमा ११।२५ देखि २२.१५ प्रतिशतसम्म मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो । मूल्य वृद्धिमा निजी विद्युत् कम्पनीको स्वार्थ, विदेशी विद्युत् कम्पनीबाट महँगो मूल्यमा विद्युत् आयात गर्ने रणनीति, विद्युत्को खरिदमा डलरको खेती र विद्युत् प्राधिकरण, विद्युत् महसुल निर्धारण आयोग तथा सम्बन्धित मन्त्रालयका सचिव एवम् सरकारको भ्रष्टाचार एवम् कमिसनको खेल खेल्ने उद्देश्य अन्तरनिहित भएको बताउँदै विज्ञप्तिमा विद्युत् अधिकार जनताको आधारभूत आवश्यकताअन्तर्गत खानेपानी पछिको दोस्रो महत्वपूर्ण पक्ष हो भनिएको छ । रासस
इन्भेष्टमेण्ट बैंकले पशुपति क्षेत्र विकास कोषलाई करिब तीन करोड रुपैयाँ सहयोग गर्ने
काठमाडौं, १९ असार । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र पशुपति क्षेत्र विकास कोषबीच “पशुपति सङ्ग्रहालय” को विकास गर्ने सम्बन्धि सम्झौता भएको छ । “जनसहभागिता र विकास” कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रको महास्नानघर (ठूलो सदावर्त घर)लाई मर्मत–संभार गर्ने र सो घरलाई “पशुपति सङ्ग्रहालय” को रुपमा विकास गर्ने विषयमा सम्झौता भएको हो । उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. गोविन्द टण्डन तथा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले सो सहमति सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । महास्नानघरकोे दक्षिण र पश्चिमपट्टिको भाग वि सं. २०७२ साल वैशाख १२ र २९ मा गएको माहा भूकम्पले गर्दा क्षति पुगेको अवस्थामा रहेको छ । सम्झौता गरेको एक वर्षभित्र महास्नानघर एवं तीन वर्षभित्र पशुपति सङ्ग्रहालय संचालन गर्ने गरी कार्य सम्पादन हुने विज्ञप्तिमा उल्लेख छ । उपरोक्त पुननिर्माण एवं मर्मत संभार कार्यको लागि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रति वर्ष १ करोड रुपैयाँको दरले ३ बर्षमा जम्मा ३ करोड रुपैयाँसम्म खर्च गर्ने सम्झौता भएको छ । भगवान् पशुपतिनाथ मन्दिर रहेको पावन क्षेत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट विगतमा भष्मेश्वरघाटमा गरिएको मर्मत सुघार एवं योगदानको लागी उक्त कोषले सराहना समेत गरेको छ ।
गाडी र फुटपाथले विश्वसम्पदा बौद्ध क्षेत्र अस्तव्यस्त
काठमाडौं, १९ असार । विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा पर्यटक आकर्षण गर्न पैदलमार्गका लागि बिछ्याएको ढुङ्गामा सवारी साधन गुडाउँदा मार्ग अस्तव्यस्त बनेको छ । ढुङ्गामाथि दैनिक मोटरसाइकल, ट्याक्सी र कार गुडाउँदा आकर्षक ढुङ्गाको पैदल मार्ग भत्किन थालेको छ । बौद्धमा पर्यटकलाई पैदल हिँड्ने मार्गको निर्माण गरी गुम्बालगायत ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण स्थलको अवलोकन गराएर विश्वमा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०६४ मा ढुङ्गा बिछ्याइएको थियो । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध स्तूपदेखि महाङ्काल, फूलबारी, धाराटोल, होल्गाटोल र तीनचुलेसम्मको क्षेत्रमा ढुङ्गा बिछ्याएको थियो । ढुङ्गा बिछ्याइएका क्षेत्रमा सुरुमा सवारी साधन गुडाउन निषेध गरिए पनि पछि स्थानीयवासीले घरमा जान पैदल जानुपर्ने भनी विरोध जनाएपछि नियम मिचिएको समितिकी कार्यकारी निर्देशक फुबुयाङ्जी लामाले राससलाई जानकारी दिए । “पर्यटकलाई आकर्षण गर्न बनाइएको पैदल मार्गमा सवारी हिँडाउने, फुटपाथमा पसल चलाउने गर्नाले विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ, फुटपाथका पसल हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता नदेखाउँदा सम्पदा क्षेत्र अस्तव्यस्त हुने गरेको छ”– उनले भने । महानगरको नगर प्रहरीले कहिलेकाँही पसल हटाए पनि प्रायः वास्ता नगरेको स्थानीयवासी बताउँछन् । सम्पदा क्षेत्रमा मोटरसाइकल जथाभावी पार्किङ गरिँदा सवारी अबरुद्ध हुने गरेको छ । वर्षामा तीनचुले र फूलबारीदेखिको भेल आउँदा स्तूप डुबानमा पर्ने गरेको स्थानीयवासी टासीकुमार लामाले बताए । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की नगर प्रहरी १०२ मात्र भएकाले महानगरमा फुटपाथ व्यवस्थित गर्न नसकिएको बताउछन् । “नगर प्रहरी थप गर्दैछौँ, थप भएपछि महानगरको फुटपाथ व्यवस्थित हुनेछ”– उनले भने । रासस