भूकम्प र नाकावन्दीले थलिएको पर्यटन क्षेत्र तङ्ग्रिदै, अागमन बढ्यो
काठमाडौं, ५ साउन। गत वर्षदेखि विविध कारणले सुस्ताएको नेपाली पर्यटन विस्तारै तङ्ग्रिँदै गएको छ । अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०१६ को पहिलो ५ महिनामा २ लाख ३५ हजार ७२४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको यही अवधिमा २ लाख ५९ हजार ६१२ पर्यटक नेपाल आएका थिए । गत वर्षको अप्रिल २५ मा भूकम्प गएपछि मे महिना पूरै प्रभावित भएको थियो । भूकम्पलगत्तै सुरु भएको मधेश आन्दोलन र भारतीय नाकाबन्दीले सन् २०१५ नेपाली पर्यटनका लागि निरासाजनक बन्यो । गएको वर्ष पर्यटक आगमन एक तिहाईले घटेको अध्यागमन विभागले जनाएको छ । नयाँ वर्षको सुरुवातसँगै पर्यटनमा आशाको किरण देखिएको पर्यटन व्यवसायीहरू बताउँछन् । सामान्य अवस्था रहेको २०१५ को जनवरीमा ३८ हजार ६१६ पर्यटक नेपाल भित्रिएका थिए । नाकाबन्दीबाट भर्खरै छुटकारा पाएको २०१६ को जनवरीमा ३३ हजार ३६२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । फेबु्रअरीमा ४४ हजार, मार्चमा ५७ हजार र अप्रिलमा ५४ हजार पर्यटक नेपाल भित्रिएका छन् । २०१५ को फेब्रुअरी, मार्च र अप्रिलमा यो संख्या क्रमशः ५८ हजार, ७९ हजार र ६५ हजार थियो । गत वर्षको मेमा १७ हजार ५६९ पर्यटकमात्र नेपाल प्रवेश गरेका थिए । यो वर्षको मेमा भने ४५ हजार २९८ विदेशी पर्यटक नेपाल आएका छन् । यो अवधिमा भारतीय पर्यटकको आगमन बढेको तथ्यांकले देखाउँछ । सन् २०१५ को पहिलो ५ महिनामा ३४ हजार २०७ भारतीय पर्यटक भित्रिएकोमा यो वर्षको सोही अवधिमा ४८ हजार ५१२ पर्यटक भित्रिएका छन् । भूकम्पपछिको राहत वितरणमा धेरै भारतीय नेपाल आएका थिए । गत वर्षको पहिलो ५ महिनामा ४५ हजार ६४३ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएकोमा यो वर्ष यो संख्या घटेर २७ हजार २१२ मा झरेको छ । छिमेकी मुलुक चीन र भारतबाट नेपालमा सबैभन्दा बढी पर्यटक आउने गरेका छन् । महिना सन् २०१५ सन् २०१६ जनवरी ३८६१६ ३३३६२ फेबु्रअरी ५८५२३ ४४८१० मार्च ७९१८७ ५७८७४ अप्रिल ६५७२९ ५४३८० मे १७५६९ ४५२९८ श्रोत अध्यागमन विभाग
‘प्रहरी मेरो साथी’ अभियानअन्तर्गत घरघरमा स्टिकर टाँस्दै
सप्तरी, ५ साउन । ‘प्रहरी मेरो साथी’ अभियानअन्तर्गत यहाँ आइतबारदेखि प्रहरीले फोन नम्बर अङ्कित स्टिकर टाँस कार्यक्रमलाई निरन्तरता दिएको छ । जिल्लाको पाँच नगरपालिका र ९१ वटा गाविसमा कुल एक लाख २१ हजार घरको मूल ढोकामा प्र्रहरी आफैँ गएर सो स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको प्रहरीले जनाएको छ । नागरिकलाई असुरक्षा महसुस हुने गतिविधिप्रति सजग, सचेत र सतर्क गराउने, अपराधिक घटना कम गर्ने उद्देश्यले प्रहरीको पहुँच छिटो र प्रभावकारी बनाउन एवम् प्रहरी र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउने तथा नागरिकमा शान्ति सुरक्षाको थप अनुभूति दिलाउन यो अभियान सञ्चालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। सो अभियानअन्तर्गत प्रहरीले जिल्लाको प्रत्येक घरका परिवारसँग भेटघाट गर्ने, नागरिकसँग सुमधुर सम्बन्ध स्थापित गर्न प्रयास गर्ने, नागरिक सूचनाका आधारमा फरार अपराधी अभियुक्तलाई पक्राउ गर्नेलगायतका कार्यलाई निरन्तरता दिने प्रहरी उपरीक्षक ढकालले बताए । गतवर्ष मधेस आन्दोलनको समयमा सप्तरीमा प्रहरी र नागरिकबीचको सम्बन्ध चिसिदै गएको बेला यस अभियानलाई निरन्तरता दिएको प्रहरीको भनाइ छ । रासस
सकेसम्म सहमतिको सरकार बनाउन सभामुखको सुझाव
काठमाडौं, ४ साउन । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बेलामा सरकार निर्माण गर्ने विषयमा दलहरु विभाजित हुनु देश र जनताका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन्। स्वास्थ्य मन्त्रालयद्वारा मंगलबार आयोजित खोपसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै सभामुख घर्तीले भनिन् – “जनता दलहरु एकजुट भई संविधान कार्यान्वयन भएको देख्न चाहन्छन्, गणतन्त्र स्थापना र संविधान निर्माणमा एक जुट भएका दलहरु विभाजित हुनु राम्रो होइन ।” दलहरु मिलेर सकेसम्म सहमतिको सरकार निर्माण गर्नु राम्रो हुने सुझाव उनले दिए। “अहिले पनि बालबालिकाले सिटामोल र जीवनजल खान नपाएर अकालमा ज्यान गुमाउने अवस्था विद्यमान नै छ, राजनीतिक परिवर्तन भयो आर्थिक र सामाजिक परिवर्तन साथमा जान सकेन’ – उनले भने । सभामुख घर्तीले समयमै सबै बालबालिकलाई पुग्ने खोप खरिद गर्न र नेपाललाई पूर्ण खोपयुक्त बनाउन सरकारको ध्यानाकर्षण गराए । पूर्णखोपयुक्त घोषणा गरिने अभियान सो अवसरमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले मन्त्रालयले खोप कार्यक्रमलाई उच्च प्राथमिता दिँदै आएको र आगामी दिनमा खोपका प्रकार बढाउँदै जाने तथा सबै बालबालिकालाई आवश्यक मात्रामा खोप लगाउने र नेपाललाई पूर्णखोपयुक्त घोषणा गरिने अभियानमा सरकार लागेको जानकारी दिए । व्यवस्थापिका–संसद्, महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जुकुमारी झाले खोप कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित बनाउन खोप ऐन पारित गरी विनियमावली निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिए । मन्त्रालयका नवनियुक्त सचिव डा सेनेन्द्र उप्रेतीले सबै बालबालिकालाई खोपको पहुँच पु¥याउन मन्त्रालयले प्राथमिकता दिएको बताए । बालस्वास्थ्य महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले हाल नेपालमा ९० प्रतिशतभन्दा माथि खोप व्यवस्था रहेको बताए। कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा नेहाल सिंह, युनिसेफ नेपालका प्रतिनिधि तामो होजुमी, रोटरी क्लबका प्रतिनिधि जया शाह, अर्थ मन्त्रालयका सहसचिव लोकदर्शन रेग्मी, विश्व बैंकका प्रतिनिधि डा मानव भट्टराई र सविन भ्याक्सिन संस्थाका प्रतिनिधि डा जोन अन्डुसरले खोपको व्यवस्थापनका बारेमा प्रकाश पारेका थिए । तीनदिने सो गोष्ठीमा नेपालसहित केन्या, सेनेगल, युगान्डा, मङ्गोलिया लगायत २२ देशका विधायिका र स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता छ । गोष्ठीमा खोपका अनुभव आदानप्रदान समेत गरिने छ । हाल मन्त्रालयले जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई ११ प्रकारका खोप निःशुल्क रुपमा लगाउँदै आएको छ । यी खोपका लागि सविन भ्याक्सिन संस्थाले सरकारलाई आर्थिक एवम् प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । रासस