सेनाको डुंगा खरिदमा बद्‌मासी, करोडकोमा १२ वटा डुंगा खरीद, आर्थिक चलखेलको आशंका

काठमाडौं १७, असोज । नेपाली सेनाले विपद् व्यवस्थापनमा प्रयोग हुने डुंगा खरिद गर्दा नियमविपरीत बदमासी गरिएको पाइएको छ। नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयले विपत बेला प्रयोग गर्नका लागि संभाररथी विभाग स्वदेश प्राप्तीले खरिद गरेको डुंगामा नियमविपरितको काम भएको पाइएको समाचार सोमबारको नेपाल समाचार पत्रमा छापिएको छ । संभाररथी विभागले सो निर्देशनालयलाई चाहिने सामाग्री भन्दै टेन्डर आव्हान गरेको भए पनि टेन्डरमा उल्लेख भएभन्दा बाहिर गएर डुंगा खरिद गरिएको पाइएको छ। विभागले टेन्डर आव्हान गर्दा टिकाउ र भरपर्दो हुनुपर्ने सर्त र प्रावधान राखेको थियो। नेपाली सेनालाई चाहिने डुंगा खरिदका लागि टेन्डर आव्हान गर्दा १० वटा कम्पनीले प्रतिश्पर्धा गरेको भए पनि स्टार इन्टरप्राइजेजले टेन्डर पाएको थियो। सो इन्टरप्राइजेजले अमेरिकी डुंगा कम्पनी एएनएसको स्पेक राखेर टेन्डर बिड गरेको थियो। एएनएस कम्पनीको स्पेक राखेर टेन्डर बिड गरेको भए पनि सो कम्पनीले चीनमा बनेको डुंगा खरिद गरेर सो निर्देशनालयलाई आइतबार हस्तान्तरण गरेको छ। २ करोडको लागतमा खरिद गरिएको १२ वटा डुंगा र त्यसमा प्रयोग हुने सामान खरिद गरेको उच्च सैनिक स्रोतले बतायो। प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई पनि जानकारी नदिई हतार हतार संभाररथी विभागको मिलेमतोमा कमसल खालको डुंगा खरिद गरेको र निर्देशनालायलाई जिम्मा लगाएको स्रोतले बतायो। अमेरिकामा बनेको डुंगाको ५ वर्षको ग्यारेन्टी र १० वर्षको वारेन्टी हुने भए पनि चीनमा बनेको डुंगाको कुनै वारेन्टी तथा ग्यारेन्टी नभएको स्रोतले बतायो।

शुभकामना कार्ड नछाप्न निर्देशन, कार्डको छपाइ फजुल खर्च

काठमाडौं १७, असोज । त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका सबै निकायलाई शुभकामना कार्ड छपाइ नगर्न परिपत्र गरेको छ। शुभकामनाको नाममा फजुल खर्च हुने भन्दै विश्वविद्यालयले ६० आंगिक, विभिन्न अनुसन्धान केन्द्र, डीन कार्यालय र क्याम्पसलाई निर्देशन दिएको समाचार सोमबारको नेपाल समाचार पत्र दैनिकले छापेको छ। शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगले त्रिविलगायत सबै विश्वविद्यालयलाई पत्र पठाएर दशैं, तिहार, नयाँ वर्षलगायतका चाडपर्वमा शुभकामना कार्ड छपाइ गरेर वितरण नगर्न लिखित निर्देशन दिएपछि त्रिविले सबै निकायलाई परिपत्र गरेको हो। दशैंको अवसर पारेर विभिन्न कर्पोेरेट हाउसदेखि सामान्य व्यक्तिलेसमेत कार्ड छाप्ने गरेका छन् । यस्तो कार्ड छपाईले छापई उद्योगलाई राम्रो लाभ हुने भएपनि यसको प्रयोग र महत्व भने निकै घटेको देखिन्छ ।

दसैंमा पानी पर्न सक्ने, मौसमको भर नभएको मौसमविद्को भनाइ

काठमाडौं १७, असोज । दसैं हिलो, मैलो र वर्षा हराएपछिको चाड । मनसुन बिदा भएपछि खुलेको आकाश । मनसुन बिदा हुने बेलामा मनाइने चाड भएको हुनाले पनि कविशिरोमणि लेखनाट पौड्यालले लेखे, ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा ।’ पछिल्ला वर्षमा भने पौड्यालले भनेजस्तो दसैं हुन छाडेको छ । दसैंलाई वर्षा तथा प्राकृतिक प्रकोपले खल्लो बनाइदिएका उदाहरण धेरै छन् । यसपालीको दसैंचाहिँ कस्तो हुन्छ रु जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानबेलुका छिटपुट वर्षा भएपनि टीका लगाउने दिन मौसम पूर्ण सफा रहनेछ । मौसमविद् वरुण पौडेलले भने, ‘मनसुन अति कमजोर अवस्थामा पुगेको छ । ठूलो पानी पर्ने सम्भावनै छैन ।’ बुधबारसम्ममा मनसुन कमजोर भइसक्ने अनुमान छ । मनसुन बिदा हुने बेलामा देखिने पश्चिमी वायु क्रमशः पूर्वतर्फ सरेको महाशाखाले जनाएको छ । बिहानबेलुका गड्याङगुडुङ हुने तथा क्षणिक वर्षा हुने सम्भावना भने रहिरहनेछ समाचार सोमबारको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।