सीएनआईले भन्यो- सीसीडी र सीआरआर घटाएर तरलता अभावको व्यवस्थापन गरौं

काठमाडौं, १२ माघ । नेपाल उद्योग परिसंघ(सीएनआई)ले सीसीडी रेसियो र सीआरआर रेसिया घटाएर तरलता अभावको समाधान गर्नु पर्ने बताएको छ । बुधबार सीएनआईले तरलता अभावका बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै तरलताको व्यवस्थापन नभएसम्म कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो)लाई ८५ः१५ मा ल्याउनु पर्ने बताएको हो । हाल सीसीडी रेसियो ८०ः २० रहेको छ । त्यस्तै, चालु आवको मौद्रिक नीतिले व्यवस्था गरेको अनिवार्य नगद अनुपात(सिआरआर)लाई पनि एक प्रतिशत झार्नुपर्ने उसको सुझाव छ । हाल सिआरआर रेसिया क, ख र ग वर्गका वित्तिय संस्थाका लागि क्रमशः ६, ५ र ४ प्रतिशत रहेको छ । सीएनआईले विकास खर्च न्युन हुनु, रेमिटेन्सको वृृद्धिदर घट्नु, हुण्डी कारोबार नियन्त्रण नभएर अनौपचारिक अर्थतन्त्र सक्रिय रहनु, आइसी ५ र १००० दरका भारुका कारण १५ अर्ब रकम निष्क्रिय रहनु लगायतका कारण तलरता बढेको दावी पनि गरेको छ

‘नेपालको पानी जनताको लगानी’ अभियानमा दैनिक ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता

काठमाडौं, १० माघ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा शुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा दैनिक ५० करोड रुपैयाँ बराबरको आवेदन पर्ने गरेको छ । ऊर्जा मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जा मन्त्री जनार्दन शर्माले स्वदेश तथा विदेशमा रहेका नेपालीले नियमितरुपमा लगानीको प्रतिबद्धता जनाएको र त्यसले मन्त्रालयलाई उत्साहित बनाएको बताए । प्रतिबद्धता रकमअनुसार पहिलो चरणमा एउटा महत्वपूर्ण आयोजनाको छनोट गरेर निर्माण प्रक्रिया सुरु गरिने उनको भनाइ छ । कुनै आयोजनाको प्रारम्भिक लागत रकम जुट्नेबित्तिकै निर्माण अवधि, प्रतिफल तथा सम्पूर्ण जानकारीसहित मन्त्रालयले आवश्यक योजना सार्वजनिक गर्ने मन्त्री शर्माको भनाइ छ । मन्त्री शर्माले भने, “नागरिकबाट प्रतिबद्धता आइसकेपछि लगानी गर्ने आयोजना, त्यसको लागत, निर्माण अवधि र त्यसबाट आउने प्रतिफललगायतका बारेमा लगानीकर्तालाई जानकारी गराइन्छ । नागरिकले पहिलो चरणमा प्रतिबद्धता मात्रै जनाए हुन्छ ।” सो अभियानबाट प्राप्त भएको रकम राष्ट्रिय गौरवको जलविद्युत् आयोजनामा लगानी गर्ने सरकारको योजना रहेको छ । मन्त्री शर्माका अनुसार हालसम्म प्राप्त भएको प्रतिबद्धतामा विदेशमा रहेका युवाको बढी चासो रहेको पाइएको छ । मन्त्रालयका अनुसार आइतबार साँझसम्म दुई अर्ब ५३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ । रासस

एईसीसी ग्लोबल अष्ट्रेलियन एडमिशन डे जेनवरी २०१७ सम्पन्न, ९ सय जना विद्यार्थीहरुको सहभागिता

काठमाडौं, १० माघ । एईसीसीले  ग्लोबल अष्ट्रेलियन एडमिशन डे जेनवरी २०१७ सम्पन्न गरेको छ । कार्यक्रम मार्फत अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति, भर्ना, भिसा तथा आवेदन सम्बन्धी सम्पुर्ण जानकारी लिने अवसर प्रदान गरिएको आयोजकको दावी छ । आइतबार होटल याक एण्ड यतिमा आयोजना भएको उक्त कार्यक्रममा करिव ९ सय जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । शेष घले (अध्यक्ष, एनआरएन)  मेलबर्न ईन्ष्टिच्युट अफ टेक्नोलोजीले पनि कार्यक्रममा उपस्थिती जनाएको आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा नेपालमै पहिलो पटक विदेश अध्ययन सम्बन्धि जिज्ञासाको समाधानका लागि फेसबुक डिस्कशन सेशनको पनि आयोजना गरिएको थियो । कार्यक्रममा अष्ट्रेलियामा एमबीए, बिजनेश प्रोग्राम, विज्ञान तथा ईञ्जिनियरिङ, कम्प्युटिङ, आईटी, टेलिकम्यूनिकेशन, मेडिसिन र नर्सिङ, अध्ययन लगायत अन्य विविध विषयका बारेमा समेत समग्र जानकारी उपलब्ध गराइएको थियो । सहभागीहरुलाई आयोजकले पोष्ट ग्राजुएट र अन्डर ग्राजुएट लेभल मध्य आफ्नो अध्ययन क्षेत्र रोज्न सक्ने अवसर प्रदान गरेको जानकारी दिइएको छ । साथै, तत्काल प्रक्रिया अगाडी बढाई आफ्ना आवेदन विश्वविद्यालय सामु प्रस्तुत गर्ने अवसरपनि कार्यक्रममा प्रदान गरिएको थियो । कार्यक्रम मार्फत विद्यार्थीले आवेदन शुल्क अधित्याग तथा शुल्क रहित प्रोशेसिङ सुविधा, विश्वविद्यालयका प्रतिनीधि सँग प्रत्यक्ष परामर्श लागायत सुविधा प्राप्त गरेका छन् । कार्यक्रममा सहभागीका लागि आईईएलटीएस/पीटीई/टोफल अध्ययनका लागि विशेष प्याकेजको ब्यवस्था समेत गरिएको संस्थाले जानकारी दिएको छ । सहभागीलाई अष्ट्रेलियामा अध्ययन पश्चात चार बर्ष सम्मका लागि कार्य अधिकार (वर्क राइट) पनि प्रदान गरिने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।