भवन भट्टद्धारा पूर्वाधार विकास कम्पनीबाट राजीनामा, लालकृष्ण केसीको हातमा सुरङमार्ग

काठमाडौं, २४ मंसिर । काठमाडौं —हेटौंडा सुरुङमार्गको निर्माण गर्ने जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबाट भवन भट्टले राजीनामा दिएका छन् ।  विहीबार बसेको सञ्चालक समितिको बैठकले भट्टको राजीनामा स्वीकृत गरेको सञ्चालक सुवासचन्द्र ठकुरीले जानकारी दिए । भट्टले १० महिनादेखि पूर्वाधार विकास कम्पनीको अध्यक्ष सम्हाल्दै आएका थिए । ठकुरीका अनुसार भट्टको राजीनामा स्वीकृतपछि बोर्डले अध्यक्षमा लालकृष्ण केसीलाई नियुक्त गरेको छ । भट्टले एनआरएनमा सक्रिय रहनुपर्ने र विदेशमा रहेको व्यवसायमा व्यस्त रहनुपर्ने बाध्यता देखाएर राजीनामा दिएको ठकुरीले जानकारी दिए । उनका अनुसार भट्ट कम्पनीको सञ्चालक भने बस्नेछन् र उनले विदेशी लगानी ल्याउन सघाउने छन् । यसअघि माघ २९ गते बसेको बोर्ड बैठकले केसीलाई सहअध्यक्ष नियुक्त गरेको थियो । तर विभिन्न विवादहरु आएपछि उनलाई सहअध्यक्षबाट हटाइएको थियो । तर, तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई पुनर्बहाली गरेको थियो ।

एन्फाको लापरवाहिका कारण थ्री स्टारले एएफसी कप प्लेअफ खेल्न पाएन

काठमाडौं, २३ मंसिर। थ्री स्टारले एएफसी कप प्लेअफ प्रतियोगिता खेल्न नपाउने भएको छ। नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको लापरवाहीका कारण थ्रीस्टारले उक्त अवसर गुमाएको हो। गत अगस्टमा नेपाली लिग च्याम्पियन थ्री स्टार क्लब मंगोलियामा भएको एएफसी कप प्लेअफ क्वालिफायर्सको विजेता बन्दै एएफसी कप प्लेअफमा छनोट भएपछि नेपाली फुटबलकै लागि खुशीको दिन बनेको थियो। एएफसीले विहिबार एएफसी कप प्लेअफ खेल्ने क्लबहरुको देशको नाम आफ्नो वेवसाइटमा प्रकाशित गर्दा त्यहाँ नेपालबाट कुनै प्रतिनिधितव नदेखेपछि यसबारे नेपाली फुटबल समर्थक सबैको चासो बढेको थियो। थ्रीस्टारको सहभागिताबारे एएफसीले एन्फालाई बारम्बार पत्रचार गरेको तर एन्फाले त्यसलाई वास्ता नगरेपछि डिसेम्वर ६ दुई दिन एएफसीले एन्फालाई अन्तिम पत्र पठाउँदै थ्रीस्टारले प्रतियोगिता खेल्न नपाउने जानकारी गराएको हो। एएफसीले एन्फालाई पहिलोपटक सेप्टेम्वर २६ मा पत्र पठाएको थियो। त्यसपछि अक्टोवर ३०, नोभेम्वर २१ र नोभेम्वर २५ मा गरी टीन पटक पठाएको पत्रको पनि एन्फाले जवाफ नपठाएपछि थ्रीस्टारको खेल्ने सम्भावना कमजोर बनिसकेको थियो। त्यसपछि पनि एन्फाले डिसेम्वर ५ मा एएफसीको पत्रको जवाफ पठाएपनि त्यो ढिला भइसकेको र थ्री स्टारले एएफसी कप प्लेअफमा भाग लिन नसक्ने जनाएको छ। प्रतियोगिताका निर्देशक सिन मान गिलले एन्फाका महासचिव धिरेन्द्र प्रधानलाई सम्बोधन गर्दै पत्र पठाएका छन्। यता थ्री स्टार क्लबलाई भने अहिलेसम्म यसबारे कुनै जानकारी नभएको र एक्कासी एएफसीको वेवसाइटमा जानकारी देख्दा आफुहरु पनि आश्चर्यमा परेको क्लबका महासचिव सन्जिव शिल्पकारले बताए। एएफसी कप प्लेअफमा दक्षिण एसियाली क्षेत्रबाट भारत, माल्दिभ्स र बंगलादेश, भुटान र श्रीलंकाको क्लबको स्थान छ। यतिसम्म मंगोलियाको क्लबलाई समेत प्लेअफमा एक स्थान छुट्याएको छ, जबकी थ्री स्टारले एएफसी कप प्लेअफ क्वालिफायर्समा मंगोलियाकै क्लबलाई हराएको थियो।

घिमिरेको जीप दुर्घटना आपराधिक उदेश्यले हैनः प्रतिवेदन

काठमाडौं, २३ मंसिर । पूर्व गृहमन्त्री माधव घिमिरेको जिप दुर्घटना ट्रकलाई ओभरटेक गर्ने क्रममा गाडी अनियन्त्रित भई भएको पाइएको छ । जीप दुर्घटनामा परी बेपत्ता भएको घटनाका सम्बन्धमा छानविन गर्न गठन भएको छानविन समितिले विहिबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि समक्ष बुझाएको प्रतिवेदनमा सो कुरा उल्लोख गरिएको छ । प्रतिबेदनमा सो दुर्घटना आपराधिक उद्धेश्यले नभएको र दुर्घटना भएको बेला गाडी पूर्बमन्त्री घिमिरेले नै चलाएको पनि उल्लेख छ ।  पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित छानविन समितिले विहिबार गृहमन्त्रालयमा आफ्नो प्रतिवेदन बुझाएको हो । गत असोज ९ गते पोखराबाट काठमाडौं फर्कने क्रममा पूर्बगृहमन्त्री घिमिरे चढेको गाडी चितवनको दारेचोक नजिक घोप्टेभीरमा दुर्घटना भई त्रिशुली नदीमा खसेको थियो । प्रतिबेदन बुझ्दै उपप्रधानमन्त्री निधिले प्रतिवेदन कार्यान्वयन गर्न सरकार लागि पर्ने बताए । सोही समितिलाई धादिङको मार्पाकमा भएको बस दुर्घटनाको समेत छानविनको जिम्मेवारी दिइएको थियो । समितिले विहिबारै सो बस दुर्घटनाको प्रतिवेदन पनि उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र नीधिलाई बुझाएको हो ।