लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार  काठमाडौं महानगरपालिका-१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित दुई, गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल र नगद रु २० हजारसहित दुई र बझाङको केदारस्युँ गाउँपालिका-९ झोता बजारस्थित अनिल होटलबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको हो ।  यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कबाट ब्राउनसुगरसहित तीन, सल्ल्यानको बागचौर नगरपालिका-२ खरिबोटबाट ब्राउनसुगरसहित एक, मोरङको उर्लाबारी नगरपालिका-७ बरगाछीबाट खैरो हेरोइन बोकेका दुई जनालाई एउटा डिजिटल तराजु र नगद १२ हजार ७१० रुपैयाँसहित शुक्रबार पक्राउ गरिएको हो ।  यसैगरी, मोरङ, बेलबारी नगरपालिका–१ सिसौली टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र डाइक्लोमाइन ३ सय ६० ट्याब्लेट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राई, सोही नगरपालिका-१ बस्ने २५ वर्षीय बिकल राई र सोही नगरपालिका-४ बस्ने ३० वर्षीय सुदेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले रोमनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यस्तै, मोरङको उर्लाबारी नगरपालिका-७ बरगाछीबाट एक, नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१६ अमहवाबाट एक, मध्यपुर थिमि नगरपालिका-५ कमेरोटारबाट दुई, बर्दिया, गुलरिया नगरपालिका-८ थपुवाबाट चार, रुकुम पश्चिमको आठविसकोट नगरपालिका-१४ छेपारेबाट एक, चितवनको खैरहनी नगरपालिका-८ चौबिसकोठीबाट एक र सर्लाहीको ईश्वरपुर नगरपालिका-८ रामपुरबाट ५५ किलो गाँजासहित एक जनालाई शनिबार पक्राउ गरिएको हो । 

घरजग्गा व्यवसाय चलायमान बनाउन सहजीकरणको माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले घरजग्गा व्यवसायलाई चलायमान बनाउन आवश्यक सहजीकरणको माग गरेका छन् ।  नेपाल जग्गा तथा आवास विकास सङ्घको १९ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले घरजग्गा क्षेत्रका विद्यमान चुनौती र सरकारले चाल्नुपर्ने नीतिगत कदमबारे ध्यानाकर्षण गराएका हुन् ।  अध्यक्ष कुँवरले सरकारी नीतिको अस्पष्टताका कारण ‘रियल इस्टेट’ व्यवसायी सङ्कटमा परेको र यसले आमनागरिकको आवासमा पहुँचसमेत कठिन बनाएको बताए ।  ‘अस्पष्ट नीतिका कारण व्यवसायी आफ्नो व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्, जुन मुलुकको आर्थिक समृद्धिका लागि डरलाग्दो अवस्था हो’ , उनले भने ।  अध्यक्ष कुँवरले व्यवस्थित बस्ती विकासका लागि ‘रियल इस्टेट’ कम्पनीलाई जग्गा हदबन्दी नलाग्ने व्यवस्था गर्न र निर्मित आवास तथा अपार्टमेन्ट बिक्रीमा रहेका कानुनी बाधा हटाउन माग गरे ।  कित्ताकाटमा हाल देखिएको अस्थायी सहजीकरणलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने, ‘प्लानिङ’ अनुमति प्राप्त कम्पनीलाई नगर विकास समिति सरहको सुविधा दिई ‘ल्याण्ड पुलिङ’ र ‘हाउस पुलिङ’ कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने, एकीकृत सहरी विकास ऐन तथा भूमि संहिता जारी गर्नुपर्ने, मालपोत तथा नापी कार्यालयमा विद्युतीय प्रणाली लागू गरी पारदर्शिता र छरितो कार्यविधि सुनिश्चित गर्नुपर्ने उनको माग थियो ।  अध्यक्ष कुँवरले भने, ‘ यी माग व्यवसायीको हितमा मात्र नभई राष्ट्रको समग्र सामाजिक-आर्थिक विकासका लागि पनि आश्यक छन् । त्यसैले सुरक्षित, दिगो र समावेशी सहरीकरणमार्फत नेपाललाई आधुनिक बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य हुन आवश्यक छ ।’

ढुक्क हुनुस्, देश बनाउँछौं: महामन्त्री शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री भूपदेव शाहले पार्टी नेतृत्वको सरकारले देश विकास गर्नेमा ढुक्क रहन आग्रह गरेका छन् । चितवनको भरतपुरमा शनिबार आयोजित रास्वपा भरतपुर महानगर समितिको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले चुनावी वाचापत्रअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याएकाले जनतालाई गरेको वाचाअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।  महामन्त्री शाहले भने, ‘सरकारले पार्टीले तयार पारेको वाचापत्रलाई प्रतिबद्धता पत्रमा ढाल्यो, त्यसअनुसार बजेटको व्यवस्था गरिएको छ । अब त्यसलाई विकासमा ढाल्नका लागि अगाडि बढिरहेको छ । हामीले सफा नियतका साथ काम गरिएका छौं । जनतासँग गरेका वाचा पूरा गर्न पार्टी र सरकार प्रतिबद्ध छ ।’  उनले पार्टी राजीतिमा दुई किसिमका गुणको सङ्घर्ष हुने गरेको भन्दै पार्टी र देशलाई माया गर्ने गुणलाई साथमा लिएर हिँड्नुपर्नेमा जोड दिए । पार्टीमा योगदान दिने र काम गरिरहने वर्गलाई नथाक्न आग्रह गर्दै महामन्त्री शाहले सबल पार्टीको माध्यममार्फत देश बनाउन लाग्नुपर्नेमा जोड दिए ।  उनले सबल पार्टी बनेमा कम्तीमा दुईरतीन दशक देशको नेतृत्व गर्ने दाबी गर्दै त्यसैले पार्टी बलियो बनाउने बेला आएको बताए । महामन्त्री शाहले भने, ‘अहिले पार्टी निर्माण गर्ने बेला हो, यस अभियानमा योगदान दिनेलाई पार्टीले सोहीअनुसार अवसर दिन्छ । पार्टी महाधिवेशनमा होमिएको छ, चुस्त र बलियो सङ्गठन बनाउन सबैले मेहनत गरौं ।’