प्रधानमन्त्री बालेनसँग संसदमा प्रत्यक्ष सम्बाद
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित भएपछि सांसदहरूलाई प्रत्यक्ष प्रश्न सोध्ने अवसर दिइएको छ । तर, सभामुख डोलप्रसाद अर्यालले प्रत्येक दलका लागि दुई मिनेट मात्र समय निर्धारण गरेपछि विपक्षी दलहरूले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठक सुरु भएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई बोल्न समय दिएका थिए । रोष्ट्रममा पुगेका प्रधानमन्त्रीले आफूलाई सांसदहरूले प्रश्न गर्नसक्ने भन्दै प्रश्नका लागि खुला गर्न आग्रह गरेका थिए । त्यसपछि सभामुखले दलगत आधारमा प्रश्नोत्तरको व्यवस्था गर्दै प्रत्येक दललाई दुई मिनेटको समय उपलब्ध गराएका हुन् । तर, उक्त प्रक्रियामाथि विपक्षी सांसदहरूले नियमावली विपरीत भएको भन्दै विरोध जनाएका छन् । नेकपाका सांसद युवराज दुलालले प्रतिनिधिसभा नियमावलीको दफा ७९ को उपदफा ५६(१) उल्लंघन भएको दाबी गर्दै प्रधानमन्त्रीसँग लिखित प्रश्न सोध्ने व्यवस्था रहेको उल्लेख गरे । उनले स्थापित संसदीय प्रक्रिया मिचेर प्रश्नोत्तर गरिन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे । यस्तै, नेकपा एमालेका सचेतक ऐन महरले पनि नियमापत्ति जनाउँदै प्रश्नोत्तर प्रक्रिया नियमावलीअनुसार हुनुपर्ने बताएका छन् । उनले संसद्को कार्यसञ्चालन स्थापित कानुनी व्यवस्था र नियमको दायराभित्र रहेर गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था संसदमा अपेक्षाकृत दुर्लभ अभ्यास मानिन्छ । तर, समयसीमा र प्रक्रियाका विषयमा उठेको विवादले बैठकमा केहीबेर तनावको अवस्था सिर्जना गरेको थियो । सभामुखले भने प्रश्नोत्तर प्रक्रियालाई अघि बढाउने तयारी गरेका छन् ।
फलाखु खोला जलविद्युतमा एनआईसी एशिया बैंकको ९५ करोड लगानी
काठमाडौं । एनआईसी एशिया बैंकले जलविद्युत क्षेत्रमा लगानी विस्तारलाई तीव्रता दिएको छ । बैंकले रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा रहेको ७.२९ मेगावाट जलविद्युत उत्पादन क्षमता भएको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको हो । एक विशेष कार्यक्रमको आयोजनाका बीच बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले हस्ताक्षर गरे । नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्याउँदै दिगो ऊर्जा विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको यो जलविद्युत आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस आयोजनाको निर्माण कार्य सम्पन्न भएपश्चात वार्षिक करिब ३८.७४ गिगावाट हावर विद्युत उत्पादन हुने जनाइएको छ । यस आयोजनाबाट मुलुकमा स्वच्छ ऊर्जा उत्पादन भई देशको आर्थिक वृद्धि र स्वच्छ वातावरणीय पक्षमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता, महाकालीमा बगेको आशंका
काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्। प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका दुवै जना मामाभान्जा नाता पर्ने बताइएको छ । महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी सुरु भएको उनले जानकारी दिए ।