भैंसीपाटीमा सञ्जीवनी पार्क खण्ड ख निर्माण सम्पन्न

ललितपुर । ललितपुर महानगर वडा नं.२५ स्थित सञ्जीवनी पार्कको खण्ड ख निर्माण सम्पन्न भएको छ । उक्त पार्कको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । प्रमुख महर्जनले ललितपुर महानगरमा ४० वटा भन्दा धेरै पार्क निर्माण सम्पन्न भइसकेको उनले बताए । उनले भने, ‘पार्क निर्माको श्रृंखलामा यो पार्क थपिएको एक अर्को पार्क हो । ललितपुर महागरको वडा नं.२५ मा नै रहेको सञ्जीवनी पार्कको खण्ड कको निर्माण सम्पन्न यस अघि नै भइसकेको छ ।’ महानगर प्रमुख महर्जनले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन महानगरले सशक्त रुपमा काम गरेको बताए । ललितपुर महानगर वडा नं.२५ का वडा अध्यक्ष दौलतविक्रम खत्रीले महानगरले विभिन्न वडामा बनाएको पार्कले सहरको सौन्दर्य बढाएको प्रष्ट पारे । खाली जमिनमा आकर्षक पार्क निर्माणले वडालाई सुन्दर बनाएको उनको भनाई थियो । पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष रवि विष्टले ७५ लाखको लागतमा संजिवनी पार्क खण्ड ख निर्माण सम्पन्न भएको जानकारी दिए ।

अन्न नउब्जने भिरालो जमिनमा ‘वनतरुल’ खेती

फिक्कल । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती सुरु गरेका हुन् । हात्तीढुङ्गे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार वार्षिक २५ हजार रुपैयाँ भाडा तिर्नेगरी भिरालो जग्गामा तरुलखेती सुरु गरिएको हो । समूहलाई माङसेबुङ गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको छ । माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूलखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो । किसान समूहले वनतरुलसँगै गिठा र भ्याकुरको समेत खेती गर्दै थालेको छ । हाल बगानमा १६ हजार बोट वनतरुल, चार सय ५० बोट भ्याकुर र एक सय ५० बोट गिठा हुर्काएको छ । तीन वर्षपछि मात्र तरुल उत्पादन हुने जनाइएको छ । खेती विस्तारका लागि बीउ जङ्गलबाट नै सङ्कलन हुने गरेको छ । गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एकपटक बीउ रोपेपछि पटकपटक रेखदेख गर्नु नपर्ने भएकाले तरुलखेती अन्य खेतीभन्दा सजिलो भएको उनले बताए ।

आयातित फर्निचर हटाएर स्थानीयस्तरमै उत्पादन बाँस प्रयोग, राष्ट्रपतिसहित ६ उच्चपदस्थलाई उपहार

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलसहित नेपालका उच्चपदस्थ ६ जना व्यक्तिलाई बाँसबाट निर्मित कुर्सी र टेबल उपहार दिने तयारी गरेको छ । नगरपालिकाले राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा वली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई यही महिना बाँसबाट बनाइएका एउटा कुर्सी र टेबल उपहार दिने तयारी गरेको हो । स्थानीय स्रोत तथा साधन उपयोग गरी निर्माण गरिएका सामग्रीको उपयोग गर्न नीतिगत रूपमा निर्णय गरी त्यसलाई कार्यान्वनयन गर्न माग गर्दै उच्चपदस्थ ६ जना व्यक्तिलाई बाँसबाट बनाइएका कुर्सी र टेबल उपहार दिने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । ‘स्थानीय स्रोत तथा साधन उपयोग गरेर बनाइएका सामग्री उपयोग गर्न दबाब सिर्जना गर्न बाँसबाट निर्मित कुर्सी र टेबल दिने तयारी गरिएको हो । यसमध्ये कुर्सी आज काठमाडौं पठाइएको छ । टेबल भने केही दिनपछि पठाउने तयारीमा छौँ,’ उनले भने, ‘बहुउपयोगी बाँस बिनाउपयोग त्यत्तिकै खेर गइरहेका छन् । यसलाई उद्योगका रुपमा विकास गर्दै उपयोगमा ल्याउनसके खर्बौंको आम्दानी गर्न सकिन्छ । बाँसको उपयोगसम्बन्धी नीतिगत रूपमा निर्णय गरी कार्यान्वनयन गर्न÷गराउन दबाबस्वरुप राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थ छ जना व्यक्तिलाई बाँसबाट बनाइएका कुर्सी र टेबल उपहार दिने तयारी गरिएको हो ।’ नगर प्रमुख भट्टराई र उपप्रमुख विशन राईले आफ्नो कार्यकक्षमा स्थानीयस्तरमा उत्पादन गरिएका बाँसकै फर्निचर प्रयोग गरेका छन् । अघिल्लो नगर सरकारका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले प्रयोग गरेका सुविधायुक्त आयातित फर्निचर हटाएर नगर प्रमुख भट्टराई र उपप्रमुख राईले स्थानीय कासिन्दा एवं उद्यमीले स्थानीयस्तरमै उत्पादन गरेका बाँसका फर्निचर खरिद गरेर प्रयोग गरेका हुन् । बाँस उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवं उद्यमीलाई तालिम तथा सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका स्थानीय बासिन्दा एवं उद्यमीले उत्पादन गरेका बाँसका विभिन्न प्रकारका घरेलु सामग्री दिक्तेलस्थित सपिङ कम्प्लेक्समा सञ्चालित कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ । जिल्लाको सबैभन्दा ठूलो (१५ वडा रहेको) नगरपालिकाभित्र अत्यधिकमात्रामा मलीबाँस, ढुङ्ग्रे र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङ्गो बाँस, सिगानो बाँस, निगालो बाँस, मुक्तियालीलगायत १३ किसिमका बाँस पाइन्छन् । पूर्वी पहाडी जिल्ला खोटाङमा पशुपालनका लागि घाँस, घरेलु सामग्री निर्माण तथा सांस्कृतिक काममा बाँस उपयोग गरिँदै आइएको छ । नगरपालिकाले बाँसलाई जीवनोपयोगी बनाउँदै बाँससम्बन्धी उद्योगहरु सञ्चालनमा ल्याएर नगरवासीका लागि रोजगारी सिर्जना गर्ने उद्देश्यले तीनदिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन-२०८१’समेत सम्पन्न गरेको छ । गत फागुन १५, १६ र १७ गते दिक्तेलमा सञ्चालन भएको राष्ट्रिय बाँस सम्मेलनले बाँस सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरेको छ । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित फागुन १५ गते सुरु गरिएको बाँस सम्मेलन बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको छ । खोटाङ घोषणापत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतका रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रीय अर्थतन्त्रको प्रवद्र्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिनसक्ने विश्वास गरिएको छ । सम्मेलन अवधिभर बाँससँग सम्बन्धित नीतिनिर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरणलगायत विषयमा ४४ जना विज्ञ तथा अध्येताबाट प्रस्तुत भएका २३ वटा कार्यपत्रको निचोडका आधारमा ‘खोटाङ घोषणापत्र’ जारी गरिएको हो ।