कर संकलनका लागि महानगरले थाल्यो स्थलगत अनुगमन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ । कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण सङ्कलन गर्नका लागि स्थलगत अनुगमन थालिइएको हो । कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले सम्पत्ति कर, वहाल कर र व्यवसाय कर बुझाउनुपर्ने दायित्व भएका करदातामध्ये अग्रिम कर बुझाउनेप्रति आभार प्रकट गर्न, छुट सुविधाका विषयमा जानकारी दिन, कर नियमित तिर्नका लागि प्रोत्साहन गर्न वडामा स्थलगत अनुगमन सुरु गरिएको जानकारी दिए । प्रत्येक वडाले वडा सदस्यको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ । टोलीमा कर्मचारी एकजना र स्थानीयमध्ये एकजना सदस्य रहने व्यवस्था रहेको छ । टोलीले सचेतनाका साथै कर तिर्नका लागि वडामा आउन वा अनलाइनबाट तिर्न मौखिक अनुरोध गर्नेछ । मौखिक अनुरोधको अटेर गर्नेलाई वडा सचिवमार्फत पत्राचार हुनेछ । स्थलगत अवस्थाको विवरण सङ्कलन गर्नेछ । सङ्कलित विवरण अनुसार तथ्याङ्क तयार पारी राजस्व विभागका पेस गर्ने बताइएको छ । ‘सात तले घरले सात हजार बहाल सम्झौता देखाएका छन् । जवकि हरेक भूमिगत तला र जमिन तला व्यावसायिक प्रयोजनमा देखिन्छन् । त्यस माथिका तला वहालमा लगाइएको छ । एउटै तलामा सात भन्दा धेरै कोठा छन् । हरेक कोठाको सात हजारभन्दा धेरै वहाल उठाउने गरिएको छ । यसरी करदाताले झुटो विवरण दिएपछि स्थलगत अनुगमन थालिएको हो’ उनले भने । विगतका वर्ष भन्दा चालु आर्थिक वर्षमा क्रमिक रुपमा करतादाको सङ्ख्या बढेपनि अपेक्षाकृत सबै करदाता कानुनी दायरामा नआएको कामपाको भनाइ छ । कामपाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको जनाएको छ । चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको छ । चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए । त्यसैगरी सम्पत्ति करबाट २५ करोड रुपैयाँ असुल भएको छ । गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करतादा बढेका छन् । अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन् ।

प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोकसँगै अनुगमन

गण्डकी । प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको पोखरा महानगरपालिकाले त्यसको अनुगमनलाई तीव्रता दिएको छ । गत वर्षदेखि नै प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाउन सुरु गरेको महानगरपालिकाले यसवर्ष पनि औपचारिक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूूलमाला बिक्री वितरणमा रोक लाएको थियो । यही मङ्सिर १६ गते प्लास्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न सूचना जारी गरेको महानगरपालिकाले बजारमा अनुगमन कार्यलाई तीव्रता दिएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। प्लास्टिकजन्य फूलमालाका कारण वातावरणमा पार्ने असर रोक्नुका साथै स्थानीय फूल उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ बिक्री वितरणमा रोक लगाइएको जानकारी दिँदै उनले सोमबार पोखराका १२ वटा पसलमा अनुगमन गरिएको बताए । महानगरपालिका उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा गरिएको अनुगमनका क्रममा सात पसललाई कारबाही र रु ४० हजार जरिवाना गरिएको छ भने रु एक लाख नौ हजार नौ सय १० बराबरको सामान जफत गरिएको महानगरपालिकाले जनाएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी गत वर्ष २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरी सोही मितिदेखि प्लास्टिकजन्य फूूलका गुुच्छा उत्पादन आयात, बिक्री वितरण वा भण्डार गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो । नेपाल सरकारको उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ को दफा २२ को उपदफा ४ को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले प्लास्टिकजन्य फूलमालाले वातावरणमा समेत असर पर्ने भएकाले अनुुगमन गरिएको बताउँदै अघिल्लो वर्ष व्यवसायीले गुनासो गरेकामा अहिले आफैँले हटाएर सहयोग गरेको बताए । महानगरपालिकाले यस वर्ष सयपत्री फूलको बीउमा ५० प्रतिशत अनुदान दिएको थियो । रासस

एकदिन अघिनै म्ह पूजा र भाइटीका मनाउन नगरपालिकाको निर्देशन

भक्तपुर । भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटीका मनाउने भएका छन् । नगरपालिकाले सार्वजनिक सूचनानै जारी गरेर २७ गते म्ह पूजा र २८ गते भाइटीका मनाउन निर्देशनात्मक रुपमा आह्वान गरेको छ । यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा ज्योतिष डा वीरेन्द्रप्रसाद कायष्थ एवं ज्योतिष केदारप्रसाद दैवज्ञ, तलेजुका पुजारी प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्यसहितको छलफलपछि यस्तो निर्णय गर्दै आफ्ना नागरिकका लागि सार्वजनिक सूचना जारी गरेको नगर प्रमुख प्रजापतिले बताए । पञ्चाङ्ग निर्णयक समिति यसवर्ष कात्तिक २५ गते काग तिहार, २६ गते लक्ष्मीपूजा, २७ गते गाई तिहार, २८ गते गोबद्र्धन तथा म्ह पूजा र २९ गते भाइटीका एवं किजा पूजा गर्ने निर्णय गरेको थियो । तर भक्तपुर नगरपालिकाले भने २६ गते अपरान्ह २ बजेर १४ मिनेटपछि औंसी तिथि लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कात्तिक २७ गते अपरान्ह २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकोले त्यसदिन साँझ म्हः पूजा गर्ने र कात्तिक २८ गते अपरान्ह २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकोले सो दिन किजा पूजा अर्थात भाइटीका गरेर तिहार सम्पन्न गर्न आह्वान गरेको छ ।