एमालेको महाधिवेशनलाई ख्याल गर्दै नागढुङ्गा-मलेखु सडक २ दिन बन्द नहुने
काठमाडौं । दैनिक ५ घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडक खण्ड आज र भोलि (शुक्रबार र शनिबार) का लागि खुला गरिएको छ । नेकपा (एमाले) को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ । २ दिनका लागि सडक बन्द नगरिने आयोजनाले जनाएको छ । त्यसपछि भने कार्यतालिका अनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा-मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए । उनले भने, ‘स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौंको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मङ्सिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०:३० देखि दिउँसो ३:३० सम्म दैनिक ५ घन्टा बन्द गरेर काम गरिरहेका थियौँ, एमालेको महाधिवेशनलाई ख्याल गर्दै सवारी चाप र सम्भावित सडक जामलाई मध्यनजर गरी सडक बन्द नगर्ने निर्णय लिएका छौँ ।’ युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि २ दिन सडक खुला गरिदिन आग्रह गरेका थिए । सडक विभागले काठमाडौं जिल्लाभित्र पर्ने नागढुङ्गा-पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे-मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ ।
नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकियो
काठमाडौं । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको नारायणगढ-बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा एउटा पुलमात्र निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले जानकारी दिए । सूचना अधिकारी खनालका अनुसार लामा पुलमा पनि २ सय मिटरभन्दा लामा गिरुवारी खोला, अरुण खोला र विनयी खोलाको पुलमध्ये अरुण खोलाको पुलमात्र निर्माणको काम बाँकी छ । अरुण खोला पुलको काम अन्तिम चरणमा रहेको छ । निर्माण गरिएका पुलमध्ये कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा ‘एप्रोच’ सडकको काम भइरहेको छ । केही दिनमा यी पुलबाट सवारी सञ्चालन हुने छ । ‘पुलहरू बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ, एउटा अरुण खोलाको पुलमा केही काम बाँकी छ, त्यो पनि चाँडै सकिन्छ,’ सूचना अधिकारी खनालले भने । दाउन्ने खण्डमा केही कल्भर्टको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माणसमेत अन्तिम चरणमा चलिरहेको छ । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा दाउन्ने बाहेकका क्षेत्रमा कालोपत्रको धेरैजसो काम भएकाले यात्रा सहज बनेको छ । दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुनसकेको छैन । नारायणगढ-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । नारायणगढ-बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक २०८३ असारसम्म म्याद थप गरिएको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किलोमिटरमा ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेको १४ किलोमिटर क्षेत्रमा ३ लेनको सडक निर्माण हुनेछ ।
१.५० अर्ब खर्च गरेर हुवासिन सिमेन्ट आफैंले बनायो सब स्टेसन, बिजुली जाने समस्याबाट मुक्त
रमेश लम्साल काठमाडौं । भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ । बेरोजगारीलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन लाभ । एउटा उद्योग स्थापनापछि राज्यले कर मात्रै होइन, ठूलो धनराशि लगानी गर्नुपर्ने विद्युतीय सब स्टेसनको लाभसमेत पाएको छ । त्यो हो धादिङको मलेखुमा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेसन । प्रक्रिया निकै लामो हुने हुँदा उद्योगले सरकारी प्रावधानअनुसार पछि सोध भर्ना गर्ने गरी आफ्नै लगानीमा मलेखु नजिकै सिद्धलेख गाउँपालिका वडा नम्बर ६ मा हुवासिन नारायणी सिमेन्ट उद्योगले १३२ केभीको सबस्टेसन निर्माण गरेको थियो । विद्युत् प्रसारण लाइनका अनगिन्ती टावर र तारले जेलिए पनि धादिङ जिल्ला विद्युतको भरपर्दो सुविधाबाट लामो समयदेखि वञ्चित थियो । जिल्लाभर विद्युत् नपुगेको, पुगे पनि सामान्य हुरीबतासमा बत्ती जाने समस्या थियो । हाइ भोल्टेजले विभिन्न विद्युतीय उपकरण जल्ने पड्किने जस्ता समस्याबाट पीडित थिए । स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण तथा जिल्लामा क्रियाशील राजनीतिक नेतृत्वलाई पटकपटक गुनासो पोख्दै आएका थिए । ठूला उद्योगलाई विद्युत् उपलब्ध गराउनुपर्ने राज्यको दायित्व हो । लगानी बोर्डको संयोजनमा धादिङमा स्थापना भएको चिनियाँ लगानीको सिमेन्ट उद्योग हुवासिन सिमेन्टले पनि सरकारले सडक तथा विद्युत् उपलब्ध गराउने सर्तमा लगानी गर्ने निर्णय गरेको थियो । उद्योग आफैंले निर्माण गरेको सब स्टेसनका कारण जिल्लामा थप सहज भएको छ । मलेखु सब स्टेसनका कारण धादिङमा सहज रूपमा विद्युत् प्रवाहका अलावा अन्य प्रत्यक्ष फाइदा भएको हुवासिन नारायणी सिमेन्ट उद्योगका उप-महाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए । मलेखु सब स्टेसनका इन्चार्ज विश्व जीत यादवका अनुसार धादिङ र आसपासका क्षेत्रमा सहज बिजुली आपूर्तिका लागि ठूलो काम भएको छ । उनका अनुसार विगतमा सल्यानटारबाट धादिङ बेँसी र आसपासमा क्षेत्रमा बिजुली प्रवाह हुने गर्दथ्यो । अन्य कुनै विकल्प थिएन । यो सब स्टेसनको निर्माणपछि बिजुली कम हुनेबित्तिकै सहज प्रवाह हुने गरेको छ । यसबाट धादिङ बेँसी र अन्य क्षेत्रमा विद्युतको गुणस्तर तथा भोल्टेजको समस्यामा ठूलो सुधार आएको उनले बताए । मलेखु सब स्टेसनका कारण राजमार्गका अलावा धादिङका धेरै स्थानमा सहज बिजुली आप्रवाह भएको र यो खुसीको विषय भएको उनको भनाइ छ । उद्योगले निर्माण गरेको सब स्टेसनले अहिले धादिङमा मात्रै लाभ पुगेको छैन प्राधिकरणलाई समेत यसले ठूलो प्रतिफल दिएको छ । प्राधिकरणले लामो समयदेखि जिल्लाभरको गुनासो सम्बोधनका लागि सोही सब स्टेसनबाट जिल्लाभरको विद्युत् वितरण प्रणाली सुदृढीकरण गरेको छ । केही महिनाभित्र नै सोही सब स्टेसनबाट नै जिल्लाभर भरपर्दो विद्युत् वितरण गर्ने तयारी भइरहेको धादिङ वितरण केन्द्रले जनाएको छ । हाल सो वितरण केन्द्र मातहत ६६ हजार १८० ग्राहक छन् । १ अर्ब ५० करोड रुपैयाँको लगानीमा स्थापना गरेको उक्त सब स्टेसनले धादिङ जिल्लामा औद्योगिकीकरणको बाटो पनि खुलेको छ । विगतमा जिल्ला सदरमुकाम धादिङ बेँसीमा नुवाकोटको देवीघाटबाट प्रवाह भएको बिजुली लामो एवं कम क्षमताको प्रसारण लाइनका कारण गुणस्तरीयताको अभाव थियो । सामान्य हुरीबतास चल्ने बित्तिकै लाइन काटिने र लामो समयसम्म अँध्यारोमा बस्नुपर्ने अवस्था थियो । धादिङ र गोरखामा निर्माण भएका साना जलविद्युत् आयोजना जोड्न समेत समस्या थियो । उद्योग आफैंले सबस्टेसनदेखि उद्योगस्थल ताल्दीसम्म १४ किलोमिटर लामो प्रसारण लाइन र १३२ केभी/१० केभी सब स्टेसन निर्माण गरेको छ । सो उद्योग पूर्ण क्षमताका चलेको समयमा कुल २० मेगावाट विद्युत् खपत गर्छ । जिल्लाको बसेरी र सल्यानटारमा रहेको सब स्टेसनमा कुनै समस्या आएको खण्डमा वैकल्पिक रूपमा बिजुली प्रवाहका लागि समेत उपयुक्त छ । कुल ४.५ मेगावाट क्षमताको विकास हाइड्रोपावर, ४.९८ मेगावाट क्षमताको रिचेत र २ मेगावाट क्षमताको माथिल्लो रिचेतसमेत बसेरी, सल्यानटार सबस्टेसन हुँदै मलेखु सबस्टेसनमा जोड्न सकिने गरी व्यवस्था मिलाइएको छ । यस्तै, ८ मेगावाट क्षमताको आँखुखोला जलविद्युत् आयोजनाको बिजुली प्रवाहका लागि समेत सहज भएको छ । बेनीघाट रोराङ गाउँपालिकाको ताल्दीमा रहेका सो उद्योगले स्थानीय क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिएको छ । सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाका अनुसार उद्योगका कारण आफ्नो गाउँपालिकामा विकास निर्माणको काम सहज भएको छ । उद्योगका कारण स्थानीय कृषि उपजको बिक्री बढेको, स्थानीयले रोजगारी पाएको तथा होटल व्यवसायमा बढोत्तरी भएको गाउँपालिका अध्यक्ष थपलियाले उल्लेख गरे । सो उद्योगको दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ । लगानी बोर्डको संयोजनमा प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियाका माध्यमबाट नेपाल आएको सो उद्योग स्थापनाका सम्बन्धमा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ गते हस्ताक्षर भएको थियो । उद्योगमा ३५० जनाले प्रत्यक्ष र १ हजारले अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् । नेपालमा हाल करिब ४० लाख मेट्रिक टन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कुल जडित क्षमता ५५ लाख मेट्रिक टन पुगिसकेको भए पनि पछिल्ला दिनमा सुस्तता आएको छ । रासस