जलजलामा उत्कृष्ट १० उद्यमी घोषणा, एसएमएस​​​​​​​ भोटिङबाट २५ प्रतिशत मूल्याङ्कन

काठमाडौं । म्याग्दीको जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धि मुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत उत्कृष्ट १० भित्र छनौट भएका पालिका भित्रका उद्यमीहरुलाई सम्मान गरिएको हो । उत्कृष्ट २० उद्यमीमा समेटिएकामध्ये उनीहरुको उद्यमको स्थलगत अनुगमनतर्फ ७५ प्रतिशत र एसएमएस भोटिङतर्फ २५ प्रतिशतको मूल्याङ्कनबाट उत्कृष्ट १० उद्यम घोषणा गरी मङ्गलबार सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले जानकारी दिए । उनका अनुसार, उत्कृष्ट १० उद्यमीलाई ४० प्रतिशत थप रकम साझेदारी गरी प्रविधि खरिदका लागि जनही नगद १ लाख रुपैयाँ नगद सहयोगसमेत गरिएको छ । उत्कृष्ट उद्यमीको रुपमा टपरी एग्रो प्रालिकी जमूना आचार्य, जलजला कृषि तथा पशुपंक्षी फर्मकी शुभकुमारी कार्की, अभिषेक तरकारी तथा पशुपंक्षी फर्मकी सावित्री खत्री, थापा लोकल मार्टकी कमला बानियाँ थापा, मल्ल ढाका उद्योगकी उषा मल्ल, गोमा गाइभैँसी फर्मका तोपबहादुर क्षेत्री,पाईजा अर्गानिक फलफूल तथा पशुपंक्षी फर्मकी बसन्ती पाइजा, पाइजा नर्सरी फर्मका नरबहादुर पाइजा, राधादेवी पशुपंक्षी तथा कृषि फर्मकी राधिका भुसाल र हरि सुन्तला बगैँचा तथा पशुपंक्षी फर्मकी ताराकुमारी रेग्मी छनौट भएका हुन् ।  गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम लगायतले उत्कृष्ट उद्यमीलाई सम्मान गरे । उद्यमी सम्मान गर्दै पर्यटन मन्त्री बस्यालले जलजला तरकारी, फलफूल, पशुपालन र लघुउद्यममा सम्भावना युक्त रहेको बताए । ‘अहिले गाउँमा युवापुस्ता पाउनै मुस्किल छ, स्थानीय स्रोतसाधनमा आधारित उद्यमशिलतालाई बढावा दिनुपर्छ, स्वदेशमै स्वरोजगार र आत्मनिर्भरतासँगै रोजगारका अवसर सिर्जना गर्नेतर्फ प्रदेश सरकारले जोड दिएको छ,’ मन्त्री बस्यालले भने ।  यस कार्यक्रममार्फत  गत आव २०८१/२०८२ मा उत्कृष्ट २० मा छनौट भएका उद्यमीहरुलाई न्यूनतम् ५० हजार रुपैयाँ बराबरको प्रविधि खरिदका लागि जनही नगद २५ हजार रुपैयाँ पुरक अनुदान प्रदान गरी सकिएको छ भने ४० भित्र परेका तर उत्कृष्ट २० बाट बाहिरिएका २० जना उद्ययमीलाई यो आर्थिक वर्षमा ३४ हजार बराबरको प्रविधि खरिदका लागि जनही नगद २० हजार रुपैयाँ बराबरको पुरक अनुदान प्रदान गरिने भएको छ । उत्कृष्ट २० बाट छानिएर आएका १० जना उद्यमीमध्ये एक जनालाई पालिकाको सर्वोकृष्ट उद्यमी घोषणा गरिने कार्यक्रमका फिल्ड अफिसर भगवती पुनले जानकारी दिइन् । सर्वोकृष्ट हुने एक जना उद्यमीहलाई उद्यमशीलता विस्तारका लागि थप १ लाख ५० हजार रुपैयाँको दरले पुरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस कार्यक्रमले उद्यमीहरुलाई उद्यमको योजना निर्माण, उद्यमीलाई वृद्धिमुखी योजनासम्बन्धी तालिम दिने, नव प्रवर्द्धनसम्बन्धी प्रविधि सहयोगमा सहयोग गरेको छ । जलजलामा प्रदेश सरकारको ४० लाख रुपैयाँ, पालिकाको २० लाख रुपैयाँ र  दायित्व संस्थाको १५ लाख रुपैयाँ बजेटबाट सञ्चालित यस कार्यक्रमले पालिकामा उद्यम प्रवर्द्धन र रोजगारी सिर्जनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रम जलजलासँगै बागलुङको बडीगाड गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका, तनहुँको म्याग्दे गाउँपालिका, नवलपुरको हुक्सेकोट गाउँपालिकामा सञ्चालित छ । 

युरोपमा हाइब्रिड कारको बजार हिस्सा ३४.५ प्रतिशत पुग्यो

काठमाडौं । सन् २०२५ मा युरोपेली उपभोक्ताहरूका लागि हाइब्रिड–इलेक्ट्रिक सवारी साधनहरू सबैभन्दा लोकप्रिय पावर विकल्पका रूपमा उभिएका छन् । मंगलबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार हाइब्रिड कारहरूले विशुद्ध पेट्रोल–सञ्चालित कारहरूलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेका हुन् ।      युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिइए) का अनुसार सन् २०२५ मा युरोपेली सङ्घ (इयु) भर करिब १८ लाख नयाँ सवारी साधन दर्ता भएका थिए । यो अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतको वृद्धि हो । यद्यपि, एसिइएले जारी गरेको विज्ञप्तिमा नयाँ कार बिक्री अझै पनि कोभिड–१९ महामारीअघिको स्तरभन्दा धेरै तल रहेको उल्लेख गरिएको छ ।      समग्र बिक्रीमा सामान्य वृद्धि देखिए पनि उपभोक्ताहरूको रोजाइ स्पष्ट रूपमा वैकल्पिक ऊर्जा प्रविधितर्फ सरेको देखिन्छ । हाइब्रिड र ब्याट्री–इलेक्ट्रिक सवारी साधनहरूको माग निरन्तर बढिरहेको तथ्याङ्कले पुष्टि गरेको छ । गत वर्ष हाइब्रिड–इलेक्ट्रिक सवारी साधनको बिक्री १३.५ प्रतिशतले वृद्धि भई इयुको कुल नयाँ कार बिक्रीको ३४.५ प्रतिशत पुगेको छ । यसले हाइब्रिड कारलाई पेट्रोल कारभन्दा स्पष्ट रूपमा अगाडि राखेको छ । पेट्रोल कारको बजार हिस्सा २६.६ प्रतिशतमा सीमित रहेको थियो ।      यसैबीच, ब्याट्री–इलेक्ट्रिक सवारी साधनहरूको बिक्री ३० प्रतिशतले बढेर समग्र बिक्रीको १७.४ प्रतिशत पुगेको छ । एसिइएले भने सन् २०२४ मा कमजोर आधारबाट सुधार आएको जनाउँदै इयुले तय गरेका सङ्क्रमण तथा वातावरणीय लक्ष्यहरू हासिल गर्न अझै तीव्र वृद्धि आवश्यक रहेको बताएको छ ।      प्लग–इन हाइब्रिड सवारी साधनको बिक्री पनि गत वर्ष बढेको देखिएको छ । तर, परम्परागत पेट्रोल र डिजेल सवारी साधनको बिक्री भने उल्लेखनीय रूपमा घटेको छ । पेट्रोल र डिजेल कारको संयुक्त बजार हिस्सा सन् २०२४ मा ४५.२ प्रतिशत रहेकोमा सन् २०२५ मा घटेर ३५.५ प्रतिशतमा झरेको छ ।      कार निर्माताहरूको हिसाबले हेर्दा फक्सवागन समूहले सन् २०२५ मा आफ्नो बिक्री ५.५ प्रतिशतले बढाउँदै युरोपमा सबैभन्दा धेरै कार बिक्री गर्ने निर्माताको रूपमा आफ्नो अग्रता अझ बलियो बनाएको छ । फ्रान्सको रेनोले पनि समान स्तरको वृद्धि दर्ता गरेको छ ।    तर, प्युजो, फिएटलगायत थुप्रै युरोपेली ब्रान्डहरू समेटिएको स्टेलान्टिस समूहको बिक्री भने ४.७ प्रतिशतले घटेको छ । चिनियाँ कार निर्माता बिवाइडीले इयुमा आफ्नो बिक्री गत वर्ष तीन गुणासम्म बढाएको छ, यद्यपि यो वृद्धि तुलनात्मक रूपमा सानो आधारबाट भएको हो ।      एमजी ब्रान्डको स्वामित्वमा रहेको चीनको एसएआइसी मोटरको बिक्री पनि करिब एक तिहाइले बढेको तथ्याङ्कले देखाएको छ । यसले युरोपेली बजारमा चिनियाँ ब्रान्डहरूको उपस्थिति विस्तार हुँदै गएको सङ्केत गरेको छ ।      यसको विपरीत, अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको बिक्री सन् २०२५ मा करिब ३८ प्रतिशतले घटेको छ । एसिइएका अनुसार कम्पनीका प्रमुख अर्बपति एलोन मस्कसँग जोडिएका राजनीतिक विवादहरूले युरोपमा टेस्लाको ब्रान्ड छविमा नकारात्मक असर पारेको छ । मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्नुका साथै जर्मनीको अति–दक्षिणपन्थी एएफडी पार्टीप्रति समर्थन जनाएपछि टेस्लाको प्रतिष्ठामा क्षति पुगेको विश्लेषकहरूको भनाइ छ । रासस

ऊर्जा क्षेत्रका समस्या संसदमा उठान गर्न मेरो उम्मेदवारी हो: भरत पराजुली

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का कार्यसमिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिन्धुपाल्चोक-१ का उम्मेदवार भरत पराजुलीले ऊर्जा क्षेत्रका मुद्दाहरु संसदमा उठान गर्नको लागि संसदीय निर्वाचनमा होमिएका बताएका छन् । मंगलवार इप्पानले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पराजुलीले नेपालको समृद्धिको मुख्य आधार मानिएको ऊर्जा क्षेत्रमाथि सबैतिरबाट आक्रमण हुँदा यसको सम्भावना सम्भावनामै सीमित हुन लागेकाले संसदमा ऊर्जा क्षेत्रका समस्या र समाधानको बहस उठान गर्नको लागि आफूले सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका हुन् ।  पराजुलीले नेपालमा रहेका ठूला १३ वटा उद्योगमा लाइन काट्दा ४० हजारको रोजगारी प्रभावित हुनुका साथै ५०० मेगावाट विद्युतसमेत खपत नभएको स्मरण गराएका थिए ।  ‘१३ वटा उद्योगको लाइन काट्दा ४० हजार व्यक्तिको रोजगारी प्रभावित भयो । ५०० मेगावाट विद्युत खेर गयो । अब देशमा १३ वटा मात्र होइन १३ लाख उद्योग सञ्चालन हुने वातावरण बनाउन र लाखौ नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन  म राजनीतिमा होमिएको हुँ ।’ पराजुलीले भने, ‘दलभित्र नेता फोहोर भए भनेर मात्रै भएन, त्यो फोहोर सफा गर्न म मैदानमा निस्किएको हुँ ।’ इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीका समस्या समाधान गर्नका लागि ऊर्जा क्षेत्र बुझेका धेरै जना व्यक्तिहरु संसदमा जान आवश्यक रहेको भन्दै पराजुलीको उम्मेदवारीलाई आफ्नो नैतिक समर्थन रहेको बताए । उनले आगामी निर्वाचनपछि  ऊर्जा क्षेत्रलाई नजिकबाट बुझेका कम्तिमा आधा दर्जन व्यक्तिहरु प्रतिनिधिसभामा आउनुपर्नेमा जोड दिए । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रका वारेमा जानकार व्यक्तिहरु जुनसुकै राजनीतिक दलबाट निर्वाचनमा होमिए पनि आफ्नो समर्थन रहने बताए । ‘हिजोका दिनमा ऊर्जा उद्यमीहरु स्वतन्त्र रुपमा आफ्नो पेशा व्यवसाय गर्दै आएकोमा राजनीतिक दलहरुले ऊर्जा क्षेत्र बुझ्नै सकेनन् । अब सबै राजनीतिक दलभित्र ऊर्जा क्षेत्रमा सक्रिय मानिसहरु संग्लग्न भएर पहिला दलको मुल एजेण्डामा ऊर्जा क्षेत्रवारे स्पष्ट बनाउनुपर्छ,’ डाँगीले भने, ‘बाहिर बसेर ऊर्जा क्षेत्रमा समस्या भयो भनेर समाधान हुने देखिएन ।’ इप्पानका महासचिव बलराम खतिवडाले आगामी निर्वाचनपछि संसदमा धेरै भन्दा धेरै ऊर्जा क्षेत्र बुझेका व्यक्तिहरु विजयी गराउन ऊर्जा उद्यमीका नाताले नैतिक सहयोग र समर्थन रहने बताए ।