लगानी बढाउन वित्तीय पारदर्शिता र सुशासन चाहिन्छ : वीरेन्द्रराज पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक सुशासन, सुदृढ अर्थतन्त्र र विकास प्रक्रियाका लागि पारदर्शी लेखापरीक्षण प्रणाली आधारभूत स्तम्भ भएको बताएका छन् । नेपाल अडिटर्स एसोसिएसन (अडान) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले लेखापरीक्षणलाई केवल औपचारिक प्रक्रियाका रूपमा मात्र नलिन आग्रह गरे । वित्तीय पारदर्शिताले सुशासन सुदृढ गर्ने र यसले लगानीको वातावरण सुधार गरी दिगो विकासमा सहयोग पुर्‍याउने उनको तर्क छ । अध्यक्ष पाण्डेले नेपाल उद्योग परिसंघले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै औद्योगिक प्रवर्द्धन, स्वदेशी उत्पादनको संरक्षण र डिजिटल अर्थतन्त्रको विकासका लागि नीतिगत पैरवी गरिरहेको जानकारी दिए । परिसंघले नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको आकारमा पुर्‍याउने उद्देश्यसहित विशेष अध्ययन गरेको र उक्त अध्ययन प्रतिवेदन छिट्टै सार्वजनिक गरिने उनले बताए । मुलुकको वर्तमान आर्थिक अवस्थाबारे चर्चा गर्दै पाण्डेले चालु आर्थिक वर्षको बजेटले राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्चको प्रभावकारी विस्तार अपरिहार्य रहेको उल्लेख गरे । उनले भने, ‘लेखापरीक्षण विश्वास निर्माण गर्ने आधारभूत प्रणाली हो । लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, सरकार र आम नागरिकबीच विश्वास कायम गर्न पारदर्शी वित्तीय प्रणाली आवश्यक हुन्छ । विगतमा अपेक्षाअनुरूप पुँजीगत खर्च हुन नसक्दा समग्र आर्थिक गतिविधिमा असर परेको छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिए पनि कार्यान्वयन पक्ष सधैँ चुनौतीपूर्ण रहने गरेको छ ।’ अध्यक्ष पाण्डेले हाल बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त लगानीयोग्य रकम (तरलता) रहेको र ब्याजदरसमेत एकल अङ्कमा झरेको सकारात्मक अवस्था भए पनि बजारमा वस्तु तथा सेवाको माग बढ्न नसक्नु प्रमुख चुनौती रहेको औँल्याए । उनले समग्र माग विस्तारका लागि विशेष पहल आवश्यक रहेकोमा जोड दिए । समृद्ध नेपाल निर्माणका लागि नीतिगत स्थायित्व र कानुनी सुधार प्राथमिक सर्त भएको बताउँदै उनले सरकार, निजी क्षेत्र, वित्तीय संस्था र नियामक निकायहरूको साझा प्रयासबाट मात्र आर्थिक समृद्धि सम्भव हुने धारणा व्यक्त गरे । परिसंघले कानुनी सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेको समेत उनले स्पष्ट पारे ।

‘माई पल्सर स्टोरी’ अभियान, नेपाली राइडरलाई एनएस ४०० जेड जित्ने अवसर

काठमाडौं । बजाजले पल्सर मोटरसाइकलको २५ वर्ष पूरा भएको अवसरमा विश्वव्यापी ‘माई पल्सर स्टोरी’ (#MyPulsarStory) अभियान सुरु गरेको छ । अभियानमार्फत नेपालसहित विश्वभरका पल्सर राइडर, सामग्री सर्जक, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर चलाउँदै आएका ग्राहकलाई आफ्ना वास्तविक र प्रेरणादायी अनुभव साझा गर्न आह्वान गरिएको छ । कम्पनीका अनुसार सहभागीले भिडियो, फोटो, सङ्गीत, कृत्रिम बौद्धिकता (एआई)मा आधारित सामग्री वा अन्य सिर्जनात्मक माध्यमबाट जुनसुकै भाषामा पल्सरसँग जोडिएका आफ्ना अनुभव प्रस्तुत गर्न सक्नेछन् । उत्कृष्ट सामग्रीलाई ‘२५ इयर्स अफ डेयरिङ द वर्ल्ड’ अभियानअन्तर्गत पल्सरका अन्तर्राष्ट्रिय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । अभियानअन्तर्गत प्रत्येक साता छनोट हुने विजेताले ५०० अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन्। साथै, सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले पल्सर एनएस ४००जेड मोटरसाइकल जित्ने अवसर पाउनेछन् । सहभागी हुन इच्छुकले पल्सरसँग जोडिएको आफ्नो अनुभव ‘माई पल्सर स्टोरी’ ह्यासट्यागसहित सामाजिक सञ्जालमा साझा गर्नुपर्नेछ । साथै @mypulsarofficial र @pulsarnepal लाई ट्याग गरी २०२६ सेप्टेम्बर ४ भित्र सामग्री पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।

‘प्रीटि सलुन’ले काठमाडौंबाट अन्तर्राष्ट्रियस्तरको सेवा दिने

काठमाडौं । ‘प्रीटि सलुन’ले काठमाडौंमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा सुरु गरेको छ । काठमाडौं महानगरपालिका–३१, शंखमूलस्थित बागमती नदीको पुलनजिक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको भवनको तेस्रो तलाबाट सलुन सञ्चालनमा आएको हो । सलुनको औपचारिक उद्घाटन गायिका आगन्तुक खरेलकी सुपुत्री आँचल पुनले रिबन काटेर गरेकी थिइन् । उद्घाटन कार्यक्रममा सांगीतिक क्षेत्रका कलाकार तथा अन्य अतिथिको उपस्थिति रहेको थियो । रिबन काटेलगत्तै गायिका खरेलसहित सहभागीहरूले केक काटेर उद्घाटन समारोहलाई विशेष बनाएका थिए । सलुनकी सञ्चालिका तथा गायिका आगन्तुक खरेलले महिलाहरूका लागि आवश्यक सम्पूर्ण सौन्दर्य तथा स्किन केयर सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौंमा प्रीटि सलुन सञ्चालनमा ल्याइएको बताइन् । उनका अनुसार प्रीटि सलुनको मुख्य विशेषता गुणस्तरीय सेवा, आधुनिक प्रविधि र अनुभवी विशेषज्ञमार्फत प्रत्येक ग्राहकको आवश्यकता अनुरूप व्यक्तिगत सेवा प्रदान गर्नु हो । सलुनमा हेयर स्टाइलिङ, मेकअप, नेल आर्ट, ब्राइडल मेकओभरलगायतका ब्युटी सेवासँगै अत्याधुनिक स्किन केयर सेवा पनि उपलब्ध रहेको उनले जानकारी दिइन् । छालासम्बन्धी समस्याको पहिचानका लागि अनुभवी चिकित्सकको परामर्श उपलब्ध गराइने र त्यसका आधारमा आवश्यक उपचार तथा सेवा प्रदान गरिने व्यवस्था गरिएको पनि उनले बताइन् । प्रीटि सलुनमा हाइड्रा फेशियल, लेजर ट्रीटमेन्टलगायत आधुनिक स्किन केयर प्रविधिमा आधारित सेवा सञ्चालनमा छन् । साथै, अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय स्किन केयर ब्रान्डका उत्पादन प्रयोग गरिएकाले सुरक्षित, प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्ने लक्ष्य रहेको सञ्चालिका खरेलको दाबी छ । दुबईमा आर्जन गरेको ११ वर्षको अनुभवलाई नेपालमा विस्तार गर्दै नेपाली ग्राहकलाई विश्वस्तरीय ब्युटी तथा स्किन केयर सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंमा प्रीटि सलुन सञ्चालनमा ल्याइएको खरेलले बताइन् ।