हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको उद्योगका सूचना अधिकारी बरिष्ठ अधिकृत हरेराम आचार्यले जानकारी दिए । क्लिङ्कर उत्पादन गर्ने र प्याकिङ्गको काम गरेसँगै उत्पादित सिमेन्ट बजारमा पठाइने तयारी भइरहेको उनले बताए । सूचना अधिकारी आचार्यले भने, 'हामीसँग दुई सातालाई पुग्ने कच्चापदार्थ छ, त्यसैबाट क्लिङ्कर उत्पादन भइरहेको छ भने थप कच्चा पदार्थ व्यवस्थापन भइरहेको छ ।' नियमित उत्पादन हुँदा दैनिक सात–आठ सय क्विन्टल क्षमता भएपनि हाल छ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको उनको भनाइ छ । विसं २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
वीरगञ्ज । भारत सरकारले १९ थान वान टन सवारीसाधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले आइसिपीस्थित वीरगञ्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई १९ थान वान टन सवारीसाधन हस्तान्तरण गरेका हुन् । सरकारको आग्रहअनुसार सो सवारीसाधन सहयोगबापत उपलब्ध गराइएको दूतावासले जनाएको छ । पर्साका सहायक प्रजिअ कार्कीले सवारीसाधन उपलब्ध गराएकामा भारत सरकारप्रति आभार व्यक्त गर्दै ती सवारीसाधन गृहमन्त्रालयतर्फ पठाइएको जानकारी दिए ।
डेल्टा अटोकर्पको ‘नयाँ युगको नयाँ राइड’ योजना सार्वजनिक
काठमाडौं । नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा र अप्रिलियाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ वर्षलाई लक्षित गर्दै 'नयाँ युगको नयाँ राइड' नामक अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त अफर चैत १३ गतेदेखि देशभर रहेका आधिकारिक भेस्पा तथा अप्रिलिया शोरूममार्फत उपलब्ध हुनेछ । नयाँ वर्षको अवसरमा ग्राहकलाई आकर्षक सुविधा प्रदान गर्ने उद्देश्यसहित ल्याइएको यस योजनाअन्तर्गत स्कुटर नगदमा खरिद गर्दा ८ हजार ३०० रुपैयाँसम्म नगद छुट प्राप्त हुनेछ भने एक्सचेञ्जमार्फत खरिद गर्दा १० हजार रुपैयाँ अतिरिक्त बोनस उपलब्ध गराइनेछ । साथै बजारकै न्यून ४.९९ प्रतिशत ब्याजदरमा किस्ता सुविधा (ईएमआई) समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ । अफर अवधिमा स्कुटर खरिद गर्ने ग्राहकलाई ब्रान्डेड हेल्मेट र स्कुटर कभरजस्ता निःशुल्क एक्सेसरीज प्रदान गरिनेछ । अभियानलाई थप आकर्षक बनाउन साप्ताहिक लक्की ड्रको व्यवस्था गरिएको छ, जसअन्तर्गत सहभागी ग्राहकहरूले रूपाकोट रिसोर्टमा लक्जरी गेटवे जित्ने अवसर पाउनेछन् । डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोले नयाँ वर्ष नयाँ यात्रा र अवसर सुरु गर्ने समय भएको उल्लेख गर्दै ‘नयाँ युगको नयाँ राइड’ अभियानमार्फत ग्राहकलाई प्रिमियम स्कुटरसँगै विशेष अनुभव प्रदान गर्ने लक्ष्य रहेको बताए । कम्पनीले यस अफरमार्फत ग्राहकलाई आत्मविश्वासका साथ नयाँ वर्षको सुरुवात गर्ने अवसर दिने विश्वास व्यक्त गरेको छ ।