फोरजी सञ्चालनका लागि बाटो खुल्यो, सेवा प्रदायकले समय मागे, अक्टोवरदेखि सञ्चालन
काठमाडौं ४ साउन। दुरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी वाँडफाँड तथा मूल्य सम्वन्धि नीति २०७३ संसोधन सहित पारित भएको छ। अघिल्लो नीति लागु नहुँदै नयाँ नीति आएको हो। फ्रिक्वेन्सी निर्धारण समितिले फोरजीका लागि १८ सय मेगाहर्जको व्याण्ड र थ्रिजीका लागि नौ सय मेगाहर्जको व्याण्डलाई प्रविधि तटस्थता गरेर सञ्चालन गर्नेगरी संसोधन सहित पारित गरेको हो। करिव पाँच महिनाको छलफल पछि नीति पारित गरेको जानकारी सञ्चार मन्त्रालयले दिएको छ । समितिले दुरसञ्चार सेवाका लागि पहिचान गरिएका सवै फ्रिक्वेन्सी व्याण्डहरुमा प्रविधि तटस्थताको नीति अवलम्वन गर्ने जनाएको छ। समितिले ग्रामिण दुरसञ्चार कोषको प्रयोग गरी देशभरी अप्टिकल फाइवरको नेटवर्क निर्माण तथा विस्तार गर्न तीनवटा प्याकेज बनाएर कार्य थालनी गर्ने भएको छ। अहिले बजारमा फोरजीको दौडमा टेलिकम, एनसेल र स्मार्ट टेलिकम रहेको प्राधिकरणले जनाएको छ। अरु कम्पनीहरुले फोरजीका लागि खासै चासो नगरेको जनाएको छ। दुरसञ्चार प्राधिकरणले फोरजीसेवाका लागि बाटो खुल्ला गरेसँगै सरोकारवाला निकायसँग छलफल गरेको बताएको छ। प्राधिकरणले साउन महिनाभित्र फोरजी सेवा चलाइसक्ने रोडम्याप बनाएको थियो तर टेलिकम र एनसेलले दुई महिनाको समयावधि माग गरेका कारण फोरजी सेवा सञ्चालन गर्न केही समय लाग्ने प्राधिकरणका अध्यक्ष दिगाम्बर झाले जानकारी दिए। ‘टेलिकम र एनसेलले फोरजीका लागि आवश्यक सामाग्री आयात गर्नका लागि समय माग गरेका कारण फोरजी सेवा सञ्चालनका लागि ढिला भएको हो’ झाले भने ‘आगामि अक्टोवरदेखि नेपालमा फोरजी सेवा सुरु हुन्छ।’ प्राधिकरणको नयाँ नीतिमा दुरसञ्चार बजारको प्रतिस्पर्धी क्षमता हेरेर मर्जरमा जान सक्नेछन्। अरु देशको प्रयोग हेर्दा पनि नेपालजस्तो देशमा धेरै टेलिकम अपरेटरहरु रहन नसक्ने प्राधिकरणको ठहर रहेको छ। सञ्चारमन्त्री शेरधन राईले पनि नेपालमा धेरैमा तीनवटा अपरेटरको सम्भावना रहेको बताए। प्राधिकरणले बजारअनुकुल उपयुक्त आकारमा ल्याउन मर्जर र एक्विजिसन सम्वनुधि छ्ट्टै कानुनी व्यवस्था गर्ने जनाएको छ।
अग्नि इन्कर्पाेरेटेड अन्तर्गत महिन्द्राको नयाँ शोरुम लगनखेलमा
काठमाडौं, ३ साउन । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले ललितपुरको लगनखेलमा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले ग्राहकहरुका माझ सहज तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले सोमबार उक्त स्थानमा सो शोरुमको सुरुवात गरेको हो । कम्पनीले टियूभी र इन्ट्री–लेभल एस्यूभी गाडी, केयूभी१००को विक्री वितरण पनि उक्त लगनखेल शोरुम मार्फत गराउने भएको छ । महिन्द्राका शोरुम मार्फत सेवाग्राही समक्ष आफ्ना सेवाहरुको पहुँच सफलता पूर्वक बढाउँदै जाने लक्ष्य लिइको छ । अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पु¥याउँदै आई आफ्ना सेवाहरु सञ्चालन गर्दै आएको छ । यस शोरुमले ग्राहकहरुलाई विश्वस्तरीय ब्राण्ड एक्सपिरियेन्स अनि उत्कृष्ट सेवा प्रस्तुत गर्नेमा कम्पनी विश्वस्त रहको विज्ञप्तिमा उल्लेख छ ।
हुण्डाई युरोकप भविष्यवाणी प्रतियोगीतका विजेताहरु पुरस्कृत
काठमाडौं, ३ साउन । हुण्डाई युरोकप भविष्यवाणी प्रतियोगीताका विजेताहरुलाई पुरस्कृत गरिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले युरोकप सन २०१६ को अवसरमा सञ्चालन गरेको प्रतियोगीताका विजेताहरुलाई सोमबार पुरस्कृत गरेको हो । प्रतियोगीतामा शोयोश राणा, महेश रेग्मी, अभि गुप्ता ग्राण्ड विजेता बनेका थिए । जेठ २४ देखि असार २६ गतेसम्म सञ्चालन गरिएको प्रतियोगीमा अशोक सापकोटा, अनिशा बटाजु र आशिष मानन्धर टुर्नामेन्ट विजेता बनेका थिए । प्रथम भएका शोयोग राणाले ४० इञ्जको सामसङ एलइडी टिभी, दोश्रो हुने महेश रेग्मीले ३२ इञ्चको सामसङ एलइडी टिभी तथा तेश्रो भएका अभि गुुप्ताले सामसङ जे५ मोबाइल प्राप्त गरेका छन् । सर्वाधिक गोलकर्ताको भविष्यवाणाी गरेका अशोक सापकोटा, उत्कृष्ठ खेलाडी भविष्यवाणी गर्ने अनिशा बटाजु र युरोकपको विजेता भविष्यवाणाी गर्ने आशिष मानन्धरले सामसङ जे७ प्राप्त गरेका हुन् । प्रतियोगीतामा २५ हजार जनाले सहभागीता जनाएका थिए । हुण्डाई ओनर्स कार्यक्रममा विजयी भई युरोकप २०१६ को फाइनल खेल गर्न फ्रान्स जाने अवसर प्राप्त गरेका अमित श्रेष्ठ र राजेन्द्र गुरुङले आफ्नो अनुभव सुनाएका थिए । मिस नेपाल २०१६ अस्मि श्रेष्ठले विजयीहरुलाई पुरस्कार वितरण गरेकी थिईन् ।