बागलुङको रिठेखोलामा पक्की पुल निर्माण
बागलुङ । पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । संघीय सरकारको दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो । बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ । पुल बनेपछि सधैभरि सवारीसाधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ ।
सेती लोकमार्ग द्रुत गतिमा निर्माण गर्न माग
बाजुरा । बाजुरा जिल्ला सभाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने सेती लोकमार्ग दु्रत गतिमा निर्माण गर्न माग गरेको छ । सभाले प्रदेश र संघ सरकारसँग ढिलासुस्ती रोकेर निर्माणका काम शीघ्रताका साथ गर्न माग गरेको हो । धनगढीको टीकापुर बर्दगोरियाबाट डडेल्धुरा, डोटी, अछाम, बझाङ हुँदै बाजुरा जोड्ने लोकमार्ग निर्माणले गति नलिएपछि तीन जिल्लाको समन्वयमा सरकारसँग लोकमार्ग निर्माणलाई ध्यान दिन दबाब दिने जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताए । बिहीबार जिल्ला समन्वय समिति बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा छैटौँ जिल्ला सभाबाट लोकमार्ग निर्माणमा ढिलासुस्ती भइरहेकाले त्यसलाई अविलम्ब रोकेर निर्माणलाई तीव्रता दिन प्रदेश र संघ सरकारसँग माग गर्ने निर्णय भएको उनले बताए । उहाँले सुस्त गतिमा निर्माण भइरहेको सेती लोकमार्गको कामलाई गतिदिन सम्बन्धित निकायसँग समन्वय गरिने बताए । जिल्ला सभाले स्थानीय तहहरूको समन्वय र सहयोगमा अधुरा आयोजनाको विवरण संकलन गरी तिनलाई पूरा गर्ने निर्णय गरेको जानकारी पनि उनले दिए । जिल्ला सभाले सुदूरपश्चिम प्रदेशको गौरवको सडकका रूपमा रहेको मार्तडी–कोल्टी सडकखण्डको स्तरोन्नति गरी नियमित बस सेवा सञ्चालनका लागि पहल गर्ने, प्रदेश निर्वाचन क्षेत्र (क) कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गर्ने, जिल्लामा उत्पादन रैथाने बालीको प्रवर्द्धनका गरी बजारसम्म पुर्याउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलगायत निकायसँग समन्वय गर्ने निर्णय गरेको छ । साथै, जिल्लाका नौ वटै पालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय भएको छ ।
दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माण अन्तिम चरणमा
खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २० मिटर लामा पुलको भौतिक र आर्थिक प्रगति ८० प्रतिशत भएको मध्यपहाडी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी हर्क प्रधानले बताए । अब दुवै पुलको सडक संरचना (एप्रोच रोड) को काम मात्र बाँकी छ । निर्माणाधीन दुवै पुलको एप्रोच रोड र रङरोगन वैशाखसम्म सकेर हस्तान्तरण गरिने केएम इन्जिनियर्स विल्डर्सका प्रबन्ध निर्देशक मोहन कार्कीले बताएका छन् । विसं २०८१ असार २२ गते दुई पुलको काम सक्ने गरी २०७९ असार २२ गते केएम इन्जिनियर्स विल्डर्सले सडक विभागसँग भ्याटबाहेक ७ करोड ७४ लाख २५ हजार रुपैयाँमा सम्झौता गरेको थियो । यसैगरी, सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा २० मिटर लामो मोटरेबल पुल पनि निर्माण भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजिव जेभी खोटाङले लिएको हो । विसं २०८० कात्तिक ११ गते पुल बनाइसक्ने गरी २०७८ मङ्सिर १४ गते भ्याटबाहेक ३ करोड ५ लाख ८० हजार १ सय ३७ रुपैयाँमा ठेकेदार कम्पनीले सडक विभागसँग निर्माण सम्झौता गरेको थियो । यो पुलको पनि आर्थिक र भौतिक प्रगति मेवाखोला र भालुखोलाजस्तै ८० प्रतिशत पूरा भएको छ । भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएको पुलमा रङरोगन गर्न र ३३० मिटर एप्रोच रोड कालोपत्र गर्न बाँकी रहेको ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण घिमिरेले बताए । ‘छेपेखोलामा निर्माण गरिएको पुल गत असारमा नै पूरा गरेर सवारी साधन सञ्चालन गरेका छौँ, एप्रोच रोडको काम भने मेवाखोला र भालुखोलासँगै गर्ने गरी समन्वय भएको छ, त्यसो गर्दा कच्चा पदार्थ जुटाउन र मेसिन चलाउन सहज हुन्छ,’ उनले भने, ‘वैशाखभरिमा सडक संरचनाको काम सक्छौँ, त्यहीअनुसार आवश्यक निर्माण सामग्री संकलन गरिरहेका छौँ ।’ निर्माणाधीन तीनवटै पुलको बाँकी काम यथाशीघ्र पूरा गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिइएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए । ‘निर्माणाधीन तीनवटै पुलको प्रगति हेर्दा तोकिएको मितिभन्दा अगाडि नै सम्पन्न हुने देखिन्छ, वर्षा सुरु हुनासाथ निर्माणको काम रोकिन्छ,’ उनले भने, ‘निर्धारित समयभन्दा अगाडि पुल काम पूरा गर्नेलाई पुरस्कृत गर्ने योजना छ ।’ दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको बुवालुङस्थित बुवासुङ–लामीडाँडा जोड्ने पङ्खुखोलाको १५ मिटर मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाडौंले नगरेपछि गत जेठ–१२ गते ठेक्का तोडिएको छ । ठेक्का सम्झौता तोडिएको पङ्खुखोला पुलको लागि अर्को ठेक्का लगाउन सम्बन्धित निकायले चासो नदिएकामा जिल्लावासी खिन्न छन् । पाँच खण्डमा विभाजन गरेर कालोपत्र गरिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोलालगायत विभिन्न पाँचवटा खोलामा भने यसअघि नै पक्की पुल तयार भई सञ्चालनमा आइसकेका छन् । तीनवटा निर्माणाधीन तथा एउटा ठेक्का सम्झौता तोडिएको ४८ किलोमिटर लामो दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने नौवटा खोलामा मोटरेबल पक्की पुल निर्माण हुनेछन् । रासस