महुरे-फोक्सिङटार सडक : ९६ करोडको कालोपत्रेको काम ७ वर्षदेखि अलपत्र

खोटाङ । दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत महुरेफोक्सिङटार सडक कालोपत्रको काम अलपत्र परेको छ । दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४८ किलोमिटर) सडकखण्ड दुई भागमा विभाजन गरी ठेक्का लगाएर कालोपत्र थालिएको थियो । महुरेदेखि राजापानीसम्मको २२ किमि सडक कालोपत्रको काम भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीले ठेक्का लिएको थियो । सिम्पानीभञ्ज्याङदेखि फोक्सिङटारसम्मको २६ किमी सडकखण्ड कालोपत्रको काम देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले जिम्मा लिएको थियो । कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने दुवै सडकखण्ड अलपत्र पारिएको हो । भारत कन्ट्रक्सन–सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्ने गरी विसं २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत सडक कालोपत्र हुन सकेको छैन । भ्याटबाहे ४१ करोड ५० लाख रुपैयाँको लागतमा ठेक्का लिएको ठेकेदार कम्पनीले हालसम्म ३५ प्रतिशतमात्र भौतिक प्रगति गरेको छ । सिम्पानीभञ्ज्याङ–फोक्सिङटार सडकखण्डको काम ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागले जनाएको छ । भ्याटबाहेक ५५ करोड ८७ लाख रुपैयाँमा विसं २०७७ साउन १० गतेभित्र कालोपत्र पूरा गर्ने गरी विसं २०७३ साउन ११ गते सो खण्डको ठेक्का सम्झौता भएको थियो । सुरुदेखि ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नगरेको स्थानीयबासीको भनाइ छ । महुरे–सिम्पानी खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय मिलन राईको नेतृत्वमा गाउँले मिलेर विसं २०७६ पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काएका थिए । काममा चरम ढिलासुस्ती, गुणस्तरहीन र कामदारले पारिश्रमिक नपाएको विरोधमा स्थानीयबासीले विसं २०७६ पुसमा विरोध गरी काम ठप्प पारेका थिए । ठेकेदार कम्पनीले महुरे–फोक्सिङटार सडकखण्डका होटल व्यवसायी तथा खुद्रा पसलका व्यापारीको लाखौँ रकम तिर्न बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिए  । कालोपत्रको काम अलपत्र पार्ने ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडेर नयाँ पक्रिया अगाडि बढाउन नेपाल सरकार, संघीय अर्थमन्त्रालयमा बजेट माग गरिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनियर सञ्जय मिश्रले बताएका छन् । ‘नयाँ पक्रियाका लागि अहिलेसम्म अर्थमन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन । यस वर्षका लागि मर्मत गर्ने बजेट पनि हामीसँग छैन,’ उनले भने, ‘अर्थमन्त्रालयबाट नयाँ बजेटको व्यवस्था नभएसम्म कुनै काम अगाडि बढाउन सकिँदैन । नयाँ बजेट व्यवस्था गर्ने प्रयास भइरहेको छ ।’ सम्झौता थपिएको मिति सकिएपछि दुवै सडकखण्डमा प्रयोग भएका उपकरण र औजार लिएर निर्माण व्यवसायीले निर्माणस्थल छाडेका थिए । बजेट उपलब्ध भएको समयमा ठेकेदार कम्पनीले काम नगरेपछि पुनःबजेटको सुनिश्चितता गर्न समस्या भएको प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बताए । करिब एक सय ३४ किमी लामो दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत गाईघाटबाट खोटाङको महुरेसम्म (१०१ किमी) सडक कालोपत्र गर्न सडक विभागले सात वर्षअघि दुई अर्ब ६८ करोड रुपैयाँ बजेट बजेट विनियोजन गरेको थियो । फोक्सिङटारस्थित सुनकोसी नदीमा मोटरेबल पुल निर्माण भएपनि सडक कालोपत्र नहुँदा वर्षमा ६ महिनासम्म यातायात अवरुद्ध हुने गरेको छ ।

लगानी सम्मेलन : १००० लगानीकर्तालाई निमन्त्रणा गर्दा ६०ले मात्रै स्वीकारे, ज्याक माको जवाफ- ‘म आउँदिनँ’

काठमाडौं । सरकारले आगामी बैशाख १६ र १७ गते आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विदेशी ठूला लगानकर्ताको सहभागिता नहुने संकेत देखिएको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिले विभिन्न देशका संघ, संस्था तथा व्यवसायिक समूहलाई सम्मेलनमा सहभागी हुनका लागि अनुरोध गरेपनि अधिकांश ठाउँबाट सहभागिता नहुने सन्देश आइरहेको छ । यसले पनि विदेशी ठूला उद्योगी व्यवसायीहरू सहभागी नहुने संकेत देखिएको हो । लगानी सम्मेलनमा बढी भन्दा बढी विदेशी लगानीकर्ताहरुलाई ल्याउने उद्देश्यले औपचारिक आमन्त्रण गर्ने काम पनि भइरहेको लगानी बोर्डले बताएको छ । लगानी सम्मेलनको लागि अहिलेसम्म विभिन्न देश, संस्था र लगानीकर्ता गरेर एक हजार भन्दा बढीलाई औपचारिक रूपमा निमन्त्रणा गरिसकेको लगानी बोर्डका प्रवक्ता प्रद्युमनप्रसाद उपाध्यायले बताए । उनका अनुसार आमन्त्रण गरिएका मध्ये अहिलेसम्म विभिन्न देशका ६० वटा संघ संस्था तथा व्यावसायिक समूहको तर्फबाट मात्रै सहभागिता जनाउने निश्चित भएको छ । प्रवक्ता उपाध्यायकाअनुसार विश्वको ठूलो देश मध्येको चिनियाँ लगानीकर्ता ज्याक माको फाउन्डेसनले पनि लगानी सम्मेलनमा सहभागिता जनाउन नसकिने सन्देश पठाइसकेको छ । यस्तै, भारतका ठूला लगानीकर्ता गौतम अडानी, मुकेश अम्बानी र उनीहरूको व्यावसायिक प्रतिनिधित्व पनि नहुने बुझिएको उपाध्यायले बताए । लगानी सम्मेलनमा एलन मस्क र उनको व्यावसायिक समूह पनि सहभागी हुने वा नहुने विषयको सन्देश लगानी बोर्डलाई प्राप्त भएको छैन । ‘चिनियाँ लगानीकर्ता ज्याकमा फाउन्डेसनले सहभागी हुन असमर्थ हुने जानकारी गराएको छ, मिडियामा गौतम अडानी, मुकेश अम्बानी, एलन मस्क लगायत सम्मेलनमा सहभागी हुने भन्ने विषय आइरहेको थियो । तर, हामीलाई कुनै औपचारिक जानकारी आएको छैन,’ उपाध्यायले भने, ‘हामीले ढिलो निमन्त्रणा गरेर पनि हुन सक्छ ।’ १३२ आयोजना प्रदर्शन गरिने तेस्रो लगानी सम्मेलनमा सरकारको तर्फबाट १३२ वटा विभिन्न आयोजना प्रदर्शन गरिने भएको छ । जसमध्ये तीन वटा आयोजना प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट (पीडीए) गर्ने स्तरमा तयार भएको बोर्डका प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार ती प्रोजेक्टमा दमक औद्योगिक पार्क, राइजिङ सोलार र मस्र्याङ्दी–२ जलविद्युत आयोजनालाई सम्मेलनमा पीडीए स्तरमा प्रस्तुत गरिनेछ । त्यस्तै, सम्मेलनमा डाबर नेपालको क्षमता विस्तार र विविधिकरणका लागि पीआईए हुनेछ । त्यसबाहेक १५ वटा आयोजना एक्प्रेसन अफ इन्ट्रेस्ट (इओआई)का लागि तयार गरिएको उपाध्यायले बताए । त्यसैगरी मार्केट साउन्डिङ प्रोजेक्ट ११ वटा, आइडिया स्तरका ३७ वटा आयोजना, २६ वटा प्रोजेक्ट लगानीको खोजीमा रहेका र २६ वटा विभिन्न आयोजनाहरु निजी क्षेत्रका रहेका छन् । स्थानीय स्तरका ४ वटा र अन्य विभिन्न ९ वटा आयोजनाहरू सम्मेलनमा प्रस्तुत गर्ने तयारी रहेको छ । प्रवक्ता उपाध्यायकाअनुसार अहिलेसम्म निजी क्षेत्रबाट ७ आयोजनाहरू सम्मेलनमा प्रस्तुत गरिने तयारी भएको छ भने १२ वटा आयोजना खनिज क्षेत्रका रहेका छन् । ‘सात वटा परियोजनाहरू निजी क्षेत्रबाट आएका छन्, १२ वटा परियोजना खनिज क्षेत्रका छन्,’ उनले भने, ‘ती क्षेत्रमा यति मात्रामा खनिज छ भन्ने अध्ययन भइसकेको छ, प्रतिस्पर्धाबाट छनौट गर्नेगरी प्रस्तुत गर्ने तयारी छ ।’ तर, सम्मेलनको अवधिसम्म आयोजनाहरूको संख्या बढ्न सक्ने प्रवक्ता उपाध्यायले बताएका छन् । अमेजिङले व्यवस्थापन गर्ने पाँच तारे सोल्टी होटेलमा हुने तेस्रो लगानी सम्मेलनमा स्टल निर्माणदेखि प्राविधिक पक्षको व्यवस्थापन अमेजिङ प्रालि ललितपुरले गने भएको छ । प्रवक्ता उपाध्यायकाअनुसार बेलायतको फरिन कमनवेल्थ डेभलपमेन्ट अफिसको फन्डिङमा हुने सो सम्मेलनमा सोही दाताले नै व्यवस्थापन पक्ष छनोट गरेको हो । ‘सम्मेलनमा प्राविधिक व्यवस्थापनको कामको लागि फन्डिङ गर्ने निकाय एफसीडीओले नै छनौट गरेको हो । तर, त्यसको सञ्चालन भने हामीले नै गर्ने हो, अमेजिङले यस भन्दा अगाडिका सम्मेलनको पनि व्यवस्थापन गर्दै आएको थियो,’ उनले भने ।

वीरगञ्ज नगरक्षेत्रका आधादर्जन सडक कालोपत्र गरिँदै

वीरगञ्ज । पर्सागढी नगरपालिकाले ग्रामीण सडक पूर्वाधारलाई प्राथमिकता दिएको छ । वर्षौंदेखि जीर्ण, हिलाम्मे र धूलाम्मे नगरक्षेत्रका आधादर्जन सडकलाई चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने योजनाअनुसार काम अघि बढाइएको हो । सोही योजनाअनुसार नगरपालिकाले वडा नं १ स्थित जनता सडकमा कालोपत्र सम्पन्न गरेको छ । वर्षौंदेखि सडक जीर्ण हुँदा हिलो र धूलोका कारण सास्ती भोग्दै आएका स्थानीय सो सडक पक्की भएसँगै हर्षित भएका छन् । कोइलाभार मन्दिरदेखि कोइलाभार टोलसम्मको सडकखण्डलाई नगरपालिका कार्यालयले नगरस्तरीय भौतिक पूर्वाधार योजना अन्तर्गत दुई करोड ४५ लाख ६६ हजारको लागतमा निर्माण गरेको हो । उक्त एक दशमलव ५४ किलोमिटर सडक कालोपत्र गरिएको हो । सडक कालोपत्र भएपछि आवतजावतमा सहज भएको स्थानीयवासीले बताएका छन् । ‘पहिला सडक कच्ची थियो, वर्षायाममा हिलाम्मे र सुख्खायाम धुलाम्मे हुन्थ्यो’, पर्सागढी नगरपालिका–१ का श्याम महतोले भने, ‘आवतजावतमा सहज मात्रै होइन्, अब हिलो र धुलोबाटमुक्त भएको अनुभूति भइरहेको छ ।’ ठूलो धार्मिक महत्व बोकेको कोइलाभार मन्दिरसम्म पुग्न पहिला धेरै गाह्रो हुने र अब टोलबाट मन्दिरसम्म पुग्न सहज भएको उनको भनाइ छ । नगरपालिकाले ग्रामीण भेग र सहरको दुरीलाई कम गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्र गरेपछि गाउँमा किसानले उत्पादन गरेको समान नजिकैको बजारसम्म पुर्‍याउनसमेत सहज भएको स्थानीय कामेश्वर यादवले बताए । लामो समयदेखि सरकारी उपेक्षामा परेको सो सडकलाई नगरपालिकाले प्राथमिकतामा राखेर कालोपत्र गरिएको पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले बताए । नगरपालिकाको सबै सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएको नगरप्रमुख पाठकले बताए । उनले कालोपत्र सडक निर्माण कार्यलाई सहरी र ग्रामीण क्षेत्रमा सन्तुलित रुपमा अघि बढाएको भन्दै यसमा सबैको साथ पाइरहेको उल्लेख गरे । ‘मेरो पहिलो प्राथमिकता नै स्थानीय सडक पूर्वाधार निर्माण नै हो’, नगरप्रमुख पाठकले भने, ‘कच्ची सडकको मर्मत गर्दा बढी खर्च हुने र समयपनि नोक्सानी हुन्छ, त्यसैले दिगो सडक विकास गर्ने लक्ष्यसहित सडकलाई कालोपत्र गर्न थालेका छौँ ।’ यसैवर्ष नगरपालिकाको छ वटा स्थानका सडकलाई कालोपत्र गर्न लागेको उनको भनाइ छ । नगरप्रमुख पाठकका अनुसार यसैवर्ष पर्सागढी नगरपालिका–१ को नववा बजारदेखि भटनी टोल जोड्ने सडक, वडा नं २ को बागबन्नदेखि छतवनटाँडी जाने सडकखण्ड, वडा नं ३ को मानव आश्रमदेखि आमोदेवी मन्दिर जाने सडकखण्ड, वडा नं ५ को जमुनीचोकदेखि वडा नं ४ जोड्ने हर्दिया–हरदासपुर सडकखण्ड र वडा नं ८ को वडा कार्यालयदेखि वडा नं ३ को वडा कार्यालय जोड्ने सडकखण्ड कालोपत्र गरिने छ । ‘एक पटक सडक कालोपत्र भयो भने वर्षौंसम्म त्यो सडकमा बजेट खर्चिनु पर्दैन’, नगरप्रमुख पाठकले भने, ‘जसका कारण एकातिर सडकमा हिलाम्मे र धुलाम्मे पनि भएन् र अर्कोतर्फ बजेट तथा समयको समेत बचत हुन्छ ।’ त्यो बजेटले अर्को काम पनि खर्च गर्न सकिन्छ, उनले भने । ती अधिकांश सडक कालोपत्र गर्ने गरी सम्झौताको काम भइरहेको र चालु आर्थिक वर्षभित्रै सकिने योजना रहेको उनले बताए । रासस