तीन अर्बको लागतमा महाराजगञ्जमा पाँचतारे होटल बन्दै, डेढ वर्षभित्रै सञ्चालनमा आउने
तस्विर : बन्दै गरेको लालचन होटल, लालचन ग्रुपका प्रबन्ध निर्देशक नितेश लालचनको सामाजिक सञ्चालबाट काठमाडौं । व्यावसायिक घरना लालचन ग्रुपले काठमाडौंको महाराजगञ्जमा पाँच तारे होटल सञ्चालनमा ल्याउने भएको छ । ग्रुप अन्तर्गतको होटल लालचन प्रालिले काठमाडौंमा उच्तस्तरीय व्यापारीक तथा मनोरञ्जनात्मक होटल स्थापना गर्ने योजना स्वरुप उक्त स्थानमा होटल सञ्चालनमा ल्याउने भएको हो । सन् २०१८मा स्थापना भएको होटल लालचनले महाराजगञ्जमा एक लाख ५२ हजार ४८१ वर्गमिटर जग्गाको क्षेत्रफलमा नयाँ होटल बनाउन लागेको हो । कम्पनीका अनुसार उक्त होटलमा कूल एक सय ३५ वटा कोठा हुनेछन् । जसमा ९ वटा स्वीट रुम, ९ वटा जुनियर रुम र बाँकी एक सय १७ वटा स्ट्याण्डर्ड रुम हुने छन् । कम्पनीका अनुसार उक्त होटलमा फुड एण्ड वेभरेजको सुविधा, स्वीमिङ्ग पुल, क्यासिनो, सम्मेलन र भोज सुविधा, स्पा लगायतका विभिन्न सेवा सुविधाहरु रहनेछन् । यी बाहेक कम्पनीले आवश्यकता अनुसार अन्य सेवा सुविधाहरु पनि विस्तारै थप्दै लैजाने योजना बनाएको छ । होटल लालचनले कूल तीन अर्ब ९० लाखको अनुमानित लागतमा उक्त पाँचतारे होटल स्थापना गर्न लागेको हो । जहाँ संस्थापकहरुको २७ प्रतिशत र बाँकी ७५ प्रतिशत वित्तीय लगानी हुने छ । कम्पनीका अनुसार संस्थापकहरुले ७५ करोड २० लाख रुपैयाँ स्वपुँजी लगानी गर्नेछन् भने बाँकी २ अर्ब २५ करोड ७० लाख रुपैयाँ बैंकको ऋण लगानी हुने छ । हालसम्म कम्पनीका संस्थापकहरुले ७५ करोड २० लाख रुपैयाँको करिब ४३ प्रतिशत अर्थात ३२ करोड २० लाख रुपैयाँ लगानी गरिसकेका छन् । हालसम्म ४६ प्रतिशत निर्माण भइसकेको उक्त होटल २०८२ असार अर्थात २०२५ जुलाई भित्रमा सञ्चालनमा आउने कम्पनीको अपेक्षा छ । निमार्णाधिन होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको करिब ६.२ किलोमिटरको दुरीमा अवस्थित छ । विदेशी पर्यटकहरुको चाप बढी हुने र नेपालको सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य मध्येको एक भएकाले पनि कम्पनीले काठमाडौंमा होटल सञ्चालनमा ल्याउन लागेको बताएको छ । लालचन ग्रुपले रियल स्टेट र हस्पिटालिटी क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्दै गइरहेको छ । ग्रुपको बिवा एग्रो प्रालि र बेभर्ली हिल्स प्रालि लगायतका परियोजनाहरु सञ्चालनमा छन् जसको सम्पूर्ण नेतृत्व सोम बहादुर लालचनले गरिरहेका छन् । २०२० डिसेम्बरमा भएको सम्झौता अनुसार उक्त होटलको व्यवस्थापन हिल्टन वर्ल्डवाइड म्यानेजले सम्हाल्ने छ । सन् २०२० डिसेम्बरमा होटल लालचन र हिल्टनबीच होटल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी सम्झौता भएको थियो । जसअनुसार उक्त होटल ‘डबल ट्री बाइ हिल्टन’को ब्राण्ड बाट सञ्चालन हुने कम्पनीले जानकारी गराएको छ । होटल लालचनले २ अर्ब ३४ करोड रुपैयाँ बराबरको कर्जाको लागि केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । जसमा केयर रेटिङ नेपालले केयर एनपी बीबी माइनसको रेटिङ दिएको छ । निर्माणाधिन होटल र सञ्चालन स्थीरतामा जोखिम भएकोले होटललाई उक्त रेटिङ दिइएको हो ।
मेवा खोला आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ जारी गर्ने तयारीमा
काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साँढे ६७ करोड रुपैयाँ लगानी रहेको छ । ताप्लेजुङ्ग जिल्लाको मेरिङदेन गाउँपालीका वडा नम्वर ३, ४ र ५ मा निर्माणाधिन मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाईमा ऋण लगानी रहेको छ । यस आयोजनाको लागत ९ सय करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तोकिएको लागतमा, तोकिए कै समय अवधि भन्दा छिटो आयोजना सम्पन्न गर्ने गरी काम तिव्र गतिमा निर्माण कार्य भैरहेको युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष ई. आशिष थापाले बताए । २०७८ साल पुष महिनाबाट निर्माण सुरु गरिएको यस आयोजना २०८१ साल असोज महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्यका साथ काम भैरहेको कम्पनीले जनाएको छ । उर्जा क्षेत्रमा सफल र अनुभवी उद्यमीहरुको लगानीमा निर्माणाधिन यस आयोजनाको साधारण सेयर (आईपीओ) निष्काशनको लागि कम्पनीले गृहकार्य गरिरहेको छ । सिटिजन्स क्यापिटल लि.लाई बिक्री प्रबन्धकमा नियुक्त गरी आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । यस आयोजनामा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ सय जना भन्दा धेरैले रोजगारी पाएका छन् ।
बन्दीपुरमा ५६ करोड लागतमा बन्यो पाँच तारे होटल, क्वीन टावर अन्तिम चरणमा
तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले अन्तराष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्थित केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो । ५६ करोड रुपैयाँको लागतमा ५६ रोपनी क्षेत्रफलमा होटल निर्माण गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । आगामी वैशाख १ गते नयाँ वर्षको अवसरमा पाँचतारे होटल सञ्चालनमा ल्याइने तयारी भइरहेको उनले बताए । क्वीन टावर अन्तिम चरणमा बन्दीपुर–४ स्थित केबलकारको माथिल्लो स्टेशनमा निर्माणधीन सत्र तलाको ‘क्वीन टावर’ को काम अन्तिम चरणमा पुगेको छ । पाँचतारे होटलसँगै केबलकार पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माणलाई तिव्रता दिइएको कम्पनीका अध्यक्ष शर्माले बताए । अन्तराष्ट्रियस्तरको ‘क्यूए सर्टिफिकेट’ लिने कार्य बाँकी रहेकाले सञ्चालनमा ढिलाइ भएको कम्पनीले जनाएको छ । ‘केबलकारमा अहिले कम्पनीमा कार्यरत कर्मचारी ल्याउने लैजाने कार्य भइरहेको छ’, उनले भने, ‘सर्वसाधारण बोक्ने योजना तत्काललाई बनाइएको छैन ।’ एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलकोन गर्दै उक्त केबलकारबाट पर्यटकले आनन्दका साथ यात्रा गर्न सक्नेछन् । केबलकारको अहिले पटक–पटक परीक्षणको गर्ने कार्य भइरहेको अध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार केबलकारको २१ डिब्बा यात्रु बोक्ने, छ वटा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ डिब्बा हुनेछन् । एक डिब्बामा आठ जनासम्म यात्रुको क्षमता हुनेछ । ‘एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । त्यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको छ’, उनले भने । केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष शर्माले बताए । उनले भने, ‘न्यूनतम रु ५० देखि रु २५ हजारसम्म टिकट शुल्क तोकिएको छ ।’ पृथ्वीराजमार्गमा रहेको तल्लो स्टेशनबाट माथि स्टेशनको बन्दीपुर बजारस्थित कलेजमा पढ्न जाने र आउने विद्यार्थीलाई पचास रुपैयाँ, पत्रकारलाई तीन सय पचास रुपैयाँ, अन्य यात्रुका लागि पाँच सय रुपैयाँ, रेष्ट्रो क्याबिनको २५ हजार रुपैयाँ र ६५ वर्ष माथिका नागरिकलाई टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ । केबलकार र पाँचतारे होटल गरी कूल तीन अर्ब रुपैयाँ अन्ठाउन्न करोडको लागतमा निर्माण सम्पन्न गर्न लागिएको कम्पनीका इन्जिनियर हरिदत्त पौडेलले जानकारी दिए। उनका अनुसार बन्दीपुर आउने पर्यटकले केबलकारबाटै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै मनोरञ्जन प्राप्त गर्न सक्नेछन् । रासस