ट्रयाक खुलेको दुई दशकपछि बाबियाचौर सडक कालोपत्र
गलेश्वर । बाटो पुगेको (ट्रयाक खुलेको) दुई दशकपछि म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसम्म सडक कालोपत्र भएपछि बाबियाचौरदेखि म्याग्दीको सदरमुकाम बेनीबजार २० मिनेटमा पुग्न सकिने भएको छ । २४ किलोमिटर दुरीको बेनी –दरबाङ सडकको बेनीदेखि बाबियाचौरसम्मको १७ किलोमिटर सडक कालोपत्र भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । सडक कालोपत्र नहुँदा बाबियाचौरदेखि बेनी पुग्न डेढघण्टा लाग्ने गर्दथ्यो । सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका बासिन्दा लाभान्वित भएका छन् । दरबाङसम्म कालोपत्रको काम छिटो सम्पन्न गराउन निर्माण कम्पनीलाई दबाब दिन स्थानीयले माग गरेका छन् । विसं २०६३ मा ट्र्याक खुलेको बेनी –दरबाङ सडक अन्तर्गतको बेनी–बाबियाचौर खण्ड कालोपत्र भएको हो । दुई वर्षअघि बेनी बजारदेखि १२.५ किलोमिटर मंगला गाउँपालिका–२ सिममा पुगेको कालोपत्र सडक यसवर्ष पूर्वाधार विकास कार्यालयले विस्तार गरेर तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर हुँदै रणवाङको सिमानामा पुर्याएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न विसं २०७८ पुस १८ गते अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । बेनी–दरबाङ सडकको आठ किलोमिटर खण्ड कालोपत्र गर्न बाँकी रहेको छ । बेनी–दरबाङ सडक आयोजना अन्तरगत तेस्रो खण्ड रणबाङ–दरबाङ (करिब ७ किमि) को कालोपत्र योजनाको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । सडकको बाँकी अन्य खण्डको कालोपत्र भइसकेको अवस्थामा पूर्वाधार कार्यालयबाट केही रकम निकासा भएपछि बेपत्ता भएका हुन् । ठेकेदारले विभिन्न बाहना र शक्ति केन्द्रको पहुँच देखाउँदै आएका स्थानीयले बताएका छन् । यो सडक कालोपत्र आयोजनाको ठेक्का बिरुवा–क्याराभान जेभीले विसं २०७६ जेठ ३१ लिएको थियो । ठेकेदारको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयवासीले सास्ती पाउने गरेका छन् । मंगला गाउँपालिका–२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ६.८ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार,आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न भएको छ । गत चैत–वैशाखदेखियता निर्माण व्यवसायी निर्माण आयोजनास्थलमा देखिएका छैनन् । बेनी–बाबियाचौर खण्डा कालोपत्र भएपछि यात्रा सहज, सुरक्षित र अवधि छोटिएको मंगला गाउँपालिका–५ छिस्वाङका विकल सेनले बताए । ‘कच्ची सडक हुँदा बाबियाचौरदेखि बेनी पुग्न १ घण्टा ३० मिनेट लाग्ने गरेको थियो,कालोपत्र भएपछि बाबियाचौरदेखि २० मिनेटमै बेनी पुग्न सकिने भएको छ,’ उनले भने । सडकलाई आठ मिटर फराकिलो बनाएर र सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिएको ओमबुद्ध निर्माण कम्पनीका प्रतिनिधि डम्मर सापकोटाले बताए । तोराखेत खण्डमा सडकको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरूको बिबादले करिब एक सय मिटरमा कालोपत्र गर्न र संरचना निर्माणलाई अन्तिम रूप दिन नपाएको उनको भनाइ छ । बिरुवा–क्याराभान जेभीले विसं २०७६ असार ३१ गते रु बाइस करोड ५७ लाख नौ सय ३२ मा ठेक्का लिएको बेनी–दरवाङ सडकको तेस्रो प्याकेजमा पर्ने मंगला गाउँपालिका–२ लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङ सम्मको ६.८ किलोमिटर सडक निर्माणको काम भने अधुरो रहेको छ ।
६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन
हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत उत्पादन गरिरहेको छ । कुलेखानी प्रथम जलविद्युत केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको हो । कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार १ हजार ५ सय ३० मिटर गहिराईको पानीमा सञ्चालन हुने कुलेखानी जलासयको सतह घटेर १ हजार ४ सय ८५ मिटर पुगेपछि अत्यावश्यक समयमा मात्र आयोजनाले उत्पादन गरिरहेको छ । पछिल्लो समय पानी नपरेकाले जलविद्युतको महत्वपूर्ण ‘ब्याकअप’ आयोजना मानिने कुलेखानीमा पानीको सतह घटेको प्रमुख भट्टले जानकारी दिए । विशेष गरी नदीको पानी कम हुँदा विद्युत आपूर्ति सन्तुलन गर्न र विद्युत अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथी हुँदा विद्युत वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत आयोजना प्रयोग गरिन्छ । समुद्री सतहबाट १ हजार ४ सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने उनको भनाइ छ । पछिल्लो समयमा कुलेखानी जलविद्युत आयोजना नियमित चलाउनुपरेको र पानी नपरेका कारण इन्द्रसरोवरमा पानीको सतह घटेको उनले जानकारी दिए । प्रमुख भट्टका अनुसार सोमबारसम्म १ हजार ४ सय ८४.९८ मिटरसम्म मापन गरिएको थियो । गएराति पानी परेपछि मंगलबार बिहान थप पानी जम्मा भएको छ । उनका अनुसार विसं २०५८ पछि यसवर्ष पानीको सतह धेरै घटेको हो । कुलेखानीबाट आपतकालीन समयमा मात्रै बिजुली उत्पादन गरिने उनको भनाइ छ ।
बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सुरु गर्न गोरखा र धादिङका सांसदको प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम सुरु गनुपर्ने माग राख्दै गोरखा र धादिङका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भेटेर सांसदहरूले आयोजना निर्माण छिटो सुरु गर्न माग गरेका हुन् । प्रतिनिधि सभा सांसदहरू बजगाई, रामनाथ अधिकारी, बिना लामा, बुद्धिमान तामाङ, राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठ र कमला पन्तले बूढीगण्डकी आयोजना सुनिश्चितता माग गर्दै प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराएका हुन् । सांसद राजेन्द्र बजगाईंले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितता, त्यस क्षेत्रका बासिन्दाको पुनर्वास, सडक तथा दूरसञ्चार लगायतमा राज्यले उदासिनता देखाएको देखाएकाले यसमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् । उनीहरूले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना निर्माण हुन्छ भन्ने विश्वास राज्यका तर्फबाट दिलाइनुपर्ने पनि बताएका थिए । प्रधानमन्त्री दाहालले बूढीगण्डकी आयोजना निर्माण हुने प्रतिबद्धता व्यक्त गरेको बजगाईंले बताए ।