७७ करोडको लगानीमा पोखरामा सडक स्तरोन्नति गरिँदै

कास्की । विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा सडक स्तरोन्नति हुने भएको छ । पोखरा महानरपालिका-१७ दोबिल्लाबाट सुरु भएर बाघमारा-तिक्लाङ-बडहरकोट-लामगाडी-चापलाङ-उपल्लो पुडिँटार-तल्लो पुँडीटार-झिगटे (जनजागृति मावि) तगारेगौडा–तल्लो गगनगौडाँसम्मको सडक स्तरोन्नतिका लागि सम्झौता भएको हो । पोखरामा निर्माण हुने यस सडक विश्व बैंकको लगानीमा बन्न लागेको तेस्रो परियोजना हो । सो सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालि भरतपुरबीच सम्झौता भइसकेको छ । सडक आगामी तीन सय ९० दिनमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । विश्व बैंकको ७७ करोड ६८ लाख ९२ हजार आठ सय ३७ रुपैयाँ लागत सहयोगमा दुईवटा खण्डमा सडक निर्माण हुने पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिए । उनका अनुसार परियोजनाअन्तर्गत करिब १२ दशमलव ४४ किलोमिटर सुविधासम्पन्न सडक निर्माण हुनेछ । सडकको पहिलो खण्डमा वडा नं ३३ को कार्यालयबाट उपल्लो पुँडीटारसम्म नौ दशमलव छ सय २७ किलोमिटर र दोस्रो खण्डमा पहिलो खण्डको अन्तिम विन्दुबाट तल्लो गगनगौडा (पृथ्वीराज मार्ग)सम्म दुई दशमलव आठ सय १३ किलोमिटर सडक निर्माण हुनेछ । सात मिटर चौडाइको सडक ‘अस्फाल्ट पिच’ हुनेछ । सडकको दायाँबायाँ ड्रेनसहितको दुई–दुई मिटरको ‘फुट ट्रयाक’ हुनेछ । सडक स्तरोन्नति सम्झौतापछि परियोजनाको ‘ज्वाइन्ट सर्भे’को काम सुरु भइसकेको महानगरले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत थापाले भने, ‘अबको केही दिनमा फिल्डमा काम सुरु हुनेछ । सडक स्तरोन्नति तोकिएको समयमा सम्पन्न गर्न र निर्माणमा गुणस्तर कायम गर्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेका छौँ ।’ पोखरा महानगरमा विश्व बैंकको सहयोगमा यस अघि तालचोक बेगनास सडक र शिशुवा–सिसाघाट सडक निर्माण दुई परियोजना सञ्चालनमा छन् । दोबिल्लाबाट वडा कार्यालयसम्मको बाटो सडक विभागले निर्माण गरिरहेको छ । तीनकुनेबाट दोबिल्ला पुलसम्मको बाटो भने प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको छ । रासस

तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू रहेका छन् । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ । मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि सोही विद्युत प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत उत्पादनका सुरु गर्न संरचना तथा उपकरण परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएपछि हाल सुरुङको मर्मत भइरहेको छ । सुरुङ मर्मत आगामी भदौ दोस्रो साताभित्र सक्ने लक्ष्य राखिएकाे छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार सबस्टेसन, प्रसारण लाइन र मध्यभोटेकोशीको सुरुङ मर्मत कार्यको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे । कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेकाले मध्यकोटेकोशीबाट उत्पादित विद्युत प्रवाहका लागि समस्या नरहेको उल्लेख गरे । घिसिङले भने, ‘सबस्टेसन तयार गर्न नसक्दा मध्यभोटेकोशीको विद्युत जोड्न नसकिने हो कि भन्ने अवस्था थियो, अब २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेपछि आयोजनाको विद्युत जोड्न विभिन्न विकल्पहरु तयार भएका छन्, चुहिएको सुरुङ मर्मतका लागि पनि केही समय लाग्ने देखिएको छ, त्यसैले अब प्रसारण लाइन तथा सबस्टेसन अभावमा आयोजनाको विद्युत खेर नजाने अवस्था बनेको छ ।’ मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनको टावरहरू निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ । बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले २ किलोमिटर तार तान्न सकिरहेको छैन । मध्यभोटेशीको विद्युत प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युतलाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिंगल सर्किट प्रसारण लाइनलाई डबल बनाएर बाह्रबिसे सबस्टेसनमा लगिने छ । सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती-बाह्रबिसे वा बाह्रबिसे-काठमाडौं प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ । उक्त लाइनहरू सम्पन्न भएपछि सोहीमार्फत विद्युत प्रवाह हुने छ । तामाकोशी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये २ वटाको मात्र निर्माण बाँकी छ । नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण १ वटा टावर निर्माण हुन सकिरहेको छैन । सोही क्षेत्रमा प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीहरुले जग्गाको सत्प्रतिशत क्षतिपूर्तिको माग गरेका कारण १.३ किलोमिटर तार तान्न समस्या छ । ४३ किलोमिटर प्रसारण लाइनमध्ये ३४ किलोमिटर तार तानिएको छ । त्यस्तै बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ५ वटा टावर निर्माण बाँकी छ । अहिले स्थानीयको अवरोध हटिसकेकाले टावर प्याड निर्माणका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारणको प्रक्रियामा रहेको आयोजना प्रमुख नितेश पौडेलले बताए । ‘४६ किलोमिटर प्रसारण लाइनमध्ये ४२ किलोमिटर तार तानिसकिएको छ, अवरोध भएको ठाउँको मात्र काम बाँकी छ’, उनले भने । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी-काठमाडौं प्रसारण लाइन र सबस्टेसन निर्माण गरिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋण रहेको छ ।

राजविराज-सखडा खण्ड मर्मत गरिँदै

  राजविराज । वर्षाको समयमा राजविराज–सखडा र सखडा–नेउर खण्डमा आवागमनमा समस्या हुने भएकाले पाँच दिनभित्र मर्मत गरिने भएको छ । छिन्नमस्ता गाउँपालिकामा सडक डिभिजनका कर्मचारीसहित स्थानीय जनप्रतिनिधि बैठकले आवश्यक मर्मतसम्भार गरी आवतजावत सहज बनाउन तत्काल काम सुरु गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । वर्षाले हिलाम्मे भई आवतजावत अवरुद्ध भएको उक्त सडकलाई पाँच दिनभित्र मर्मत गरिने सडक डिभिजन कार्यालय लहानका प्रतिनिधि र ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको उनले बताए । गाउँपालिका अध्यक्ष चौधरीले भने, ‘पाँच दिनमा सडक स्तरोन्नति गरी वर्षामा सहज आवागमन बनाउने सकमति भएको छ । छैटौँ दिनसम्म काम सम्पन्न जनप्रतिनिधिसहित स्थानीय सडक डिभिजन कार्यालयमा धर्नामा बस्ने निर्णय गरेका छौँ ।’ रुपनी–छिन्नमस्ता २२ किलोमिटर सडकमा बोलपत्र आह्वान भए पनि कामले गति लिन सकेको छैन । अहिले वर्षाको समयमा राजविराज हुँदै छिन्नमस्ता दर्शनका लागि आउनेजाने श्रद्धालुले सास्ती खेप्नु परिरहेको छ ।