मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डमा २२ पुल निर्माण

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा-सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन् । निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर लामा छन् । निर्माण पूरा हुन बाँकी १५ पुलमध्ये नौ वटाको ‘एप्रोच’ सडक मात्र बन्न बाँकी छ । उनले संरचना निर्माण हुने क्षेत्रमा बन परेको र कटानको अनुमति नपाएका कारण काम रोकिएको बताए । ६ वटा पुलको भने आधारभूत संरचना नै बन्न बाँकी रहेको उनले बताए । मोरङ, सुनसरी, झापा र इलामका खोलामा पुल निर्माण भएका छन् । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ् तेली, बिजुवा, बुकुवा, रतुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ । सूचना अधिकारी दत्तका अनुसार ९ वटा पुलको मूल संरचना सकिए पनि रूख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको छ । सबै पुलको लागत६ अर्ब १२ करोड ६२ लाख ५४ हजार रुपैयाँ छ । यसैगरी सडकको भौतिक प्रगति भने न्यून रहेको छ । हालसम्म सडकतर्फको भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको छ भने वित्तीय प्रगति ४५ दशमलव ८१ प्रतिशत रहेको उनले जानकारी दिए । उनले १० अर्ब १३ करोड रुपैयाँ लागतमा झापाको बाहुनडाँगीदेखि सुनसरीको चतरासम्म १ सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको बताए । उनका अनुसार निर्माण व्यवसायीलाई काम सम्पन्न भएका अधिकांश आयोजनाको २९ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । पर्याप्त बजेट प्राप्त नहुँदा भुक्तानीमा विलम्ब भएको हो ।

ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा, ४ हजार मेगावाट विद्युत प्रवाह गर्ने

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका साढे सात बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको हो । ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत प्रसारण सुरु भएको छ । यसअघि ढल्केबर–मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट ४०० केभीमा विद्युत् आयात-निर्यात हुँदै आएको थियो । अब देशभित्र पनि ४०० केभी प्रसारण लाइनबाट विद्युत प्रवाह सुरु गरिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएसँगै मुख्यरूपमा कोशी प्रदेशका तराईका जिल्लाहरूमा विद्युत् आपूर्तिको भोल्टेज सुधार गर्न, समग्रमा देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापारको परिमाण वृद्धि गर्न महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । प्रसारण लाइनले करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्दछ । प्रसारण पूर्वाधार तयार नभएकाले हाल सञ्चालमा रहेको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हुने विद्युत आयात-निर्यात परिमाण अब बढाउन सकिने कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । अहिले दुई देशबीचको विद्युत् आयात निर्यात परिमाण ८०० मेगावाट मात्र छ । उनले कोशी करिडोर हुँदै इनरुवा सबस्टेसनमा आएको विद्युतलाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर-इनरुवा प्रसारण लाइनमार्फत ढल्केबर ल्याएर भारतर्फ निर्यात गर्न पनि सकिने बताए । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म २ सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । प्रसारण लाइनलाई हेटौंडा-ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ । हेटौंडा-ढल्केबर खण्ड निर्माणाधीन छ ।

डेढ दशकपछि बेनी-भकिम्ली सडक स्तरोन्नति

म्याग्दी । डेढ दशकपछि म्याग्दीको बेनी-भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मंगला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी-२ को बगरफाँटबाट दूधेखोला-हल्लेगौडा-डोले-मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो । गत जेठ २९ गते ५ करोड ५९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे-हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर रविन चोखालले जानकारी दिए । यसको लागत ७ करोड ७२ लाख रुपैयाँ रहेको छ । आगामी १८ महिनामा बगरफाँटबाट दूधेखोलासम्मको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ तीन सय ९० मिटर सडक ढलान गरिने छ । सडक सात मिटर चौडा बनाइने छ । विसं २०६५ मा सडक निर्माण गरिएको हो । उक्त सडक हाल चार मिटर चौडा छ । गण्डकी प्रदेश सरकारद्वारा चालु आवमा २ करोड बजेट विनियोजन गरिएको उक्त सडकलाई बहुवर्षीय ठेक्का लगाउन १० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गरिएको सबइन्जिनियर चोखालले बताए । विसं २०७६ मा सुरु भएको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडक यस वर्ष निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको चित्रेबाट पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी छ ।