राधी विद्युतको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । राधी विद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस १८ गते वार्षिक साधारण सभा बिहान ११ बजे ललितपुरमा बोलाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन सभाले पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस ४ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

बलेफी हाइड्रोको १.८२ अर्बको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावरले आज मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हकप्रद सेयरबाट संकलन भएको रकमले आयोजना निर्माण गर्दा बैंकबाट लिएको १ अर्ब ४० करोड रुपैयाँ कर्जा आंशिक भुक्तानी गर्ने, प्रवर्द्धकबाट लिएको ऋण ३० करोड ६४ लाख ४६ हजार रुपैयाँ पूर्ण भुक्तानी गर्ने, ठेकेदार तथा बिक्रेताहरुको १२ करोड १५ लाख २३ हजार रुपैयाँ भुक्तानी गर्नेछ ।

उदीपुर-मार्कीचोक-भरतपुर खण्ड निर्माणले लियो गति, एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने

काठमाडौं । मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणले गति लिएको छ । मर्स्याङदी, दोर्दी तथा त्रिशूली नदी र ति नदीहरुका सहायक खोलामा निर्माण भएका एवम् निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाहरुले उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको सब कन्ट्रयाक लिएर निर्माण अगाडि बढाइएका छन् । उक्त खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको ठेक्का लिएको चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीले छनोट गरेको सब कन्ट्रयाक्ट्ररबाट समयमै काम सम्पन्न गरी लाइन सञ्चालनमा ल्याउने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाहरुले आफैं सब–कन्ट्रयाक लिएर निर्माण अगाडि बढाएका हुन् । यसमा मर्स्याङदी, दोर्दी तथा त्रिशूली नदी र ति नदीहरुका सहायक खोलामा जलविद्युत निर्माण गरी सञ्चालनमा रहेका ७ र निर्माणाधीन ७ गरी १४ जलविद्युत आयोजनाहरुको सहभागिता छ । उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मात्र उक्त नदी र खोलाहरुमा निर्माणाधीन जलविद्युत् आयोजनाहरुको वर्षायामको विद्युत् पूर्ण रुपमा राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुने अवस्था छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मङ्गलबार तनहुँ र चितवनमा निर्माण भइरहेको प्रसारण लाइनको अनुगमन गरी आगामी जेठभित्र काम सम्पन्न गर्न संस्थाकातर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने बताए । कार्यकारी निर्देशक घिसिङले मर्स्याङदी, दोर्दी तथा त्रिशूली नदी र ति नदीहरुका सहायक खोलामा वर्षायाममा उत्पादित विद्युत् प्रवाहका लागि उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्ड महत्वपूर्ण रहेकाले जनशक्ति थप गरी निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान, जग्गा प्राप्ति र मार्गधिकारमा रहेका समस्या समाधान गरी निर्माणस्थल उपलब्ध गराउन आयोजना व्यवस्थापनलाई उनले निर्देशन दिए । डिभिजन वन कार्यालय चितवन र तनहुँका प्रमुखलाई फोन गरी उनले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरिदिएर महत्वपूर्ण प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन अनुरोध गरे । उदीपुर–मार्कीचोक ४० किलोमिटर प्रसारण लाइन खण्डमा ११६ वटा टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ९० वटा टावरको जग जग हालिएको छ । मार्कीचोक–भरतपुर २८ किलोमिटर प्रसारण लाइन खण्डमा ८३ वटा टावर निर्माण गर्नुपर्ने छ । यसमध्ये ३८ वटा टावरको जग हालिएको छ । हाल ६ ठाउँमा काम भइरहेको छ । टावर पार्टस्, कन्डक्टर(तार)लगायतका सम्पूर्ण उपकरण तथा निर्माण सामाग्री आपूर्ति भइसकेको छ । उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्नुपर्ने छ । त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नु पर्नेछ । आयोजना प्रमुख नारायण रेग्मीले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृति सम्पूर्ण प्रक्रिया पूरा गरी केही ठाउँमा कटान सुरु भइसकेको बताए । टावर प्याडका लागि निजी जग्गा अधिग्रहण भइसकेको र मार्गधिकारमा पर्ने जग्गा तथा संरचनाको क्षतिपूर्ति निर्धारणको प्रक्रिया अघि बढिसकेको प्रमुख रेग्मीले उल्लेख गरे । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुकोतर्फबाट निर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीले प्रसारण लाइन समयमा नबनेमा राज्यलाई नै ठूलो नोक्सानी हुने देखिएपछि मस्र्याङ्दी र त्रिशूली नदी करिडोरका जलविद्युत प्रवद्र्धकहरुको अग्रसरता एवम् सहमतिमा सब–कन्ट्रयाक लिएर निर्माण सुरु गरिएको बताए । कार्कीले प्रसारण लाइन सकिएपछि ति नदी करिडोरमा निर्माण भएका जलविद्युत आयोजनाहरुको हाल कायम रहेको वैकल्पिक व्यवस्थालाई चालू आर्थिक वर्ष २०८१/८२ भित्र अन्त्य गर्ने प्राधिकरणसँग सहमति भएको उल्लेख गरे । प्रसारण लाइन निर्माण कार्यसम्पादन अनुगमन एवम् सरोकारवालाहरुसँग समन्वय गर्न प्रवद्र्धकहरुकातर्फबाट ५ सदस्यीय अनुगमन समिति बनाइएको छ । मर्स्याङदी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका चारवटा सबस्टेसनमध्ये उदीपुर र नयाँ भरतपुर सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । लमजुङको खुदी सबस्टेसन निर्माणका अन्तिम चरणमा छ भने मनाङको धारापानीमा सबस्टेसन निर्माणाधीन छ । मर्स्याङदी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ ।