ङादी ग्रुपको १.८५ अर्ब को हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । ङादी ग्रुप पावरले आज पुस २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजारको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो । त्यसैले मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । केयरएनपि डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

पर्यटनमन्त्रीले गरे त्रिभुवन विमानस्थलमा निर्माणाधीन पूर्वाधार निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायतका पूर्वाधारको अवलोकन गरेका छन् । पर्यटनमन्त्रीसहितको टोलीले आज विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गतका कामको अवलोकन गर्नुका साथै प्रगतिबारे जानकारी लिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ देखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरिरहेको छ । निर्माणाधीन पूर्वाधार अवलोकन गर्दै मन्त्री पाण्डेले हाल भइरहेका काम सन्तोषजनक रहेको बताए । उनले निर्धारित समयमै निर्माण सम्पन्न भइ उडान सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले तोकिएकै समयमा काम सम्पन्न गर्न तीन वटा ठेक्का सम्झौता गरेर काम भइरहेको जानकारी दिए । विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्ने छ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुने जनाइएको छ ।

एक सातामा २ हाइड्रोमा जुट्यो लगानी, बैंकहरूले २६ अर्ब ऋण दिने

काठमाडौं । विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले २६ अर्ब रुपैयाँ बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । केहीदिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९.९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो । दानाखोलामा विभिन्न बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९६ करोड रुपैयाँ लगानी गर्नेगरी सम्झौता भइसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्षसमेत रहेका प्रवर्द्धक मोहनकुमार डाँगीले जानकारी दिए । यस आयोजनामा ७४ करोड रुपैयाँको सेयर आयोजना प्रभावित स्थानीयवासीलाई जारी गरिनेछ भने १ अर्ब ७४ करोड रुपैयाँको लगानी सञ्चालक एवं प्रवर्द्धकले गर्नेछन् । साथै लमजुङमा आयोजनास्थल रहेको १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी एक जलविद्युत् आयोजनामा पनि लगानी जुटेको छ । अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको सो आयोजनामा विभिन्न बैंकले १६ अर्ब रुपैयाँ बराबरको लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रवर्द्धक कम्पनीले उपलब्ध गराएको विवरण अनुसार लक्ष्मी सनराइज बैंकले ७ अर्ब रुपैयाँ, ग्लोबल आइएमइ बैंकले ६ अर्ब रुपैयाँ र प्रभु बैंकले ३ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने भएका हुन् । सो आयोजनाको कूल लागत २१ अर्ब ४० करोड रुपैयाँ रहनेछ । कूल लागतमध्ये ७४.७७ प्रतिशत बैंकले र २५.२३ प्रतिशत प्रवर्द्धकले लगानी गर्नेछन् । आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता, विद्युत् उत्पादन अनुमतिपत्रसमेत प्राप्त भइसकेको छ । आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट वार्षिक ५८३.०३ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार अन्य आयोजनामा पनि क्रमशः वित्तीय व्यवस्थापन हुनेक्रम अगाडि बढेको छ । उनले छोटो अवधिमा २० वटा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको र केही प्रक्रियामा रहेको जानकारी दिए ।