उपत्यकाको विद्युत आपूर्ति सुधार्न ६ सबस्टेसन निर्माणाधीन, थप २० वटा निर्माण गरिने
काठमाडौं । काठमाडौं उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सबस्टेसन निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभीका ६ वटा सबस्टेसन निर्माण गरिरहेको छ । यसमध्ये काठमाडौंको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको छ । फुटुङ र मुलपानी सबस्टेसन अन्तिम चरणमा छन् । दुवै सबस्टेसनलाई दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । भक्तपुरको चाँगुनारायण सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । सबस्टेसनलाई सञ्चालन ९चार्ज०मा ल्याउन मात्र बाँकी रहेको छ । चोभार सबस्टेसन आगामी असारभित्र र भक्तपुरको ठिमी सबस्टेसन ८ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेका छन् । प्रत्येक सबस्टेसनको क्षमता ९०/९० एमभिए रहेको छ । सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा थप करिब ५ सय मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुने छ । हाल काठमाडौं उपत्यकाको विद्युत माग ५ सय मेगावाटको हाराहारीमा छ । भविश्यमा बृद्धि हुन सक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५०को समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्ररुमा चरणवद्ध रुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग ३ हजार १ सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले २२०, १३२, ३३ र ११ केभी तहका २० वटा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको हो । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । २२० केभी प्रसारण संरचनाले काठमाडौं उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी २२० केभीको रिङ निर्माण गर्न सर्वेक्षणलगायतका पूर्व तयारीका काम सम्पन्न भइसकेका छन् । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा आपूर्तिका लागि ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ । काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका स्वस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजनाहरु सञ्चालित छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन सबस्टेसनको अनुगमन गरी काठमाडौं उपत्यकाभित्रको विद्युत बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणलाई जतिसक्म्दो छिट्टो सम्पन्न गर्न निर्देशन दिए । निर्माणाधीन सबै सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौंको विद्युत् माग र आपूर्ति व्यवस्थापनमा धेरै सहज भई विद्युत् आपूर्ति थप भरपर्दो एवम् गुणस्तरीय हुने उनको भनाइ छ । काठमाडौंको दक्षिण-पूर्वी क्षेत्रको विद्युत् आपूर्ति सुधारका लागि कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा १३२/११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छ । चपली–भक्तपुर १३२ केभी प्रसारण लाइनलाई मुलपानी सबस्टेसनमा छिराएर विद्युत् आपूर्ति दिइने छ । उक्त सबस्टेसनबाट जडीबुटी, पेप्सीकोला, काँडाघाँरी, गोठाटार, मुलपानी, जोरपाटी, साँघु, ठिमीलगायतका क्षेत्रमा विद्युत आपूर्तिका लागि ११ केभीका ८ वटा फिडर निकालिएको छ । सबस्टेसन चैतभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेसन निर्माण अन्तिम चरणमा छ । बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिने छ । दुई महिनाभित्र उक्त सबस्टेसन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । उक्त सबस्टेसन सञ्चालन आएपछि बालाजु, नेपालटार, गोलढुङ्गालगायतका क्षेत्रको विद्युत् आपूर्ति थप सुधार हुनेछ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुङमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनमा मातातीर्थ सबस्टेसनबाट विद्युत् आपूर्ति दिइनेछ । उक्त सबस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने लक्ष्यकासाथ काम भइरहेको छ । चोभारमा सबस्टेसनबाट चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुर्याइने छ । लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रुपमा चापागाउँ र हरिसिद्धीमा लाइन लगिने छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र विश्व बैंको सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको हो ।
नुवाकोटमा एकै दिन २ मोटरेबल पुल उद्घाटन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नुवाकोटमा एकै दिन दुई पक्की मोटरेबल पुलको उद्घाटन गरेका छन् । शुक्रबार मन्त्री दाहालले नुवाकोटको सिमचौर र त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण गरिएका पक्की पुल उद्घाटन गरेका हुन्। पुलको उद्घाटनपछि विदुर नगरपालिकाको त्रिशूली बजारमा आयोजित कार्यक्रममा उनले योजना माग गर्ने चरणमा पनि प्राथमिकताका आधारमा गर्नुपर्ने बताए । अन्तरदेशीय पहुँच स्थापित गर्ने, बढी जनसंख्यालाई लाभ हुने, गाउँ र सहर जोड्ने तथा उत्पादन र बजारलाई जोड्ने योजना तथा आयोजनहरू प्राथमिकतामा रहने उनको भनाइ छ। निर्माण कार्यमा हुने ढिलासुस्ती र गुणस्तरहिनता मान्य नहुने उल्लेख गर्दै मन्त्री दाहालले तीनै तहका सरकार र नागरिकको सहकार्यले नै समृद्धिको यात्रा अघि बढाउन सकिने बताए। उनले गल्छी(मैलूङ श्याफ्रूवेशी सडक, पासाङ्ग ल्यामू राजमार्ग, मध्य पहाडी राजमार्ग जस्ता दीर्घकालीन महत्वका योजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै उनले हाल देशभरि नै तीव्र गतिमा निर्माण कार्य भइरहेको दाबी समेत गरे । यस्तै पुल उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा पनि सहभागी थिए।
सल्टिँदै लहानमा खानेपानीको समस्या, धमिलो पानी पिउनुपर्ने बाध्यताबाट मुक्ति
सिरहा । लहान नगरपालिका–२४ मलन्हाकी सुशीला सदायलाई छ महिना अघिसम्म इनारको धमिलो पानी खानुपरेको तीतो अनुभव ताजै छ । हिउँदको समयमा थोरै रसाउने त्यही इनारको धमिलो पानी गाउँभरिका मानिसहरुले बाँडीचुँडी पिउनुपर्ने बाध्यता थियो । त्यसमाथि बालबच्चा बिरामी परिरहने समस्या उनले अझै विर्सन सकेको छैन । इनारकै पानी खाने, नुहाउने, लुगा धुनेलगायत काममा प्रयोग गर्नुपर्दथ्यो । करिब १७ घरपरिवारले प्रयोग गर्ने दलित बस्तीको सामूहिक इनार सडक छेउमै छ । वैशाख—जेठको उखरमाउलो गर्मीमा रातभर जाग्राम बसि एक घैला पानी जोहोको लागि गरेको कष्टपूर्ण सङ्घर्ष सुशीलाका लागि कहालीलाग्दा विगत थिए । तर, गत वैशाखदेखि उनले नेपाल खानेपानी संस्थान लहान शाखाबाट धारा जडान गरेसँगै वर्षौँदेखिको खानेपानी समस्याबाट छुट्कारा पाएको छ । ‘अब पानीको समस्या छैन । घरमा धारा जोडेदेखि जतिबेला मन लाग्यो त्यतिबेला सफा र स्वच्छ पानी प्रयोग गर्न पाएका छौँ । एकमुठ्ठी धमिलो पानी पिउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ’, सुशीलाले भनिन्, ‘पहिलेजस्तो बालबच्चा बिरामी भएका छैनन् । पानी नै त रहेछ सबै कुराको मुख्य कारण । पहिले भोगियो, अहिले बल्ल बुझियो ।’ उनले धाराबाट खेर जाने पानीबाट करेसाबारीमा तरकारी तथा फलफूलखेती गर्ने बताइन् । टोलका १७ दलित घरपरिवारले अहिले धारा जडान गरेको छन् । त्यस्तै लहान नगरपालिका–४ सुन्दरपुरकी लिलमदेवी सदायसँग पनि सुशीलाको जस्तै पानी अभावले धेरै पीडा खेप्नुपरेको विगत थियो । तर अहिले उनले खानेपानीको धारा जोडे्की छिन् । पानीको अभावमा भाँडा माझ्न नजिकै रहेको बलान नदी जानुपर्ने बाध्यताबाट उनलाई मुक्ति मिलेको छ । आफ्नै घरमा धारा जडान भएदेखि उनी खुसी भएकी छिन् । ‘पहिलाको दुःख सम्झेर पानी खेर फालेको छैन । सधैँं यस्तै पानी आइरहोस्’, उनले भनिन् । लिलमदेवी र सुशीलादेवी जस्तै लहान नगरपालिकाका विषेशगरी गृहिणी खानेपानीको सुविधा भएपछि खुसी भएका छन् । यसरी लहानका गाउँ र बस्तीमा सहजरुपमा खानेपानीको सेवा विस्तार हुनुमा नगरपालिका, खानेपानी संस्थान तथा गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको छ । चुरेसँग जोडिएको यस नगरक्षेत्रमा भूमिगत पानीको स्रोतहरु सुक्दै जान थालेपछि यहाँका स्थानीय पछिल्लो समय खानेपानी अभावको दिगो समाधानको खोजीमा थिए । ठीक त्यसैबेला गैरसरकारी संस्था ‘वाटर एड’ नेपालको सहयोग तथा लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान र नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा सन् २०१८ देखि विकन परियोजना सञ्चालन भयो । केही वर्ष पहिलेसम्म सीमित व्यक्तिले फाट्टफुट्ट धारा जडान गरेको पाइन्थ्यो भने परियोजना सञ्चालनपछि धारा जोड्नेको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ । स्थानीयमा जनचेतनाको अभावमा कुवाकै पानी खोने र त्यहीँ पानी वस्तुभाउलाई पनि खुवाउने प्रचलन व्याप्त रहेको बताउँछन् दलित जनकल्याण युवा क्लबका विकन परियोजना कार्यक्रम प्रबन्धक राजेशकुमार लोहनी । उनले भने, ‘त्यतिबेला मुख्य सहरी क्षेत्रमा मात्र धारा जोड्ने काम हुन्थ्यो । गाउँघरमा पैसा तिरेर धारा जोड्ने कल्पनासम्म पनि मानिस गर्दैन थिए । कुवा, इनार, चापाकलमै निर्भर थिए अधिकांश नागरिक ।’ परियोजनापछि स्थानीय सङ्घ संस्था तथा सरोकारवाला निकायको सक्रियतामा धारा जडान गर्ने सेवाग्राहीको सङ्ख्या बढदै गएको उनको भनाइ छ । नेपाल खानेपानी संस्थान शाखा कार्यालय लहानका खानेपानी वितरण शाखा प्रमुख लट्टु यादवका अनुसार हालसम्म नगरक्षेत्रमा पाँच हजार तीन सय १९ धारा जडान भएका छन् । यसमध्ये एक हजार दुई सय २९ दलित परिवारले धारा जडान गरेका छन् । नगरका विभिन्न वडामा गरी हालसम्म एक सय १५ किलोमिटर खानेपानीको पाइपलाइन विस्तार भएको छ । प्रमुख यादवका अनुसार विसं २०५६ सालदेखि सञ्चालित यहाँको खानेपानी संस्थानमा छ वर्षअघि सुरु भएको विकन परियोजना सञ्चालन हुनुभन्दा अगाडि करिब दुई हजारको सङ्ख्यामा मात्रै खानेपानीको धारा जडान भएको थियो । उनका अनुसार लालपुर्जा भएका व्यक्तिलाई धारा जडानका लागि छ हजार तीन सय ९० खर्च लाग्ने गरेको छ । जसमा तीन हजार धरौटी, तीन हजार दुई सय २० राजस्व, ४० खानेपानी कार्ड, निवेदन शुःल्क २० र पहिलो महिनाको न्यूनतम शुल्क एक सय २० लाग्ने गर्छ । लालपूर्जा नभएको सुकुम्बासीलाई धरौटी, राजस्व र कार्ड गरेर १० हजार एक सय १० लाग्ने गर्छ । न्यूनतम एक सय २० मा सेवाग्राहीले १० हजार लिटर पानी प्राप्त गर्ने गरेका छन् । त्यसपछि प्रतियुनिट २५ लाग्छ । एक युनिटमा एक हजार लिटर पानी हुन्छ । दलित समुदायलाई अनुदान लहान नगरपालिकामा करिब २० हजार सुकुम्बासी दलित समुदायको जनसङ्ख्या रहेको तथ्याङ्क छ । उनीहरुसँग घरजग्गाको लालपुर्जा छैन । त्यसैले उनीहरूलाई नगरको र संस्थाको संयुक्त अनुदान उपलब्ध गराइएको छ । धारा जडानका लागि नगरपालिकाले तीन हजार सात सय २० र परियोजनाले तीन हजार दुई सय ७०सहयोग गर्ने गरेको छ । त्यसकारण यहाँका दलित समुदायले धारा जडान शुल्क तीन हजार एक सय २० मात्र तिरे पुग्छ । त्यसैगरि नगरपालिकाको वडा नं २, ७ र १४ का दलित समुदायमा धारा जडान गराउन त्यहाको वडा कार्यालयले सहयोग गरेको छ । वडा नं २ मा ६३ घर, वडा नं ७ मा २८ घर र वडा नं १४ मा ६३ दलित घरपरिवारले वडाको आर्थिक सहयोगमा निःशुल्क धारा जडान गरेका छन् । उनीहरूलाई परियोजनाले धारा सामग्री पनि सहयोग गरेका छ । खानेपानीको क्षेत्र विस्तार लहान नगरपालिकामा जम्मा २४ वटा वार्ड रहेका छन् । खानेपानी वितरण शाखा प्रमुख यादवका अनुसार विकन परियोजना सञ्चालन हुनुअघि करिब दुई दशकसम्म वडा नं १ देखि १० सम्ममात्रै खानेपानी संस्थानले काम गरिरहेको थियो । अहिले वडा नं १३, १४, १६ र २४ मा खानेपानीको पाइपलाइन तथा धारा जडान विस्तार भएका छन् । उनका अनुसार धाराको माग भए बमोजिम २४ वटै वडामा खानेपानीको सेवा विस्तार हुनेछ । जसमध्ये वडा नं. २४ मा पछिल्लो सेवा विस्तार गरिएको हो । वडा नं २४ किसान बाहुल्य रहेको वडा पनि हो । यहीँका किसानले उत्पादन गरेको तरकारीले नगरको करिब ७० प्रतिशत माग धानेको वडाअध्यक्ष राशलाल राय बताउँछन् । चुरेसँग जोडिएको यस वडामा पानीको सङ्कट गहिरिँदै जाँदा सञ्चालित उक्त परियोजना निकै नै प्रभावकारी भएको उनको भनाइ छ । उनले भने, ‘सायद विकन परियोजना नआएको भए यो सम्भव थिएन । अब वडामा कोही पनि नागरिक खानेपानीको अभावमा बस्नु परेको छैन ।’ लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले खानेपानी संस्थानको सहकार्यमा सञ्चालित उक्त परियोजनाबाट यहाँका स्थानीयको समस्या समाधान भएको बताए । परियोजनालाई खानेपानी मन्त्रालय र खानेपानी संस्थानले पनि सहयोग गरिरहेकाले यसै परियोजनामार्फत सन् २०३० सम्ममा लहानका सबै घरमा शुद्ध खानेपानी पुर्याउने लक्ष्यसहित काम भइरहेको नगरप्रमुख चौधरीले जानकारी दिए । रासस