माथिल्लो अरुण जलविद्युतको पहुँचमार्ग निर्माण सुरु, हेलिकप्टरबाट सामग्री ढुवानी

<p>काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा बन्ने १ हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर २ हजार १ सय रुख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिए । हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको [&hellip;]</p>

काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा बन्ने १ हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ ।

पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर २ हजार १ सय रुख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिए । हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको हो । आयोजना निर्माण गर्न ४१३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ ।

भोटखोला गाउँपालिका-२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि १३ करोड ६५ लाख रुपैयाँ राजस्व वन विभागमा भुक्तानी भइसकेको छ ।

प्रशासन प्रमुख चौहानका अनुसार उक्त क्षेत्रमा जग्गाको मूल्य प्रतिरोपनी १ लाख ५० हजार रुपैयाँ तोकिएको थियो । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पिडिए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिने छन् । आयोजनाले बिरुवा रोप्न, हुर्काउन र बढाउन १३ करोड ६५ लाख रुपैयाँ वन विभागलाई भुक्तानी गरिसकेको छ ।

पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । भोटखोला गाउँपालिका-४ छोराङदेखि भोटखोला-२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ । पहुँचमार्ग निर्माण गर्न ७ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

Share News