दोधारा-चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा चाँदनी । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा-चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुने बताएका छन् ।    आइतबार सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्दै उहाँले बन्दरगाह निर्माणका लागि ठेक्का स्वीकृत भइसकेकाले अब छिट्टै काम सुरु हुने बताएका हुन् । गृहमन्त्री लेखकले भने, 'बन्दरगाहमा आवश्यक संरचना निर्माणका लागि ठेक्का स्वीकृत भइसकेको छ । अब चाँडै शिलान्यास गर्ने गरी तयारी भइरहेको छ । निर्माण सुरु भएपछि तीन वर्षभित्र बन्दरगाह बनाइसक्ने योजना छ ।'  बन्दरगाह निमार्णका लागि दोधारा–चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनको ४१ हेक्टर जग्गामा एक हजार ५९३ रुख कटान भइसकेका छन् ।  भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच १ जुन २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।  सोही सम्झौताअनुसार दुवै तर्फबाट निर्माणको तयारी भइरहेको हो । भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँको लागतमा टेन्डर आह्वान गरेर निर्माण कम्पनी छनोट गरिसकेको छ ।  बन्दरगाह निर्माणका लागि प्रयोग हुने जग्गामा दुई वटा गोदाम, भन्सार जाँच तथा क्वारेन्टाइन भवन, इमिग्रेसन तथा सुरक्षा भवनललगायत पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।  नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गरिसकेको छ । भारतले आफ्नो क्षेत्रतर्फ बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ । रासस

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

कीर्तिपुर । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ ।  रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ ।  निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् । प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।   

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल, ५० घरपरिवार र सडक संरक्षित

म्याग्दी । राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाले सडक, पुल र बस्ती संरक्षणका लागि तीन करोड ३९ लाख ८६ हजार ८२३ को लागतमा नदी किनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो । पर्खाल निर्माणपछि सडक, मोटरेबल पुल, गलेश्वर र राहुघाटको बस्तीमा बाढी र कटानको जोखिम न्यूनीकरण भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए । राहुघाटको कटानका कारण गलेश्वर, राहुघाटका करिब ५० घरपरिवार, एक सय मिटर सडक र मोटरेबल पुल जोखिममा परेको थियो । राहुघाट नदी किनारमा राहुघाट बस्तीतर्फ ५० मिटर ‘पलम पर्खाल’ र गलेश्वरतर्फ ८५ मिटर ‘कम्पोजिट’ पर्खाल निर्माण भएको योजना कार्यालयले जनाएको छ । गत फागुनदेखि सुरु भएको योजना निर्धारित समयमै सम्पन्न भएको हो । नदीमा आउने बाढीलाई नियन्त्रण गर्न चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि छ तहमा ग्याविन पर्खाल निर्माण भएको छ । रु चार करोड ७२ लाख ३७ हजार ४६४ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत फागुन १३ गते महाप्रभु–विआरटी साय जेभीसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले रातको समयमा पनि मजदुर र उपकरण परिचालन गरेर नदीमा पानीको सतह बढ्नुअघि नै तटबन्ध गरेको बताए । बेनी–गलेश्वर सडकअन्तर्गत गलेश्वरमा पनि नदी कटानबाट सडकलाई जोगाउन तटबन्धन निर्माण भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर बिष्णु चापागाईँले बताए । रासस