दुई सिफ्ट अपरेशन थाल्ने वीरको तयारी, प्रयोगशालाको क्षमता वृद्धि

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताए । ‘अहिले एक सिफ्टमा भैरहेको छ,’ उनले भने, ‘एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं ।’ ल्याब क्षमता वृद्धि निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरु थपिएको बताए । ‘ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौं,’ उनले भने, ‘बाहिर प्रयोगका लागि गैरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ ।’ डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भैरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्याइसकेको बताए । ‘अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ,’ उनले भने, ‘अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन् ।’ अस्पतालको सफाइका लागि काम शुरु वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाईमा खेप्ने गरिरहेको छ । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भैरहेको निमित्त निर्देशक गौतमले बताए । ‘हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौं,’ उनले भने, ‘यसको नतिजा पनि चाँडै देखिनेछ ।’ डा. गौतम एक साता अघि वीरको निमित्त निर्देशकको जिम्मेवारीमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्त दिएका हुन् । यस अवधिमा पनि वीरमा नतिजा देखिने गरी सुधार गर्न मन्त्री पौडेलले भनेका थिए । यसैअनुसार सुधार अघि बढाइरहेको डा. गौतमले बताए ।

स्वास्थ्य मन्त्रालयको सचिवका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त सचिव पदका लागि तीनजनाको नाम सिफारिस गरिएको छ । मन्त्रालयका सचिव डा. रोशन पोख्रेलको समयावधि सकिएपछि रिक्त रहेको पदका लागि डा. टंक बाराकोटी, डा. विकास देवकोटा र डा. संगीता कौशल मिश्रको नाम सिफारिस भएको हो । लोक सेवा आयोगका अध्यक्ष माधव शर्माको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । डा. संगीता कौशल मिश्र सचिव बन्दा स्वास्थ्य क्षत्रमा पहिलो महिला सचिव हुनेछिन् ।    

जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ‘स्क्रिनिङ’ गरिँदै

जुम्ला । जिल्लाको जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन तिला गाउँपालिकाले ‘स्क्रिनिङ’ सुरु गरेको छ । स्वास्थ्य शाखाले पालिकाको जुम्लाकोट स्वास्थ्य चौकीमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन निःशुल्क ‘स्क्रिनिङ’ शिविर सञ्चालन गरेको हो । विशेषज्ञ स्वास्थ्यकर्मीसहितको टोली मङ्गलबार तिलाका ग्रामीण स्वास्थ्य चौकीमा पुगेर ‘माइक्रोस्कोपी स्क्रिनिङ’ शिविरमार्फत नयाँ बिरामी तथा पुरानाको अवस्था पत्ता लगाउन खोजपड्ताल अभियान सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका टिबीरोग सम्पर्कव्यक्ति उत्तम देवकोटाले जानकारी दिए । उनका अनुसार करिब एक सय आठ जनाको स्वास्थ्य जाँच गरिएको छ । देवकोटाले भने, ‘रिपोर्ट आउन दुई दिन लाग्ने छ । जनस्वास्थ्य सेवा कार्यालयबाट टिबीरोग हेर्ने स्वास्थ्यकर्मीसहितको टोलीले यहाँका सम्भावित क्षयरोगका बिरामीको स्वास्थ्य जाँच गरेको हो ।’ गाउँपालिकाका स्वास्थ्यकर्मी गाउँमा पुगेर बिरामी पहिचानसहित स्वास्थ्योपचार सेवा र आवश्यक सल्लाह दिन क्षयरोगसम्बन्धी निःशुल्क शिविर सञ्चालन गरिएको उनको भनाइ छ । पालिकाभित्र अहिलेसम्म नौ जना नयाँ क्षयरोगका बिरामी फेला परेपछि सबैलाई  स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गराइएको देवकोटाले बताए । क्षयरोग मुक्त पालिका बनाउने उद्देश्यले प्रत्येक वर्ष गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयको स्वास्थ्य गरिँदै आइएको उनले उल्लेख गरे । क्षयरोग सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी बढिरहेका पाइन्छन् । तिलामा मदिरा बिक्री तथा सेवन गर्नेलाई कारबाही जुम्लाको तिला गाउँपालिका–५ ले वडामा मदिरा बिक्री वितरण गर्ने तथा सेवन गर्नेलाई कारबाही गर्ने भएको छ । वडाभरिमा मदिरा बिक्री वितरण बढ्दै गएको जनगुनासो आएपछि मङ्गलबार बसेको वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको संयुक्त बैठकले बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो । वडाभरिमा मदिरा बिक्री वितरण गर्ने र खानेलाई कानुनअनुसार जरिवाना तिराउने निर्णय गरिएको वडाध्यक्ष ललित शाहीले बताए । उनले भने, “वडाको निर्णय अटेर गर्नेलाई कानुनबमोजिम सजाय हुनेछ ।” वडामा मदिराका कारण विभिन्न किसिमका घटना तथा घरेलु हिंसा बढेको गुनासो आउन थालेपछि उक्त निर्णय गरिएको उनको भनाइ छ । विसं २०७९ असार ३१ गते बसेको वडासभाको बैठकले मदिरा तथा जुवातासमुक्त विधेयक पारित गरेको थियो । वडाध्यक्ष शाहीले भने, ‘मदिरा सेवन र बिक्री गर्नेदेखि जुवातास खेल्ने र खेलाउनेलाई सचेत लगाउनका लागि अहिले गाउँबस्तीमा सूचना जारी भइसकेको छ ।’ वडा समिति तथा सम्पूर्ण सरोकार भएका निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, समाजसेवी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, बाल क्लब, युवा क्लब, आमा समूहको संयुक्त बैठकबाट उक्त निर्णय भएको वडाध्यक्ष शाहीले बताए । वडालाई बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक पर्ने ५१ सूचक पूरा गरी अगामी चैतभित्र बालविवाहमुक्त वडा घोषणा गर्नेगरी वडा कार्यालयले कार्य गरिरहेको छ । आगामी २०८२ को असारभित्र बालमैत्री स्थानीय शासन वडा घोषणासमेत गर्ने गरी काम अघि बढाइएको वडाध्यक्ष शाहीले जानकारी दिए। पछिल्लो समय जिल्लामा प्रहरी, प्रशासन तथा स्थानीय तहले आ–आफ्ना क्षेत्र र वडामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरिरहेका छन् । वडामा मदिरा न्यूनीकरण समिति गठन गरी अभियान सञ्चालन भइरहेका जनाइएको छ । रासस