प्रदेशका मन्त्री र स्थानीय तह प्रमुखसँग स्वास्थ्य समस्या समाधानमा मिलेर काम गर्न मन्त्रीको प्रस्ताव
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा तीनैवटा तह मिलेर काम गर्न प्रस्ताव गरेका छन् । स्वास्थ्य समन्वय समितिको तेस्रो बैठकको अध्यक्षता गर्दै उनले तीन तहले छरिएर काम गर्दा नतिजा निस्किन गाह्रो भएको बताए । ‘हामीले एक अर्काले फरक फरक ढंगले काम गरेर नतिजा दिन गाह्रो छ,’ उनले भने, ‘बजेट नदोहोरिने गरी अहिलेका स्वास्थ्य समस्या समाधान गर्न मिलेर काम गरौं ।’ मन्त्री पौडेलले तह, प्रदेश तथा संघ अन्तर्गतका अस्पतालहरूमा भनेजति जनशक्ति र स्रोतसाधन पुर्याउन नसकिएको भन्दै एक अर्काका अस्पतालमा तीनै तहले सहकार्य गर्ने हो भने अहिलेकै जनशक्ति र स्रोतसाधनबाट समेत अधिकतम नतिजा दिन सकिने बताए । ‘अस्पतालमा तीनै तह मिलेर लगानी गरौं,’ उनले भने, ‘यो अहिलेको उत्तम आवश्यकता हो ।’ मन्त्री पौडेलले विशिष्टिकृत उपचार सेवा हरेक प्रदेशमा पुर्याउन प्रयास गरिरहेको उल्लेख गर्दै यसमा प्रदेश सरकार र स्थानीय तहबाट पनि साथ अपेक्षा गरेको बताए । ‘हामीले क्यान्सर उपचार सेवा धेरै प्रदेशमा विस्तार भएको तथा मुटु उपचार र प्रत्यारोपण सेवासमेत विस्तार गरिरहेका छौं,’ उनले भने, ‘जलन उपचार पनि सातै प्रदेशमा पुर्याउने योजना छ । यसमा प्रदेशबाट समेत साथ मिलेमा प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विश्वास छ ।’ मन्त्री पौडेलले उपचारात्मक सेवा सुधारसँगै रोग लाग्न नदिनका लागि निरोधात्मक पद्धतिमा काम गर्ने प्रयास संघ सरकारले गरिरहेको भन्दै यसमा प्रदेश र स्थानीय तहबाट सहयोग अपेक्षा गरिएको बताए । ‘अब नसर्ने रोगको निःशुल्क स्कृनिङ गर्न पालिकालाई २ लाख दिँदैछौं,’ उनले भने, ‘प्रदेश र पालिकाले पनि सहयोग गरौं । सबै मिलेर नसर्ने रोग कम गर्न व्यापक सहकार्य गरौं ।’ मन्त्री पौडेलले सबै तहमा बीमालाई व्यवस्थित गर्न सहकार्य आवश्यक रहेको भन्दै यसका लागि समेत सहकार्यको प्रस्ताव गरे । बैठकमा विभिन्न प्रदेशका स्वास्थ्य मन्त्री, नगरपालिका तथा गाउँपालिका महासंघका प्रतिनिधि तथा ललितपुर महानगर प्रमुख, बीमा बोर्डका कार्यकारी निर्देशकसँगै मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।
लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्पन्न, १०० भन्दा बढी विशेषज्ञ चिकित्सकको सहभागिता
काठमाडौं । ग्याष्ट्रो सेन्टर बुटवल र भारतको बीएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनामा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्मेलन सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा–१४ स्थित टाइगर प्यालेसमा आयोजित सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले गरे । उद्घाटन समारोहमा बोल्दै मन्त्री सारुले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्र र राज्यबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै चिकित्सकहरूले आफ्नो पेशागत मर्यादा कायम राख्नुपर्ने धारणा व्यक्त गरे । साथै, अनुसन्धान र अन्तर्राष्ट्रिय अनुभवहरूको आदान–प्रदान स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने उनले बताए । सम्मेलनमा लुम्बिनी प्रदेशका १०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो । चिकित्सकहरूले नवीनतम प्रविधि, अनुभव र अनुसन्धानमा आधारित कार्यपत्रहरू प्रस्तुत गरे । बीएलके म्याक्स हस्पिटलका डा. गौरव ब्रोडले कलेजो प्रत्यारोपणसम्बन्धी नवीनतम अनुसन्धान प्रस्तुत गरे । लुम्बिनी प्रादेशिक अस्पतालका डा. नन्दु पाठकले जनावरबाट सर्ने रोग र फोक्सोमा पर्ने असरबारे कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, वरिष्ठ ग्याष्ट्रोलोजिस्ट डा. संदिपराज कुवँरले पेट र इन्डोस्कोपी विधिबारे, डा. शोभित सिंहले रेडियोलोजीको प्रयोग, डा. पुकार थापाले औषधि र रिब्सले कलेजोमा पार्ने असर, डा. मोहन भुसालले जण्डिस र बेहोसीसम्बन्धी समस्या, तथा डा. रविन हमालले एक्यूट प्याङ्क्रियाटाइटिस र समाधानबारे कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डा. कृष्ण खरेल, लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका अध्यक्ष डा. विष्णु पौडेल, प्रादेशिक अस्पतालका मेसु डा. ईन्द्र ढकाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । ग्याष्ट्रो सेन्टर बुटवलका सञ्चालक तथा कार्यक्रम संयोजक डा. मोहन भुसालका अनुसार यो सम्मेलन रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, दाङ, प्युठान, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाका विशेषज्ञ चिकित्सकहरूको ज्ञान आदान–प्रदानको साझा मञ्च बनेको थियो ।
अध्ययन भन्छ- उच्च रक्तचापका बिरामीले दिनमा एउटा केरा खाँदा राम्रो हुन्छ
काठमाडौं । उच्च रक्तचाप (बीपी) नियन्त्रणमा राख्न चाहनेहरूका लागि हरेक दिन एउटा केरा खानु उपयोगी हुने देखिएको छ । पोटासियमयुक्त केरा उच्च रक्तचाप नियन्त्रण गर्न प्राकृतिक उपायका रूपमा फाइदाजनक मानिन्छ । विशेषज्ञहरूका अनुसार केरामा पाइने पोटासियमले शरीरमा सोडियमको असरलाई घटाउने र रक्तनलीमा हुने दबाब कम गर्ने काम गर्छ । अमेरिकन हार्ट एसोसिएसन र अमेरिकन जर्नल अफ फिजियोलोजी (रिनल फिजियोलोजी) मा प्रकाशित अध्ययनले पनि यसलाई पुष्टि गरेको छ । एक मध्यम आकारको केरामा करिब ४२२ मिलिग्राम पोटासियम हुन्छ, जुन दैनिक आवश्यकताको करिब १० प्रतिशत बराबर हो । अध्ययन अनुसार पोटासियमको अधिक सेवनले नुनको मात्रा घटाउनु भन्दा पनि बीपी नियन्त्रणमा अझ प्रभावकारी भूमिका खेल्छ । केरा खाने सही समय विज्ञहरूका अनुसार केरा बिहान वा बेलुकाको समयमा सन्तुलित नास्ताको हिस्सा बनाएर खान उपयुक्त हुन्छ । खाली पेट केरा खानु उपयुक्त मानिँदैन । रातमा पनि केरा खान सकिन्छ, जसले सुत्ने चक्रलाई सन्तुलित बनाउन मद्दत गर्छ । केरा सेवनका अन्य फाइदाहरू पाचन प्रणालीका लागि लाभदायक फाइबरको स्रोत प्रतिरोधी क्षमता (इम्युनिटी) बलियो बनाउने मेटाबोलिज्म बढाएर तौल घटाउन सहयोग गर्ने मुटु, मिर्गौला, स्नायु र मांसपेशीको कार्य सञ्चालनमा पोटासियमले भूमिका खेल्ने शरीरलाई ऊर्जावान राख्ने विशेषज्ञहरूले उच्च रक्तचाप भएका व्यक्तिहरूलाई औषधीसँगै यस्तो प्राकृतिक उपाय पनि अपनाउन सल्लाह दिएका छन् । तथापि, व्यक्तिगत स्वास्थ्य अवस्थाका आधारमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । एजेन्सी