अब यी दुई औषधि बिक्री वितरण गर्न नपाइने
काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागले बुधबार एक सूचना जारी गर्दै दुई औषधिमा रोक लगाइएको जनाएको हो । विभागकाले मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी०)बिक्री वितरणमा रोक लगाइएको हो । बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेका दुई प्रकारका औषधि बिक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ । औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्री वितरकलाई विभागले जानकारी गराएकाे छ ।
आफन्तले मृत्यु भनिएका बिरामी निको भएर फर्किए
चितवन । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका थिए । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेका थिए । तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए । “मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्कँदै छु”, उनले भने । अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले अस्पतालप्रति धन्यवाद ज्ञापन गरे । अस्पताल तोडफोडका विषयमा परिवार संलग्न नभएको उनले बताए । उनले भने, “तोडफोडमा मेरो संलग्नता थिएन ।” आफूले नबोलाए पनि मृत्यु भएको भनिएपछि इस्टमित्र र गाउँलेले अस्पताल तोडफोड गरेको उनले भने । एपेन्डिसाइटिसको उपचारका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो । उनले जेठ २९ गते मृत्यु भएको भनी अस्पतालमा तोडफोड गरिएको थियो । बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बिग्रिएर आन्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएर घर जान लागेको बताए । रगत नरोकिने (डिआइसी) भन्ने रोगको उपचार गरिएको थियो । रगतमा सङ्क्रमणसमेत भएकाले बचाउन निकै कठिन भएको उनले बताए । यो रोगको सङ्क्रमण भएका बिरामी विश्वमा नै २० प्रतिशत मात्र बच्ने सम्भावना हुने गरेको उनले जानकारी दिए । अस्पतालले उपचारमा कहिल्यै लापरवाही नगर्ने भन्दै उनले अनावश्यक मानिसहरु भीड भएर तोडफोड र गालीगलौजमा उत्रँदा काम गर्नेहरुको मनोबल उच्च बनाउन कठिन हुने बताए । रासस
पछिल्लो २४ घण्टा यता २ लाख बढीमा कोरोना पुष्टि, संक्रमितको संख्या १ करोड १९ नाघ्यो
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड १९ लाख ४१ हजार ६ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार बुधबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ४५ हजार ६ सय ५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ६८ लाख ४४ हजारभन्दा बढी मानिस निको भएका छन् । पछिल्लो २४ घण्टा यता विश्वमा २ लाख ७ हजार ५ सयभन्दा बढी कोरोना पुष्टि भएको छ, भने ५ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा ३० लाख ९६ हजार २ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३३ हजार ९ सयभन्दा बढी रहेका छन् । उपचारपछि १३ लाख ५४ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । कोरोनाले भयाहक स्थित पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६ हजार ८ सयभन्दा बढी रहेका छन् । ब्राजिलमा १६ लाख ७४ हजार ६ सयभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ७ लाख ४३ हजार ४ सय ८१ जना संक्रमित पुगेका छन् । २० हजार ६ सय ५३ जनाको मृत्यु भइसकेको छ भने ४ लाख ५७ हजार उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १६ हजार १ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ७ हजार ४ सय ९९ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)