कोरोनाको आशङ्का भएपछि १ सय ४९ खरिपाटी क्वारेन्टाइनमा
काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १ सय ४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ । कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमानस्थलबाट ९ वटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टाइमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । एउटै विमानमा आएका केहीलाई कोरोनाको आशङ्का भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरुलाई भने सिधै क्वारेन्टाइन लगिएको हो । क्वारेन्टाइनमा लगेर पिसिआर परीक्षणको तयारी गरिएको उनले जानकारी दिए । रासस
प्रत्येक प्रदेशमा सशुल्क पिसिआर परीक्षण हुने
काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा मात्र हुँदै आएको सशुल्क पिसिआर परीक्षण अब प्रत्येक प्रदेशमा पनि हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे प्रवक्ता जागेश्वर गौतमले अब प्रत्येक प्रदेशमा पनि हुने भएको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको असार २४ गते बैठकले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा सशुल्क पिसिआर परीक्षणका स्वीकृति दिने निर्णय गरेकाे गाैतमले बताए । यसअघि काठमाडौं उपत्यकाको वीर, पाटन र त्रिवि शिक्षण अस्पतालमा मात्रै सशुल्क परीक्षण हुँदै आएको थियो। प्रदेश १ मा कोशी अस्पताल र प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णालीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिमा प्रादेशिक प्रयोगशाला धनगढीले सशुल्क परीक्षणका लागि स्वीकृति पाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। कुनै ट्राभल हिस्ट्री नभएको, जोखिममा नपर्ने तर आफुलाई शंका लागेका व्यक्तिले यी अस्पतालहरुमा ५ हजार ५ सय रुपैयाँ तिरेर पिसिआर परीक्षण गर्न पाउँनेछन् ।
मनाङ जिल्ला पनि कोराेना संक्रमित मुक्त
काठमाडाैं । मनाङ जिल्ला पनि कोराेना संक्रमित मुक्त बनेकाे छ । शुक्रबार भएकाे मन्त्रालयकाे नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले मनाङ जिल्ला पनि काेराेना संक्रमित मुक्त भएकाे बताएका हुन् । याेसँगै नेपालमा काेराेना मुक्त हुने जिल्लाकाे संख्या छ पुगेकाे छ । यसअघि धनकुटा, भाेजपुर, साेलुखुम्बु, मुस्ताङ र हुम्ला जिल्ला काेराेना संक्रमित मुक्त भएकाे गाैतमले जानकारी दिएका थिए। शुक्रबार नेपालमा १ सय १८ जना काेराेना संक्रमित थपिएका छन् भने १ सय २९ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ६ सय ४१ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ११ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।