नेपालमा थप १ सय १६ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या १७ हजार नाघ्याे
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा यता थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय १६ जनामा कोराेना भाइरस देखिएको बताए । आज सबैभन्दा बढी प्रदेश नं २ को धनुषामा २१ सङ्क्रमित फेला परेका छन् । यस्तै महोत्तरीमा १९, अछाममा १४, दैलेख छ, पाल्पा र दाङ र कैलालीमा पाँच÷पाँच, जुम्लामा चार, धनकुटा, रोल्पा, प्यूठान र अघाखाँचीमा तीन/तीन, इलाम, पर्सा, काभ्रेपलाञ्चोक, गोरखा, काठमाडौँ र नवलपरासी पूर्वमा दुई÷दुई सङ्क्रमित फेला परेका छन् । यसैगरी सिरहा, सुनसरी, तेह्रथुम, झापा, नुवाकोट, रौतहट, सिन्धुली, ओखलढुङ्गा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा एक÷एक जना सङ्क्रमित भेटिएको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १७ हजार ६१ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या १० हजार ३ सय २८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ९३ हजार ७ सय ३९ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । हाल देशभर २४ हजार ७ सय १६ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६ सय ९५ जना आईसाेलेसनमा रहेका छन् ।
जाडोयाममा काेराेनाकाे महामारी ‘झन् खतरनाक हुनसक्ने’
काठमाडौं । बेलायतमा आगामी जाडोयाममा आउने कोरोना भाइरस महामारीको दोस्रो लहरमा थप १ लाख २० हजार मानिसको ज्यान जान सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । वस्तुपरक प्रक्षेपण गर्दा कस्तो देखिन्छ भनेर हेर्दा उनीहरूले करिब २५ हजारदेखि अढाइ लाखसम्मको अस्पतालमा मृत्यु हुनसक्ने अनुमान गरेका छन् । त्यतिखेर महामारी उत्कर्ष ज्यानुअरी तथा फेब्रुअरीमा पुग्ने ठानिएको छ । हालसम्म यूकेमा ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको तथ्याङ्क छ । तर वैज्ञानिकहरूले गरेको अनुमानमा लकडाउनको प्रभाव वा उपचार वा खोपको उपलब्धताबारे हिसाब गरिएको छैन । जोखिम घट्न पनि सक्छ अनि वैज्ञानिकहरूले भनेका छन्, ‘तत्काल कदमहरू चालिएमा यो जोखिम घट्न सक्छ ।’ यूकेका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालान्सको अनुरोधमा तयार पारिएको प्रतिवेदनमा जाडोयाममा कोरोना भाइरसले कस्तो व्यवहार देखाउला भन्ने विषयमा अझै धेरै अनिश्चय रहेको पनि उल्लेख छ । तर अनुसन्धानहरूमा चिसो हावापानीमा भाइरस लामो समय बाँच्न सक्ने र थप सङ्क्रमण हुन सक्ने देखिन्छ किनभने त्यतिखेर धेरै मानिस घरभित्रै लामो समय बस्छन् । त्यसमाथि सो याममा अरू मौसमी रुघाखोकीको पनि प्रकोप हुनसक्ने अनि अहिले महामारीका कारण उपचार हुन नपाएका कैयौँ मामिलाको पनि बाँकी रहेका बोझ हुने हुनाले स्वास्थ्य सेवामा अधिक चाप पर्न सक्ने चिन्ता विज्ञहरूको छ । सो प्रतिवेदनका अनुसार अहिले नै महामारीको पहिलो लहरका कारण अन्य बिमारीका उपचार पाउन प्रतीक्षारतहरूको सूची लामो भइसकेको छ र यो वर्षको अन्त्यसम्म त्यो एक करोडजति पुग्न सक्छ । प्रतिवेदनको अर्थ के हो ? यो प्रतिवेदनले आफ्नो अनुमानमा धेरै अनिश्चयता रहेको प्रष्ट पारेको छ । यो यसै हुन्छ भन्ने भविष्यवाणीभन्दा पनि यसो हुन सक्छ भन्ने अनुमान मात्र हो । यस्ता अनुमान सधैँ वास्तविकतासँग मेल नखान पनि सक्छन्। किनभने कुनै पनि तत्त्वमा आउने थोरै परिवर्तनले पनि परिणाम भिन्न हुनसक्छ । समग्रमा सन्देश के हो भने – खराब अवस्थाका निम्ति तयार होऊ तर उत्तम अवस्थाको आशा पनि गर । के गर्मी महिनामा कोरोना भाइरस महामारी कम होला ? हाल यूकेमा कोरोना भाइरसका मामिला तथा त्यसबाट भएका मृत्युको सङ्ख्या घटेको छ । विज्ञहरूले यही मौकामा जाडोयाम तथा दोस्रो लहरका निम्ति तयारी गर्नुपर्ने सुझाव दिएका छन् । प्रतिवेदनले दिएका सुझावहरू उक्त प्रतिवेदन बनाउने टोलीका प्रमुख प्राध्यापक स्टीभन होल्गेटले यसलाई भविष्यवाणी नभई सम्भावना मान्न सुझाव दिएका छन् । ‘हामीले तत्काल कदमहरू चाल्यौं भने यस्तो हुने सम्भावना कम हुन्छ’ उनले भने । उक्त प्रतिवेदनले दिएका केही सुझाव यस्ता छन् : परीक्षण तथा सम्पर्क पहिचानको कार्यक्रमको क्षमता अभिवृद्धि गर्ने ताकि कोरोना भाइरस, फ्लू तथा अन्य जाडोयाममा देखापर्ने सङ्क्रमणहरूको लक्षण खुट्ट्याउन सकियोस् फ्लूको खोप धेरैभन्दा धेरै मानिसलाई उपलब्ध गराउने अस्पताल तथा स्याहार गृहहरूमा पर्याप्त पीपीई वा स्वास्थ्य सुरक्षाका पोशाक उपलब्ध गराउने अस्पतालहरू तथा स्याहार गृहहरूमा सङ्क्रमण रोक्न कोरोनाभाइरस मुक्त क्षेत्रको स्थापना गर्ने (स्राेत: बीबीसी)
नेपालमा कोरोना संक्रमितको संख्या किन कम देखिन थाल्यो ? अब संक्रमण बढ्ने जोखिम छ कि छैन ?
काठमाडौं । नेपालमा आइतबार मात्र ८२ जना नयाँ संक्रमित थपिए । कुल ३ हजार ९ सय १६ जनाको रियल टाईम पिसिआर मार्फत परीक्षण हुँदा मात्र ८२ जना अर्थात २ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको हो । पछिल्लो १० दिन अर्थात असार १९ गतेदेखि असार २८ गतेसम्मको नेपालमा संक्रमितको डाटा हेर्ने हो भने संक्रमितको संख्या झण्डै १० प्रतिशतले घटेको छ । १० दिन पहिले असार १९ गते एकैदिन ७ सय ७४ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन ४ हजार ४ सय ८३ जनाको रियल टाईम पिसिआरबाट परीक्षण भएको थियो । अर्थात परीक्षण गरिएको करिब १७ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो १० दिनको पिसिआर परिक्षण र संक्रमितको संख्या यस्तो छ परीक्षण कति घट्यो ? पछिल्लो १० दिनको पिसिआर परीक्षणको संख्या हेर्दा सबैभन्दा बढि असार २३ गते र सबैभन्दा कम असार २७ गते भएको छ । असार २७ गते ५ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ जसमा २ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै असार २७ गते ३ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ जसमा ७० जनामा मात्र कोरोना पुष्टि भएको छ । यसरी सबैभन्दा बढि र कम परीक्षणबीच २ हजार ४ सय ८५ को भिन्नता देखिन्छ । तर यस माथि दिइएको चार्ट हेर्दा परीक्षण धेरै संख्यामा हुँदा धेरैमा संक्रमण पुष्टि हुन्छ भन्ने देखिँदैन । किनभने सबैभन्दा बढी संक्रमित देखिएको असार १९ गते ४ हजार ४ सय ८३ जनाको परीक्षण भएको थियो । दक्षिण एसियामा हेर्ने हो भने माल्दिभ्स र भुटानपछि नेपालकै पिसीआर परीक्षण संख्या राम्रो रहेको छ । संक्रमितको संख्या घट्नुको कारण नेपालमा संक्रमितको संख्या घट्नुको कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका पनि एक हो । मन्त्रालयले कुनै पनि प्रकारको लक्ष्ण नदेखाएको व्यक्तिहरुको परीक्षण नगर्ने निर्देशिका नै जारी गरेको छ । तर स्वास्थ्य विज्ञहरुको अनुसार नेपालमा कोरोना भएको अधिकांश व्यक्तिहरुमा कुनै पनि प्रकारको लक्षण देखिएको छैन । संक्रमितहरुको संख्या घट्नुको यो एउटा मुख्य कारण भएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । स्वास्थ्य मन्त्रालय– अझै त्रासमै छौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमतिको संख्या घट्दै गए तापनि नेपाल अझै त्रासमा रहिरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले देखिएको संख्याले निष्र्कष निकाल्न नसकिने बताए । ‘अहिले पोजेटिभ देखिने संख्या कम हुँदै गरेको देखिन्छ तर यसको निष्कर्ष हामीले अहिले नै दिन सक्दैनौं । हामी अहिले बढिरहेको आवतजावत र मानिसहरुले सामान्य सुरक्षाको विधिहरु पालना नगर्दा संक्रमण फेरि बढ्दैन भनेर हामी भन्न सक्दैनौं,’ डा. अधिकारीले भने । नेपाल भारत खुल्ला सिमाको कारण पनि नेपालमा कोरोना संक्रमण जोखिम कम भएको छैन । भारतमा कोरोना संक्रमण विस्तार भइरहेकोले नेपालमा जोखिम उच्च देखिएको हो । भारतमा अहिले संक्रमण बढेर विश्व कै सबैभन्दा बढि संक्रमित भएको तेस्रो राष्ट्र बनेको छ । संक्रमितको संख्या लुकाउनु भएको हो त भन्ने प्रश्नमा अधिकारीले संक्रमितको संख्या लकाउनु पर्ने कनै कारण नभएको बताए । बाहिर घट्दै उपत्यकामा बढ्दै ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जिल्ला बाहिर संक्रमण घटिरहँदा उपत्यकामा भने बढिरहेको बताए । पाण्डेले उपत्यकामा अहिलेसम्म ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उपत्यकामा देखिएको अधिकांश संक्रमितहरु विदेशबाट आएकाहरु रहेको र कोही कोही भने कुनैपनि ट्राभल हिस्ट्री नभएको व्यक्तिहरु भएको उनी बताउँछन् । कुनैपनि ट्राभल हिस्ट्री नभएको व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ पनि सुरु गरिसकेको उनले बताए । यस्तै काठमाडौँ उपत्यकाका ५ हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरिएको उनले जानकारी दिए ।