कर्णालीका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्के
कर्णाली । पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्या भने दिनप्रतिदिन बढिरहँदा सङ्क्रमणदर भने घट्दो अवस्थामा छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कलाई हेर्दा शनिबार चार जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यो सङ्ख्या कर्णालीमा अहिलेसम्मकै न्यून हो । शनिबारसम्म १७ सङ्क्रमित निको भएसँगै कर्णालीमा कोरोना भाइरस जितेर घर फर्कनेको सङ्ख्या एक हजार ५१० पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । “कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ७३७ पुगेको छ”, महाशाखा प्रमुख डा तिवारीले भने, “जसमा कूल सङ्क्रमित सङ्ख्याको ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन् ।” उनले सङ्क्रमितहरुमा निको हुनेको सङ्ख्या २१३ मात्र बाँकी रहेको बताए । तीमध्ये प्रदेश अस्पताल सुर्खेतसहित यहाँका विभिन्न आइसोलेसन केन्द्रमा १२६, दैलेखमा ३५, सल्यान १६, रुकुमपश्चिममा १२, कालिकोटमा ११, जुम्लामा छ, जाजरकोटमा पाँच, मुगु र डोल्पामा एक÷एक छन् भने हुम्ला सङ्क्रमितविहीन रहेको प्रमुख डा तिवारीले जनाए । सङ्क्रमण पुष्टि भएका सबै व्यक्तिहरुको अवस्था सामान्य रहेको उनको भनाइ थियो ।
नेपालमा थप ५७ जनामा कोरोना पुष्टि, १०३ जना डिस्चार्ज
काठमाडौं । शनिबार नेपालमा थप ५७ जना नयाँ कोरोना संक्रमित थपिँदा १ सय ३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार भएको ३ हजार ३ सय ३१ वटा पीसीआर परीक्षणमा ५७ जनामा पोजेटिभ देखिएको हो । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ८ सय २५ जना संक्रमित उपचाररत रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा ७९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ४४, बागमती प्रदेशमा ४ सय ११ र गण्डकी प्रदेशमा ४ सय ८ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना संक्रमित उपचाररत रहेका छन् । नेपाल कुल संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्दा निको हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ । अहिलेसम्म पीसीआर विधिबाट ३ लाख ११ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको छ । देशभरी २३ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् ।
साउनसँगै सुदूरपश्चिममा सङ्क्रमित घट्दै
महेन्द्रनगर । मुलुकभित्र कोरोना सङ्क्रमणले प्रवेश पाउँदा अन्य प्रदेशको तुलनामा उच्च जोखिमका रुपमा लिइएको सुदूरपश्चिममा साउन महिना लागेयता सङ्क्रमण दर न्यून रहेको पाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत असार १ गते यहाँका नौ जिल्लामा सङ्क्रमण पुष्टि भएका ३२७ थिए । उक्त संख्यामा सङ्क्रमित देखिँदा यहाँ ५२ जना कोरोना जितेर घर फर्किएका थिए । असार १५ आइपुग्दा यहाँ सङ्क्रमितको संख्या ह्वात्तै बढेर दुई हजार २६६ पुग्यो । त्यसको दश दिनपछिको तथ्याङ्क हेर्दा सङ्क्रमितको संख्या बढेर तीन हजार ७५३ पुग्यो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भारतलगायत अन्य मुलुकबाट आएका नागरिकमा मात्रै कोरोना सङ्क्रमण देखिएको बताए । “एकआध बाहेक यहाँ समुदायमा कोरोना फैलिन पाएन्”, निर्देशक डा. अवस्थीले भने–“कोरोनासितको लडाइमा होमिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेतमा यसको सङ्क्रमण देखियो ।” निर्देशनालयको तथ्याङ्क हेर्दा असार अन्तिममा यहाँ सङ्क्रमतिको संख्या तीन हजार ८०१ पुग्दा निको हुनेको संख्या भने एक हजार ५८५ पुगेको थियो । सुदूरपश्चिममा सुरुवातदेखि नै सबैभन्दा बढी सङ्क्रमण कैलालीमा देखिएको निर्देशनालयले जनाएको छ । हालसम्म कैलालीमा मात्रै ८९० जनामा कोरोना देखिएको कोभिड–१९ कैलालीका सम्र्पक व्यक्ति जयसिंह भण्डारीले जानकारी दिए । कोभिड–१९ सुदूरपश्चिम प्रदेशका सम्र्पक व्यक्ति नरेन्द्र कार्कीले सङ्क्रमणको दायरा साघुरिँदै गएको बताए । “असारमा सङ्क्रमण बढेपनि साउनयता घट्दो गतिमा छ”, उनले भने, “निको भएर फर्किने क्रम पनि बढेको छ ।” बिहिबार तीन हजार ८८० देखिएकोमा शुक्रबार भने एकजना मात्र बढेको देखिएको छ । सुदूरपश्चिममा तीन हजार ८८१ जनामा सङ्क्रमण देखिँदा एक हजार ६६८ जना निको भएर घर फर्किसकेका छन् । यहाँ २९ हजार ७८७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ भने एक हजार ५१० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । कोरोनाबाट यहाँ हालसम्म आठ जनाको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हरेकदिन जसो सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस सङ्क्रमणको ग्राफसहितको विवरण सार्वजनिक गर्छ । कोरोना सङ्क्रमितको स्वास्थ्य उपचार, परीक्षण र सङ्क्रमितहरुको ‘ट्राभल हिष्ट्री’समेत सङ्कलन गरेर रोकथाम तथा न्यूनीरकणमा लाग्नुपर्ने निकायले नै उमेर समूहका आधारमा सङ्क्रमित देखाइएका वयोवृद्ध सम्र्पकमा छैनन् । निर्देशनालयको तथ्याङ्कमा ९० वर्षमाथि एक जना सङ्क्रमित रहेको देखाएपनि ती सङ्क्रमित भनिएका व्यक्ति न स्थानीय तहको सम्र्पकमा छन् । नत कुनै सरोकारवाला निकायको नै । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत असार १८ गते सुदूरपश्चिममा ९६ जनामा कोरोना सङ्क्रमण भेटियो । जसमा कैलालीको जानकी गाउँपालिकामा ९७ वर्षीय पुरुषसहित छ जनामा सङ्क्रमण देखिएको बताइएपनि सङ्क्रमित वृद्धको परिचय भने खुलेको छैन् । कोभिड–१९ कैलालीका सम्र्पक व्यक्ति जयसिंह भण्डारीले भने, “प्रदेश निर्देशनालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वृद्ध जानकी गाउँपालिका भनेपनि त्यहाँ पनि छैन्न ।” उमेरसमुहका आधारमा देखाइएको पीसीआर पोजेटिभको संख्या ९० वर्षदेखि माथि एक जना रहेको ग्राफमा उल्लेख छ । कैलालीको जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरी ९७ वर्षीय पुरुष सङ्क्रमित ग्राफमा देखाइएपनि पालिकामा नभएको बताए । यता प्रदेश जनस्वास्थ्य प्रयोगशालाका एक कर्मचारीले भने ती ९७ वर्षीय सङ्क्रमितको कोरोना सङ्क्रमण भएको पुष्टिसहितको रिपोर्ट गत असार १८ गते त्रिभुवन शिक्षण अस्पतालबाट आएको बताए । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले प्रदेशमा देखिएका ७० वर्षमाथिका सबै वृद्धवद्धा भारतबाटै आएको दाबी गरे । “वृद्धवद्धा राजेगारीदेखि, छोरा छोरीसित भारतमा बस्दै आएको र कोरोनाका कारण घर फर्किदा सङ्क्रमण देखिएको हो ।” निर्देशक डा. अवस्थीले भने–“सुदूरपश्चिममा एक जना बाहेक अरुमा स्थानीय सङ्क्रमण अझै देखिएको छैन ।”