नेपालमा थप १ सय ५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ५० जनामा कोराेना भाइरस देखिएको बताए । गौतमका अनुसार अहिले देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् । हाल क्वारेन्टिनमा २१ हजार ७ सय ४ जना रहेका छन् भने पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ६ सय ९ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।  

स्क्रब टाइफसबाट चितवनमा एकजनाकाे मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत् स्क्रब टाइफसका एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । ज्वरोसँगै स्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएका उनको आज बिहान मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । जिल्लाको एक मेडिकल कलेजमा उपचार गरिरहेका ती विरामीको खर्चको अभाव भएपछि भरतपुर अस्पताल ल्याइएको बताइएको छ । उनका अनुसार मृत्युको कारणमा स्क्रब टाइफसलगायत अन्य समस्या उल्लेख गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले गत आवमा डेङ्गुबाट मृत्यु भएका तीन जनामध्ये एक जनामा स्क्रब टाइफस पनि देखिएको जानकारी दिए । उनका अनुसार मुसाको जुम्राले टोकेर स्क्रब टाइफस रोग लाग्छ । मुसाको जुम्रा झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । चिकित्सकका अनुसार स्क्रब टाइफस रोग लागेमा १०४ डिग्री ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरीरका विभिन्न अङ्ग दुख्ने लक्षण देखिन्छ । मुख्य गरी मुसाको नियन्त्रण गर्ने तथा झारका काम गर्दा सावधानी अपनाउनुपर्छ ।

बेलायतले गरेको कोरोना खोप परीक्षण सफल

काठमाडौं । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले गरेको कोरोना खोप परीक्षण सफल भएकाे छ ।  एस्ट्राजेनेकाको सहकार्यमा निर्माण गरिएको यो खोपको सुरुवाती परीक्षणले मानिसमा खोपको प्रयोग सुरक्षित रहेको देखाउनुकाे साथै प्रतिरक्षा शक्ति पनि राम्रो बनाउन सफल भएकाे हाे । पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त खोप लगाइएको थियाे । १८ देखि ५५ वर्ष बीचका मानिसमा गरिएको खोपको परीक्षणमा दोहोरो प्रतिरक्षा प्रतिक्रिया (एन्टिबडी र टी–सेल) विकास भएको पाइएकाे बेलायतस्थीत एक मेडिकल जर्नलमा सोमबार प्रकाशित भएको छ। जर्नलमा खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्ने ‘एन्टिबडी’ विकास भएको उल्लेख गरिएकाे छ यद्यपी यसलाई सार्वजनिक प्रयोगमा ल्याउनुअघि योभन्दा बृहत स्तरको क्लिनिकल परीक्षण गरिने उनीहरूले बताएका छन्। स्रोत : बीबीसी