विनोद चौधरीलाई कोरोना लागेपछि भिभान्ता होटलमा त्रास, कर्मचारीको काेराेना परीक्षणमा लापरवाही

काठमाडौं । गएको शुक्रबार उद्योगी विनोद चौधरीले आफू कोरोना संक्रमित भएको भन्दै ट्वीट गरे । चौधरी आफ्नो ट्विटरमा लेख्छन् , ‘प्रिय साथीभाई तथा शुभचिन्तकहरु, आज बिहान मेरो कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको छ । भगवानकाे कृपाले मलाई अहिलेसम्म कुनै पनि प्रकारको लक्षण देखिएको छैन । यद्यपी म डाक्टरको सल्लाह अनुसार आईसोलेसनमा बसेको छु । मसँग सम्पर्कमा आउनुहुने सबैजना आवश्यक सुरक्षा विधि अपनाउनु होला ।’ दिउँसोको १२ बजेर ५७ मिनेटमा गरिएको उनको ट्वीट धेरै सञ्चार माध्यमका समाचार बन्यो । सामाजिक सञ्जालमा पनि खुब चर्चा भयो । तर चौधरीले यसो भन्दै गर्दा झम्सिखेलस्थित भिभान्ता होटलमा ठूलो त्रास फैलियो । किनभने चौधरी आफै पनि होटलका संचालक रहेका कारण उनी होटलमा बारम्बार आईरहने गरेको होटलका कर्मचारीहरुले बताए । म्यानेजरको पिसिआर, सामान्य कर्मचारीको आरडिटी चौधरीमा संक्रमण पुष्टि भईसकेपछि होटलले आफ्ना कर्मचारीहरुको पनि परीक्षण गराउने निधो गर्यो । तर होटलले सबै कर्मचारीहरुको पिसिआर परीक्षण गराउनु पर्नेमा एन्टिबडिमा आधारित आरडिटी परीक्षण गराएर घर पठाइदिएको छ । होटलमा खटेका करिब ३५ जना कर्मचारीहरु मध्ये विभिन्न डिपार्टमेन्टका म्यानेजरहरुको पिसिआर र बाँकी सबैको आरडिटी परीक्षण गराइदिएको होटलका एक कर्मचारीले बताए । म्यानेजरहरुको सानेपास्थित स्टार अस्पतालमा पिसिआर परीक्षण गरिएको र अन्य कर्मचारीको पुल्चोकस्थित निदान अस्पतालमा आरडिटी परीक्षण गरिएको स्रोतले बतायो । सरकारले केही महिना अघि मात्र आरडिटी परीक्षणको नतिजा विश्वासिलो नभएको भन्दै एन्टिबडिमा आधारित आरडिटी परीक्षणलाई बन्द गराइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहप्रवक्ताको डा समिरकुमार अधिकारीले एन्टिबडिमा आधारित आरडिटी परीक्षण अब अनुसन्धानको लागि बाहेको कोरोना पुष्टि गराउनको लागि प्रयोग नहुने बताए । उनको अनुसार सरकारले एन्टिजेन्टमा आधारित आरडिटी परीक्षणलाई मात्र परीक्षण गर्न पाउने गाईडलाइन्समा राखेको छ । उनी भन्छन, ‘यदि कसैले पनि एन्टिबडि आरडिटी गराइरहेको पाईएमा नियम अनुसार कारवाही हुनेछ ।’ हाल सरकारले आवश्यक बाहेक सबै सेवाहरु बन्द गर्नु भनिरहेको अवस्थामा होटलले आफ्नो सेवा भने कहिले पनि बन्द नगरेको सोही कर्मचारीले बताए । उनको अनुसार निशेधाज्ञको समयमा पनि धेरै मानिसहरु होटलमा आउने गरेका छन् ।

काठमाडाैं उपत्यकामा थपिए १८६ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८६ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १५५, ललितपुरको १९ र भक्तपुरको १६ जना रहेको गौतमले बताए । आज देशभर ८ सय ८४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

नेपालभर थप ८ सय ८४ जनामा काेराेना देखियाे, १२ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ८५ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ। हाल क्वारेन्टिनमा ८ हजार ३५ जना रहेका छन् भने आजसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आज थप १२ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २०२ पुगेकाे छ ।