सिभिल अस्पतालका कर्मचारीकाे आन्दोलन शुरू, सरकारी कर्मचारी सरह तलव सुविधा दिन माग
काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोके अनुसार नभएको भन्दै आज (आइतबार) देखि आन्दोलन शुरु गरेको हो । कर्मचारीहरुले विभिन्न माग लेखिएका ब्यानरहरु सहित अस्पताल अगाडि उभिएर आन्दोलन गरेका हुन् । यस्तै माग पुरा नहुँदा सम्म हातमा कालोपट्टि लगाएर काम गरिने कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताए । उनले नेपाल सरकारले तोकेको न्यूनतम सेवा सुविधा कायम गर्नुपर्ने, कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गर्नुपर्ने, विनियमावली लागू गर्नुपर्ने, लोकसेवा आयोगको उपस्थितिमा सञ्चालित परीक्षाबाट सिफारिस भएका करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, अस्पतालको बेथिति तथा आर्थिक चुहावटको अन्त्य र दैनिक ज्यालादारीलाई उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखिएको बताए । यस्तै अस्पतालको विकास समिति बोर्डमा कर्मचारी संघको प्रतिनिधि हुनुपर्ने, अस्पतालमा कार्यरत कर्मचारी र तीनका परिवारको उपचारमा शतप्रतिशत छुट हुनुपर्ने, सुत्केरी विदा अघिपछि गरी ९८ दिन हुनुपर्ने र सुत्केरी स्याहार विदा १५ दिन दिनुपर्ने, अस्पतालमा सञ्चालित अतिरिक्त स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउनुपर्ने लगायतका माग समेत कर्मचारीहरुले राखेका छन् । आन्दोलनमा नर्स, ल्याबमा काम गर्ने कर्मचारी, अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । उनीहरु ‘काम नगर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न कसले रोक्यो ?’, ‘सरकारी संस्थामा काम गर्ने कर्मचारीलाई सरकारले तोकेको न्यूनतम तलब दिन के ले रोक्यो ?’, ‘गल्ती गर्ने कर्मचारीलाई संरक्षण किन र कहिले सम्म ?’, ‘कर्मचारीलाई ज्यालादारीमा कहिले सम्म काममा लगाउने ?’, ‘मेरो कार्य मूल्याङ्कन कहिले ?’, ‘१२ वर्षदेखि एउटै तह, स्तरउन्नती कहिले हुन्छ ?’ लेखिएका ब्यानरहरु लिएर आफ्ना मागहरु पुरा गराउन अस्पताल अगाडि उभिएका थिए ।
एकजना काेराेना संक्रमितले ३ हजार मानिसलाई सार्न सक्ने
काठमाडाैं । एकजना काेराना संक्रमितले ३ हजार मानिसलाई काेराेना सार्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले एकजना काेराना संक्रमितले ३ हजार जनालाई काेराेना सार्न सक्ने बताएका हुन् । उनले मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा यस्ताे बताउँदै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् । आइतबार मात्र नेपालमा हालसम्मकै उच्च १२ सय २१ संक्रमित थपिएका छन् भने त्यसमा उपत्यकाका मात्रै ४२९ जना रहेका छन् । पछिल्लाे समय नेपालमा काेराेना संक्रमण बढेकाे अवस्था छ । नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको छ। हाल क्वारेन्टिनमा ७ हजार ७ सय ९७ जना रहेका छन् भने आजसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै हालसम्म २० हजार ८ सय २२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १४ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या २१६ पुगेकाे छ ।
काेभिड अस्पतालसँग समन्वय नगरी संक्रमित पठाए कारवाही हुने
काठमाडाैं । बिना कुनै समन्वय काेभिड-१९ अस्पतालमा काेराेनाका बिरामी रिफर गर्ने अस्पतालहरुलाई कारवाही हुनेभएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कुनै पनि समन्वय नगरी काेराेनाका बिरामी पठाउने अस्पताललाई कारवाही हुने बताएका हुन् । गाैतमले काेराेना संक्रमितलाई बिना कुनै चिकित्सक र समन्वय बिना काेभिड-१९ अस्पतालहरुमा पठाएका बिरामीकाे ज्यान तलमाथि भएमा रिफर गर्ने अस्पताल नै जिम्मेवार हुने बताए । अन्य अस्पतालहरुले रिफर गर्दा काेभिड अस्पतालमा बेडहरु अवस्था बुझेर समन्वय गरी बिरामीलाई चिकित्सकसँग पठाउनुपर्ने उनले बताए ।