परिवारमा कोरोना देखिएपछि स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टिनमा

काठमाडाैं । परिवारकाे सदस्यमा काेराेना देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका छन् । मन्त्री ढकाल तीन दिनदेखि हाेम क्वारेन्टिनमा बसेका मन्त्रालय श्राेतले जानकारी दिएकाे हाे । श्राेतका अनुसार उनी ५ दिनसम्म हाेम क्वारेन्टिनमा बसेर पिसिआर नतिजाकाे आधारमा बाहिर निस्किनेछन् ।

मापदण्ड संशोधन नभएसम्म कोरोना बीमालेख खरिद गरेका बीमितलाई पीसीआर टेष्ट गर्न अनुरोध

काठमाडौं । कोरोना बीमालेख खरिद गरेका बीमितहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायहरुमा पीसीआर टेष्ट गर्न अनुरोध गरिएको छ । कोरोना बीमा मापदण्ड २०७७ को सम्बन्धमा निजी क्षेत्रसँग भएको छलफलमा उक्त मापदण्ड संशोधन नभएसम्मको लागि बीमालेख खरिद गरेकालाई पीसीआर टेष्ट गर्न गराउन निर्णय गरिएकाे हाे । कोरोना बीमाको मापडदण्डमा भएको व्यवस्था अन्तर्गत बीमा दाविको लागि हाल भएको व्यवस्थाहरुमा थप परिमार्जन गरी प्रभावकारी बनाउने सम्बन्धमा बीमा समितिले बीमा कम्पनीका प्रतिनिधि, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल विमक संघ लगायतका संस्थाहरुका पदाधिकारीहरु समक्ष काठमाडौंमा छलफल कार्यक्रमको आयोजना  गरेकाे थियाे । बीमा दावीको लागि नेपाल सरकार स्वास्थ मन्त्रालय अन्तर्गतका निकायहरुबाट पोलिमिरेज चेन रियाक्सन टेष्ट (पीसीआर टेष्ट) गर्दा संक्रमण (पोजेटिभ) प्रमाणित भएमा दावी योग्य हुने व्यवस्थाका सम्बन्धमा छलफल गरिएको थियो । छलफलमा २०७७ भाद्र २१ गतेसम्ममा बीमा कम्पनीहरुमा प्राप्त भएका सबै दाबीहरु मध्ये नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुबाट पीसीआर परिक्षण भएका दाबीहरुलाई ७ दिन भित्र भुक्तानी दिने सहमति भएको छ । त्यसैगरी स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकाय भन्दा बाहेककको प्रयोगशालाहरुबाट प्राप्त दाविहरुको विस्तृत छानविन गर्न बीमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरी सो समितिको सुझावको आधारमा निर्णय गर्दै जाने सम्बन्धमा बैठकमा सहमति भएको छ । त्यसैगरी स्वास्थ्य मन्त्रालयले नीजि प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न अनुमति प्रदान गरेको अवस्थामा के कस्तो अण्डरराइटिङ प्रकृया अवलम्बन गरी मापदण्ड संशोधन गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि कार्यकारी निर्देशकको संयोजकत्वमा नेपाल सरकार अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरोकारवाला पक्ष र नीजि क्षेत्र समेतको प्रतिनिधित्व रहने गरी सुझाव संकलन समिति गठन गर्ने र प्राप्त सुझावको आधारमा कोरोना बीमा मापदण्ड २०७७ उपर संशोधन प्रकृया अगाडि बढाउने निर्णय भएको छ । नेपाल उद्योग परिसंघको प्रतिनिधित्व गर्दै परिसंघका उपाध्यक्ष सुलभ अग्रवालले निजी क्षेत्रबाट प्राप्त सुझावहरुलाई सकारात्मक रुपमा लिइ पूर्वाधार सम्पन्न स्वास्थ्य संस्थाहरुलाई पीसीआर टेष्ट गर्न दिएमा निजी क्षेत्रले प्रभावकारी रुपमा कार्य सम्पन्न गरी सरकारलाई सहयोग पुर्याउने विचार व्यक्त गरे ।

२ हजार प्रहरी कोरोना सङ्क्रमित, सबैभन्दा बढी ६२४ जना उपत्यकामा

काठमाडाैं । नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रहरीमा दुई हजार १६१ मा सङ्क्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए । काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६२४ सङ्क्रमित भएका छन् । त्यसमध्ये ५५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ सङ्क्रमित रहेको जनाइएको छ । त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएको र ७१ को उपचार जारी छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, वाग्मती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा सङ्क्रमण देखिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कडायतले सङ्क्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताए । उनका अनुसार अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन् । सबैको अवस्था सामान्य रहेको कडायतको भनाइ छ । सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमण बढिरहेको छ । रासस