सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयार, मन्त्री ढकाल भन्छन्ः कसैलाई पनि विभेद हुँदैन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् । मन्त्री ढकालले आज(कार्तिक ४ गते) भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको र कोभिड-१९ को परीक्षण र उपचारमा गुणस्तरीय सेवाको पहुँच वृद्धि गरिएको समेत जानकारी दिए । “मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड-१९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ ।” उनले भने, “अक्सिजन र आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजना हित प्रभावकारी व्यवस्था मिलाएको छ ।” मन्त्री ढकालका अनुसार देशभरी भेन्टिलेटरसहितको २६ सय सघन उपचार कक्ष (आइइसियु) तयारी अवस्थामा र थप ४ सयको निर्माण भइरहेको तथा अक्सिजन र मनिटरसहितको ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई तीव्र रूपमा अगाडी बढाइएको छ । यसले कोभिड-१९का सिकिस्त बिरामीको उपचारलाई सहज बनाउने उनको भनाइ छ । मन्त्री ढकालले कोभिड १९ को महामारीविरूद्धको लडाइमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोग आभार व्यक्त गर्दै रोगको रोकथाम तथा नियन्त्रणको प्रभावकारी उपाय मास्कको उचित प्रयोग, भौतिक दुरी कायम गर्ने र पटक-पटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु रहेको स्मरण गराए । कसैलाई पनि विभेद नहुने उनले तोकेका कोभिड-१९ का अस्पतालहरूमा उपचारका लागि जाने बिरामीहरूका लागि उपचारको कुनै विभेद नहुने गरी व्यवस्था मिलाइएको बताए । “विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपाङ्गता भएका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निशुल्क परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ ।,” उनले भने, “यो वर्गमा नपरेका सबै कोभिड १९ को उपचारका लागि अस्पतालमा पुगेपछि आर्थिक अवस्था कमजोर भएमा अस्पतालबाट सिफारिश गरेमा वा बिरामी वा निजको परिवारले उपचार गर्न नसक्ने घोषणा गरेमा ती व्यक्तिको परीक्षण र उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने गरी व्यवस्था मिलाइएको छ ।” उनले निशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्दा कुनै पनि निकाय वा व्यक्तिको सिफारिश आवश्यक नपर्ने गरी सहज विधि र प्रणालीको व्यवस्था गरिएको उल्लेख गरे । उनले अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ शैय्याको अस्पताल स्थापना गरी संचालनको लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य शुरु भइसकेको र यस कार्यले स्थानीय तहमा अस्पताल सेवका लागि ३ हजार २ सय ४५ शैय्या थपिने जनाए । जिल्लास्थित ५८ अस्पताललाई २५ र ५० शैय्यामा स्तरोन्नति गर्दा ९ सय २२ बेड, साबिकका ११ अंचल, उपक्षेत्रीय र क्षेत्रीय अस्पताललाई २ सय शैय्याको जनरल अस्पतालमा स्तरोन्नति गर्दा १ हजार ३५ शैय्या र प्रदेश स्थित ७ सङ्घीय अस्पताललाई ५ सय शैय्यामा स्तरोन्नती गर्दा १ हजार गरी जम्मा शैय्या संख्या ६ हजार २ सय २ थप गर्ने कार्य अगाडि बढेको मन्त्री ढकालले बताए । हालसम्म देशभरीका ४१ सरकारी तथा २१ वटा निजी प्रयोगशालाबाट १३ लाख ९ सय १८ परीक्षण भएको मध्येमा २ लाख ३१ हजार ४ सय पाँच व्यक्तिले निजी तथा सरकारी प्रयोगशालाबाट शुल्क तिरी परीक्षण गराएको उनले जानकारी दिए । मन्त्री ढकालले कोभिड बिमा वा स्वास्थ्य बिमा वा अन्य किसिमका व्यवस्थाबाट समेत स्वास्थ्य परिक्षण र उपचारको प्रबन्ध समेत गरिएको उल्लेख गरे । सरकार जनताको साथमा मन्त्री ढकालले सरकार जनताको साथमै रहेको भन्दै कोभिड १९ को महामारी विरूद्धको लडाइमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो सम्बन्ध स्थापित गर्न जरूरी रहेको औल्याए । “सबै तहका सरकार, राजनीतिक दलहरू, समुदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट विगतमा झै सहयोगको अपेक्षा गरेका छौं ।” उनले भने, “यो जोखिमको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सञ्चारको आवश्यकता पर्ने हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालनामा सञ्चार क्षेत्रको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा समेत सघन सहयोगको अपेक्षा गरेको छु ।” रासस
म्याक्स हस्पिटलमा ५० बेडको कोभिड अस्पताल सञ्चालन
मोरङ । विराटनगर महानगरपालिकाको पहलमा म्याक्स इन्टरनेशनल हस्पिटल एवम् ट्रमा सेन्टर विराटनगर-१५ महेन्द्र चोकमा आज(कार्तिक ४ गते) देखि ५० बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा सेन्टरका प्रवन्धक निर्देशक हेमनारायण मेहताबीच आज(कार्तिक ४ गते) एक सहमती गरी अस्पताल सञ्चालन गरिएको छ । सेन्टरले आफ्ना अन्य सेवा स्थगित गरी पाँच भेन्टिलेटर र १२ बेडको सघन उपचार कक्ष (आईसियु) सहित ५० बेडको सेवा शुरु गरेको हो । सेन्टरले १२/१२ घण्टाको पालोमा चार चिकित्सक सहित ३८ जना स्वास्थ्यकर्मी कोभिडका सङकक्रमितका उपचारका लागि सेवा प्रवाह गर्ने निर्देशक मेहताले बताए । महानगरपालिकाको तीन र सेन्टरको अक्सिजन सहित एक एम्वुलेन्सले कोभिड सङक्रमितलाई आवश्यक सेवा प्रदान गर्ने भएको छ । सेन्टरको निरीक्षण पछि महानगरपालिकाका प्रमुख पराजुलीले नागरिकको स्वास्थ्य प्रमुख दायित्व भएकोले सङक्रमितको उपचारका लागि कुनै कमी हुन नदिन आवश्यक पर्ने सहयोग महानगरपालिकाले उपलव्ध गराउने बताए । उनले निजी क्षेत्रको सहयोगमा महानगरले न्यूरो अस्पतालमा १५० र अर्को एक स्थानमा अक्सिजन सहितको १०० बेडको कोभिड आइसोलेशन सञ्चालनमा ल्याउन लागि रहेको जानकारी दिए । महानगरपालिकाले कोभिड सङक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थान गर्नुका साथै विराटनगर-१९, बैजनाथपुर, मारवाडी सेवा सदन, जैन भवन, काली सेवा सदन लगायतमा आइसोलसन सञ्चालन गर्दै आइरहेको छ । रासस
थप ३ हजार ९३ जनामा देखियाे कोरोना, ८ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। त्यस्तै, देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी गराएको छ । जसमध्ये १३ हजार ५ सय ५९ जना संस्थागत आइसोलेसनमा रहेका छन भने २८ हजार १ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कुल १ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट निको भएर घर फर्किनेको संख्या २ हजार १ सय ८ रहेको छ । हालसम्म कुल ९६ हजार ६ सय ९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए । यस्तै पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ७ सय ६५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कुल १३ हजार ८ सय ६१ पीसीआर परीक्षण भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । यससँगै हालसम्म कुल १३ लाख १४ हजार ७ सय ७९ पीसीआर परीक्षण भएको छ । आज देशभर २ सय ७३ जना संक्रमितको आइसियुमा उपचार भइराखेको छ । यस्तै भेन्टिलेटरमा ७८ जना रहको छन् । देशभर ४ हजार २ सय २० जना क्वारेन्टाइनमा रहेका छन् ।